१ मंसिर, काठमाडौं । सिद्धिचरण राजमार्गकोको कटारी–घुर्मी सडकखण्ड तत्काल स्तरोन्नतिको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाइएको छ ।
कटारीका स्थानीय युवाहरूको समूहले आइतबार सिंहदरबारमा मन्त्री कुलमान घिसिङ समक्ष ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।
वर्षौंदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारीसाधन सञ्चालनदेखि दैनिक जीवनसम्म प्रभावित बन्दै आएको उक्त सडक अहिले ठाउँ–ठाउँमा खाल्डाखुल्डीले भरिएको छ । धुलो–धुवाँका कारण स्वास्थ्यमा समेत समस्या देखिन थालेको स्थानीय गुनासो गर्दै आएका छन् ।
जीर्ण सडकका कारण दुर्घटना हुने गरेको र मान्छेको ज्यानसम्म जाने गरेको स्थानीयको गुनासो छ । चुनावका बेला नेताहरूले सडक स्तरोन्नति गर्ने आश्वासन दिए पनि बाचा पूरा नभएको भन्दै स्थानीय युवाहरूले मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएका हुन् ।
सडक संघर्ष समितिका संयोजक लीलबहादुर खत्रीका अनुसार मन्त्री घिसिङले सडक निर्माणका लागि एक महिनाभित्र ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘केही दिनअघि हामीले दबाब दिन सडक बन्द समेत गरेका थियौं । अहिले मन्त्रीज्यूबाट आएको प्रतिबद्धतापछि अब सडक निर्माण अघि बढ्ने विश्वास गरेका छौं,’ संयोजक खत्रीले भने ।
कटारी–घुर्मी सडक तराईसँग ओखलढुंगा, खोटाङ, सोलुखुम्बुजस्ता पहाडी जिल्ला जोड्ने महत्वपूर्ण पूर्वाधार हो । सडक जीर्ण हुँदा पहाडी जिल्लाका सर्वसाधारणलाई प्रदेश राजधानी विराटनगर पुग्न सकस छ ।
प्रतिक्रिया 4