+
+
Shares

शान्ति वार्तामा युक्रेनको सहभागिता अनिवार्य गर्न युरोपेली राष्ट्रहरूको माग

‘रुसले गरेको अपराधको पुरस्कार हामी दिँदैनौं,’ जेलेन्स्कीले टेलिग्राममार्फत भने,’हाम्रो विरुद्ध गरिएका, युक्रेन बिना गरिएका निर्णयहरू शान्तिको विरुद्ध हुने निर्णयहरू हुन्।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १५:३५

२५ साउन, काठमाडौं । युरोपेली राष्ट्रहरूले युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिकाले रसियासँग गर्न लागेको शान्ति वार्तामा किभको सहभागिता अनिवार्य हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले रसियासँगको कुनै पनि शान्ति वार्तामा किभ (युक्रेन) लाई अनिवार्य रूपमा सहभागी गराउनुपर्ने अडान लिएका छन् ।

बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली आयोगका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रबार अलास्कामा हुने बैठकअघि उनीहरूको धारणा आएको हो ।

बीबीसीका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार, राष्ट्रपति ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसमेत सहभागी हुने गरी त्रिपक्षीय बैठक गर्न इच्छुक छन्। तर हालका लागि यो बैठक पुटिनको माग अनुसार ट्रम्प–पुटिन शिखर बैठक मात्र रहने भनिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले किभको सहभागिता बिना गरिने कुनै पनि सम्झौता ‘डेड डिसिजन’ हुने बताएका छन् ।

ट्रम्पले यसअघि पत्रकारहरूसँग कुरा गर्दै पुटिन र जेलेन्स्की दुवैको उपस्थितिमा त्रिपक्षीय वार्ता गर्न सकिने सम्भावना पनि रहेको बताएका थिए ।

तर पुटिन जेलेन्स्कीसँग वार्ता गर्न सहमत हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट छैन। उनले धेरै पटक प्रत्यक्ष वार्ता अस्वीकार गरिसकेका छन् । तीन वर्षभन्दा बढी समय अघिदेखि सुरु भएको युक्रेनमाथिको रूसी आक्रमणपछिको कुनै पनि प्रत्यक्ष बैठक जेलेन्स्की र पुटिनबीच भएको छैन।

गत शुक्रबार बोल्दै ट्रम्पले मस्को र किभबीच सम्झौता गराउन केही भूभाग साटासाट हुन सक्ने उल्लेख गरेका थिए ।

ट्रम्पको अभिव्यक्तिप्रति राष्ट्रपति जेलेन्स्कीले कडा प्रतिक्रिया जनाएका छन्। ‘रुसले गरेको अपराधको पुरस्कार हामी दिँदैनौं,’ उनले टेलिग्राममार्फत भने,’हाम्रो विरुद्ध गरिएका, युक्रेन बिना गरिएका निर्णयहरू शान्तिको विरुद्ध हुने निर्णयहरू हुन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?