
News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही कारागारले रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको छ।
- लामिछानेलाई छुट्टै बन्दीगृहमा राखिएको र त्यहाँ शौचालय, टेलिफोन तथा भेटघाट सुविधा उपलब्ध गराइएको कारागार प्रशासनले जनाएको छ।
- रुपन्देही कारागारमा २५० कैदी क्षमतामा ६४० कैदीबन्दी रहेका छन्, तर स्रोत साधन प्रयोग गरी कानुन बमोजिम सेवा सुविधा दिइरहेको प्रशासनले बताएको छ।
२९ साउन, काठमाडौं । कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको छ ।
कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आइरहेको प्रति ध्यानाकर्ष भएको जनाउँदै रुपन्देही कारागार प्रशासनले सूचना जारी गरेको हो ।
लामिछानेलाई राखिएको बन्दी कोठाको झ्याल प्लाइउडले छोपिएको भनेर प्रश्न उठेपछि त्यसलाई हटाएर जाली राखिएको कारागारका प्रशासक सुरेश भण्डारीले जानकारी दिए ।
रास्वपा सभापति लामिछाने पछिल्लो ४ महिनादेखि रुपन्देही कारागारमा थुनामा छन् । लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरुदेखि नै छुट्टै बन्दीगृहमा राखिएको कारागारले भनेको छ ।
साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था गरिएको सूचनामा उल्लेख छ । ‘उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ’, कारागारले जारी गरेको सूचनामा उल्लेख छ ।
२५० जना बन्दी क्षमताको रुपन्देही कारागारमा हाल ६४० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा तीन गुणा बन्दी बन्दीहरू भएपनि कार्यालयले भएका स्रोत साधन प्रयोग गरेर कानुन बमोजिमका सेवा सुविधा उपलब्ध गराउँदै आएको प्रशासक भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया 4