
३० साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए ।
कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो । जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका शिर्ष नेतृत्वसँग भेट गर्दै मुख्यमन्त्री बानियाँ काठमाडौंबाट हेटौंडा फर्किरहेका छन् ।
बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले केही समय अघि मात्रै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासँग मन्त्री नियुक्ती र सपथको व्यवस्थापनका सम्बन्धमा छलफल गरेको स्रोतले जानकारी दिएको छ ।
बागमतीमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले आफ्ना पक्षका ३ जना सांसद गोविन्द लम्साल, माया श्रेष्ठ, गिता गुरूङलाई मन्त्री नियुक्त गर्नुपर्ने अडान लिँदै आएको छ । तर, बानियाँले नियुक्त गर्न लागेको मन्त्रीहरूको सम्भावित सूचिमा बहादुर पक्षका सांसदको नाम छैन ।
प्रतिक्रिया 4