+
+
Shares
पत्रकार हत्या : :

‘म मरेपनि गाजालाई नबिर्सिनुहोस्’

सीपीजेका अनुसार इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएदेखि अहिलेसम्म गाजामा १९२ पत्रकारहरू मारिएका छन् । तीमध्ये १८४ जना प्यालेस्टाइनी छन् । उनीहरु सबै इजरायली कारबाहीमा मारिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १९:१९
Photo Credit : एएफपी
पत्रकार अनास अल-शरीफलाई श्रध्दाञ्जली अर्पण गर्दै पत्रकारहरू। तस्वीर : एएफपी

२७ साउन २०८२ । गत जनवरीमा गाजामा युद्धविराम लागू भएपछि अनास अल-शरीफले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा आफ्नो सुरक्षा पोशाक बिस्तारै फुकाले । उत्साहित भीडले उनको जयजयकार गरिरहेको थियो । त्यो दिन यस्तो आशा छाएको थियो कि, युद्धविराम गाजाका २० लाख मानिसहरूको दुःख अन्त्यको सुरुवात हो ।

तर करिब सात महिनापछि, इजरायलले गाजा सहरमा गराएको आक्रमणमा अल जजिराका पत्रकार अनास अल-शरीफ र उनका चार सहयोगीहरू मारिए ।

गाजाका सबैभन्दा चिनिने प्यालेस्टाइनी पत्रकारहरूमध्ये एक थिए- शरिफ । युद्धका क्रममा इजरायलद्वारा मारिएका दर्जनौंमध्येका एक शरीफको मृत्युको यतिबेर अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ ।

इजरायलको जवाफदेहिताको माग तीव्र रुपमा उठेको छ । संसारभरका प्रेस र मानव अधिकारवादीहरुले घटनाको भर्त्सना गरेका छन् । निडर पत्रकारको हत्याले युद्ध रिपोर्टिङ गर्ने अन्य पत्रकार र मिडियाकर्मीहरु पनि शरिफको नियती आफूहरुले पनि भोग्नु पर्ने हो कि भन्ने चिन्तामा डुबेका छन् ।

२८ वर्षीय अल-शरीफ युद्ध अघि कमै चिनिएका थिए । तर इजरायलले अन्तर्राष्ट्रिय मिडियालाई गाजामा प्रवेश गर्न रोक लगाएपछि उनी लाखौं दर्शकका लागि गाजाको मुहार देखाउने माध्यम बने । युद्ध सुरु भएदेखि नै उनले दिनहुँ संघर्ष र मानवीय अवस्थाबारे प्रत्यक्ष रिपोर्ट गर्दै आएका थिए ।

पत्रकार अनास अल-शरीफलाई श्रध्दाञ्जली अर्पण गर्दै पत्रकारहरू। तस्वीर : एएफपी

उनका रिपोर्टहरूले संघर्षका महत्त्वपूर्ण क्षणहरूलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए । उनले प्रसारण गरेका युद्धविरामका समाचार, इजरायली बन्धकहरूको रिहाई र भोकमरीका कथाहरूले संसारलाई झस्काएको थियो ।

अल जजिराले उनलाई सन् २०२३ को डिसेम्बरमा भर्ना गरेको थियो । आफ्नो जन्मस्थान जबालियामा इजरायली आक्रमणको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी भाइरल भएका थिए ।

त्यतिबेला उनी एक व्यावसायिक क्यामराम्यान थिए । उनी सुरुमा स्क्रिनमा देखिन हिच्किचाएका थिए । तर सहकर्मीहरूको आग्रहमा उनले रिपोर्ट प्रस्तुत गर्न थाले । जसलाई उनी ‘अवर्णनीय अनुभव’ भन्थे ।

‘अन्तर्राष्ट्रिय त के, म कहिल्यै कुनै स्थानीय च्यानलमा समेत देखिएको थिइनँ’, उनले सन् २०२४ को फेब्रुअरीमा ‘सोतौर’ मिडियालाई भनेका थिए, ‘सबैभन्दा खुसी हुने व्यक्ति मेरा पिता हुनुहुन्थ्यो ।’ अल-शरीफले अल जजिरामा रिपोर्ट गर्न सुरु गरेपछि केही समयमै उनका पिताको इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो ।

इजरायलको आक्रमणमा मारिएका पत्रकार अनास अल-शरीफका १५ महिनाको छोरा सलाह र ४ वर्षकी छोरी शाम। तस्वीर : एएफपी

दुई सन्तानका पिता, अल-शरीफ आफ्नो जागिर सुरु गरेदेखि लगभग हरेक दिन च्यानलमा देखा पर्थे ।

‘हामी पत्रकारहरू अस्पतालमा, सडकमा, गाडीमा, एम्बुलेन्समा, शिविरहरूमा, गोदामहरूमा, विस्थापितहरूसँग सुत्थ्यौं । म ३० देखि ४० स्थानहरूमा सुतें,’ उनले भनेका थिए ।

जनवरीमा उनले टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा आफ्नो सुरक्षा पोसाक उतार्दा, भीडले उनलाई काँधमा बोकेको थियो ।

‘म यो हेलमेट फुकाल्दैछु जसले मलाई थकित बनाएको छ, र यो कवच जो मेरो शरीरको अङ्ग झैँ बनेको छ,’ उनले प्रत्यक्ष प्रसारणमा भनेका थिए । त्यसपछि उनले गाजामा इजरायली आक्रमणमा मारिएका र घाइते भएका सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनका रिपोर्टहरूले इजरायली सेनाको ध्यान तानेको थियो । इजरायली सैन्य गुप्तचरले उनलाई अल जजिरामा रिपोर्ट गर्न रोक्न चेतावनी दिएको उनले बताउने गरेका थिए ।

‘अन्त्यमा, इजरायली सेनाले मेरो व्हाट्सएप नम्बरमा भ्वाइस सन्देश पठायो । एक गुप्तचर अफिसरले भने, ‘तपाईं अहिले रहेको स्थान छोड्नुहोस्, दक्षिणतिर जानुहोस्, र अल जजिराको लागि रिपोर्टिङ रोक्नुहोस्’… म अस्पतालबाट प्रत्यक्ष रिपोर्ट गरिरहेको थिएँ । केही मिनेटपछि, म बसेको कोठा नै आक्रमणको निशानामा पर्‍यो, उनले भनेका थिए ।

किन अहिले मारिए शरीफ ?

इजरायलले १० महिनाअघि नै अल-शरीफमाथि हमाससँग सम्बन्ध रहेको आरोप लगाएको थियो । उसलाई अहिले लक्षित गर्ने निर्णय किन लिइयो भन्ने स्पष्ट छैन ।

इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले उनको लक्षित हत्या पुष्टि गर्ने वक्तव्यमा अल-शरीफमाथि गाजामा रहेको एक हमास सेलको नेतृत्व गरेर इजरायली नागरिकहरू र आइडीएफ फोर्समाथि रकेट आक्रमण गराएको आरोप लगायो ।

गाजाका सबैभन्दा चिनिने प्यालेस्टाइनी पत्रकारहरूमध्ये एक थिए- शरिफ । युद्धका क्रममा इजरायलद्वारा मारिएका दर्जनौंमध्येका एक शरीफको मृत्युको यतिबेर अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ ।

सन् २०२४ को अक्टोबरमा, इजरायली सेनाले केही दस्तावेज सार्वजनिक गर्दै अल-शरीफको हमाससँगको सम्बन्ध प्रमाणित भएको दाबी गर्‍यो । अन्य पाँच अल जजिराका पत्रकारहरूलाई पनि हमासको सदस्य भएको आरोप लगायो ।

सेनाका प्रवक्ताले एक्समा सार्वजनिक भिडियोमा भनेका थिए- अल-शरीफले सन् २०१३ मा हमास बटालियनमा प्रवेश गरेका थिए र २०१७ मा प्रशिक्षणको क्रममा घाइते भएका थिए । जुन दाबी अल-शरीफ र संयुक्त राष्ट्र संघका स्वतन्त्र अभिव्यक्ति स्वतन्त्रता प्रतिनिधि आइरिन खानले अस्वीकार गरेका थिए ।

‘म पुनः पुष्टि गर्छु, म, अनास अल-शरीफ, कुनै राजनीतिक समूहसँग आबद्ध छैन । मेरो एक मात्र उद्देश्य सत्यलाई त्यसकै रूपमा, बिना पूर्वाग्रह प्रस्तुत गर्नु हो,’ उनले गत महिना लेखेका थिए, ‘ गाजामा एक घातक अवस्था छ, सत्य बोल्नु नै खतरा बन्न पुगेको छ ।’

पत्रकार अनास अल-शरीफ मारिएको स्थल। तस्वीर : एएफपी

अल-शरीफको मृत्युपछि, आइडीएफका अरबिक प्रवक्ताले याहा सिन्वारसँगै भएका उनका फोटोहरू सार्वजनिक गरे । सिन्वारलाई ७ अक्टोबर २०२३ को इजरायलमाथिको हमलाको योजनाकार मानिन्छ । इजरायलले सिन्वारलाई अक्टोबर २०२४ मा मारिएको घोषणा गरिसकेको छ।

अल-शरीफ गत आइतबारका दिन अल-शिफा अस्पतालको प्रवेशद्वार नजिक पत्रकारहरूको टेन्टमा थिए । त्यहाँ उनी इजरायली हमलामा मारिएको अस्पतालका निर्देशक डा. मोहम्मद अबु सलमियाले सीएनएनलाई जानकारी दिएका छन् ।

सलमियाका अनुसार त्यो टेन्टमा ‘प्रेस’ को चिन्ह थियो । सो आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको थियो ।

अल जजिराका अनुसार संवाददाता मोहम्मद करैकेह, फोटो पत्रकारहरू इब्राहिम अल-ताहेर र मोअमेन अलीवा, साथै कर्मचारी मोहम्मद नौफल पनि उक्त आक्रमणमा मारिएका थिए ।

पत्रकारहरूमाथि आरोप

अल-शरीफको हत्यापछि अधिकार समूहहरू, स्वतन्त्रता र मानव अधिकारका पक्षधर अधिकारीहरूले कडा आलोचना गरेका छन् । कमिटी टू प्रोटेक्ट जर्नालिस्ट (सीपीजी)ले भनेको छ- ‘हामी स्तब्ध छौं । इजरायलले पत्रकारहरूलाई आतंकवादी भएको आरोप लगाउने दीर्घकालीन, प्रमाणहीन अभ्यास गर्दै आएको छ ।’

सीपीजेका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म १९२ पत्रकारहरू मारिएका छन् । तीमध्ये १८४ जना प्यालेस्टाइनी हुन्, जसलाई इजरायली कारबाहीमा मारिएको हो ।

पत्रकार अनास अल-शरीफ मारिएको स्थल। तस्वीर : एएफपी

युद्ध सुरु भएदेखि इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय पत्रकारलाई स्वतन्त्र रूपमा गाजामा प्रवेश गर्न दिइएको छैन ।

अल-शरीफको शवलाई गाजा सिटीको शिफा अस्पतालको परिसरबाहिर सोमबार ठूलो संख्याको उपस्थितिमा दाहासंस्कार गरिएको थियो ।

अल-शरीफ र उनका सहकर्मीहरू मारिनु केही घण्टा अगाडि मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विदेशी पत्रकारहरूलाई गाजामा प्रवेश गर्न दिने घोषणा गरेका थिए । तर उनीहरूलाई इजरायली सेनाको स्वीकृति र संलग्नतासहित मात्र अनुमति दिने भनेका थिए ।

जिन्दगीमा आफ्नै मृत्युको आभास पाएका अल-शरीफले आफ्नो बारेमा पहिल्यै लेखेका थिए । उनको मृत्युपछि उनका सहकर्मीहरुले सार्वजनिक गरेको पत्रमा छ- ‘मैले सबै पीडा महसुस गरें, अनेकौं पटक दुःख र क्षति भोगें, तर सत्य बोल्न कहिल्यै पछि हटिनँ । यदि म मर्छु भने, म आफ्ना सिद्धान्तहरूमा अडिग रहँदै मर्छु । गाजालाई नबिर्सिनुहोस् । र मलाई तपाईंहरूले प्रार्थनामा सम्झनुहोस् ।’

(सीएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका रिपोर्टमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?