News Summary
Generated by OK AI. Editorially reviewed.- रचना दाहालले संगीत सिर्जना गर्ने स्टुडियो राखेकी छिन् र नयाँ शैलीमा प्रस्तुति दिन खोजिरहेकी छिन्।
निर्विकल्पो । आफ्नो बस्ने घरलाई यही नाम दिएकी छिन्, रचना दाहालले । एक तले घर । पहेँलो र खैरो रङको । अघिल्तिर अलि फराकिलो ठाउँ । त्यहाँ अम्बा, अनार जस्ता बोटबिरुवाले हराभरा छ । ती रुखहरूको हाँगामा विभिन्न सामग्रीहरू झुन्डाइएका छन् । जस्तै: पुतली, बिरालो, घण्ट, मूर्ति, बत्ति । यस्ता चिजलाई घरको मूल ढोकामा पनि झुन्डाइएको छ ।
अनायस त्यहाँ दुई सेता बिरालो देखापरे । निख्खर सेतो ।
ठिक त्यहीबेला हो, रचना दाहाल बिरालो चालमै ढोकाबाट बाहिर निस्किइन् । हार्दिकताको मुस्कानसहित । उनले कपाल खुल्ला छाडेकी थिइन् । अघिल्तिरको मेकअपको तुलनामा उनी कम देखिएकी थिइन् । तर लुगा सामान्य दिनमा लगाउने खालको थिएन । स्टेजमा चढ्दा लगाउने जस्तै थियो । मानौं, उनी हामीलाई शोलो प्रस्तुती दिन आएकी हुन् ।
जब उनी आइन्, बिराला शान्त भए । खानेकुरा दिए पछि त उनीहरू पूरै शान्त । त्यसपछि उनले हामीलाई कोठाभित्र लिएर गइन् । ढोका छेवैमा जुत्ता राख्ने र्याक थियो । त्यसमाथि थरिथरिका ढुङ्गा, शङ्खेकिराका खपेटा जस्ता वस्तुहरू । र, बीचमा फराकिलो बैठक कोठा । त्यसमा बिच्छाइएको सानो कार्पेट । त्यसको छेवैमा भएको अर्को र्याक । त्यहाँ पनि उस्तै विभिन्न प्रकारका सामग्रीहरू । त्यहाँबाट निस्किरहेको इलेक्ट्रिक धुप । सुगन्धित कोठा ।
बैठक कोठाबाट माथिल्लो तलामा गोलाकार शैलीको भर्याङ । त्यो भर्याङको छेवैमा बाँसको कुर्सी र टी टेबल । त्यो टी टेबलमुनि एउटा सानो किस्ती । स्टुडियो भएको कोठामा उनका पुराना फोटोहरू रहेछन् ।
पछि उनले रमाइलो मान्दै भनिन्, म अरू फोटोहरूलाई फ्रेममा मिलाएर राख्छु । आफ्नो भने यस्तरी ।
घरको कोठाको भित्ताहरू हेरेँ । त्यहाँ मिलाएर राखिएका थिए, केही चित्रहरू । तीमध्ये विश्वप्रसिद्ध चित्रकार गुस्ताभ क्लिम्टको ‘द किस’ जस्तै चित्र देखियो । सायद कुनै चित्रकारले गुस्ताभको उक्त चित्रलाई परिमार्जन गरेको हुनुपर्छ । यो चित्रमा ‘द किस’ को केटीको सट्टा बिरालो राखिएको छ ।
यसबाट पनि अनुमान गर्न सकिन्छ, उनी कति बिरालो प्रेमी हुन् । र आफ्नो फोटोलाई लिएर कति लापरवाह पनि ।
बेलाबेला उनको सामाजिक सञ्जाल चहार्दा ती बिराला देख्दै आएको पनि हो । हाम्रो कुराकानी दौरान खुसीले उनले बिरालोबारे सुनाइन्, ‘धन्न मैले यी बिराला किन्नु परेन । युनिभर्सिटीले एडप्ट गर्न दियो’
उनको त्यो घरमा मुख्यत: ती कोठा छन् । दुईवटा बेड रुम । एउटा स्टुडियो । र, अर्कोमा किचन ।
स्टुडियो सामान्य नै थियो । दुई वटा रङ्गीन कुर्सी थिए । इलेक्ट्रिक, अकोस्टिक गितार भित्तामा ठडाएर राखिएका थिए । पियानो र स्ट्यान्ड स्पिकर छेवैमा थियो । अनि स्टुडियोका भित्ताहरूमा उनको गीतका पोस्टरहरू । कोठाको प्लगतिर पनि उनको एल्बम जन्मदानको स्टिकर टाँसिएको थियो । त्यसले संगीतप्रति उनमा कति संवेदना छ, देखाइरहेको थियो ।
भान्सा सदावहार थियो । भान्साका विभिन्न सामानहरू लडिरहेका थिए । रचना काठमाडौंमा जन्मिएर ललितपुरमा हुर्केकी थिइन् । जानकारी दिइहालुँ, उनको दाइ रोचक दाहाल पनि गायनमा छन्, पहेँलो बत्ति मुनीमार्फत । तर अहिलेसम्म दाहाल दाइ-बहिनीले एउटै गीत सँगै गाएका छैनन् ।
उनीहरू दुवैको शब्द र संगीत विशेष हुने गर्छ । फरक हुने गर्छ ।
रचनाले अहिलेसम्म बढीमा १५ वटा गीत दिएकी छिन् । मूलधारभन्दा बिल्कुलै फरक छन् ती । उनलाई सुन्ने श्रोता पनि असामान्य नै हुन्छन् । जजसले उनलाई सुन्छन्, उनलाई महसुस गर्न सक्छन् । वेदना, आक्रोश पोखिरहेकी रचनालाई बुझ्न सक्छन् ।
उनको प्रस्तुति पनि शानदार हुन्छ । त्यसमा उनले नयाँ शैली प्रयोग गर्न खोजिरहेकी हुन्छिन् । अभिनयसँगै सङ्गीत । त्यसले एक प्रकारको छुट्टै भाव पैदा गर्छ । बस्न त उनी यहीँ बस्छिन्, तर बास मात्र बस्दिनन् । संगीत सिर्जना गर्छिन् । आफ्नो स्वरमा विभिन्न प्रकारको प्रयोग गर्छिन् । एकअर्थमा यो उनको प्रयोगशाला पनि हो । निर्बाध, निडर आफ्नो आवाज र विभिन्न ध्वनीहरूसँग प्रयोग गरिरहने । हामीलाई उनले त्यसको डेमो पनि देखाएकी छिन् ।
तर रचनाको निर्विकल्पो भीडभन्दा अलि टाढै छ । उनीहरूले कहिलेकाहीँ यहाँ ‘प्राइभेट म्युजिकल सेसन’ पनि गर्छन् । जहाँ एकदमै थोरै श्रोतालाई मात्र प्रवेश गराइन्छ ।
रचनालाई कुनै पनि कुराहरू रंगीन भएको मन पर्छ । उनको मन पर्ने रङ पनि इन्द्रेणी नै हो । इन्द्रेणी जस्तै निर्विकल्पोलाई उनले रङ्गीन बनाएकी छिन् ।
जस्तो गीतमा रचना सुनिन्छिन् अथवा म्युजिक भिडिओमा जस्तो देखिन्छिन्, वास्तविक जीवनमा रचना बिल्कुल अलग्गै छिन् । शान्त छिन् । हँसिली छिन् ।
फोटो–भिडियो : कमल प्रसाई
प्रतिक्रिया 4