
News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषामा लागुऔषध कारोबारी पप्पु साह र सेलोदेवी रामलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।
- पप्पु साह दुई पटक कारागार बसेको र हाल फेरि लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ।
- पक्राउको क्रममा प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड गोली चलाएको थियो।
२८ साउन, काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले समातेका लागुऔषध कारोबारी दुई पटक कारागार चलान भएका व्यक्ति रहेको खुलेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले गोली चलाएर समाएका दुई मध्ये एक पुरुष दुई पटक कारागार बसेको पाइएको हो ।
ब्युरोले बुधबार दिउँसो गोली चलाएर धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर घर भएका ४८ वर्षीय पप्पु साह र बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालकी २७ वर्षीया सेलोदेवी रामलाई पक्राउ गरेको थियो ।
ब्युरोले एक राउन्ड हवाई फायर गरेको थियो भने एक राउन्ड गोली पप्पुको दाहिने खुट्टामा लागेको बताइएको छ । लागुऔषध खैरो हेराइन कारोबार गर्न लागेको भन्ने सुराकीका आधारमा खटिएको ब्युरोको टोलीले उनीहरूलाई मिथिला नगरपालिका–२ नक्टाझिजबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेक्रममा प्रहरीमाथि आक्रमणको प्रयास गर्दै भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको ब्युरोले बताएको छ ।
पक्राउ परेका उनीहरू मध्ये पप्पु यसअघि दुई पटक कारागार चलान भएका व्यक्ति रहेको पाइएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।
यसअघि २०६१ सालमा ब्युरोले नै उनलाई लागुऔषधको कसुरमा मुद्दा चलाएको थियो । त्यतिबेला उनी पाँच वर्ष कारागार बसेर छुटेका थिए ।
त्यसपछि २०७९ सालमा प्रहरी वृत्त थानकोटलाई उनलाई लागुऔषधकै कसुरमा मुद्दा चलाएको थियो । १३ जेठ २०७९ मा पक्राउ परेका उनी २ वर्ष कैद बसेर करिब ९ महिनाअघि मात्रै छुटेका थिए ।
त्यसपछि फेरि लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको थियो । उक्त टोलीले पक्राउ गर्ने क्रममा आक्रमणको प्रयास गर्दै भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बताइएको छ ।
पप्पुबाट १०८ ग्राम र सेलोदीबाट १०० ग्राम खैरो हेरोइनले तौलने डिजिटल तराजु समेत बरामद भएको छ ।
प्रतिक्रिया 4