
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
- ज्योति विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएकाले लाभांश दिन नसक्ने स्थिति छ।
- मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २०.७५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ।
३० साउन, काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार ८ मध्ये एउटा ज्योति विकास बैंक लाभांश दिन नसक्ने स्थितिमा छ । सो बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बाँकी ७ वटा विकास बैंक लाभांश दिन सक्ने हैसियतमा छन् ।
विकास बैंकले यो पटक २० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता बनाएका छन् । वाणिज्यजस्तै विकास बैंकले पनि कर्जा अशुलीमा सुधार गरेसँगै यो पटक लाभांश क्षमता बढेको छ । मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २०.७५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ ।
कतिपय विकास बैंकको नाफा उच्च देखिए पनि लाभांश क्षमता कमजोर छ । प्राप्त भइनसकेको आम्दानी पनि नाफामा देखिने तर वितरणयोग्य नहुने भएकाले नाफा उच्च भए पनि लाभांश क्षमता नहुने गरेको छ ।
आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वाह्य लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ । वित्तीय विवरणको वाह्य लेखापरीक्षण गरिसकेपछि अपरिस्कृत अहिलेको नाफा, लाभांश क्षमता लगायत धेरै सूचक हेरफेर हुन सक्नेछन् । वास्तविक लेखापरीक्षण सकिएपछि कम्पनीका सञ्चालक समितिले औपचारिक बैठकमार्फत सेयरधनीलाई क्षमताका आधारमा धमाधम लाभांश घोषणा गर्नेछन् ।
घोषित लाभांश नगद वा बोनस सेयरका रुपमा हुन सक्नेछ । विकास बैंकहरूले पुस मसान्तभित्र साधारणसभा गरी घोषित लाभांश पारित गर्दछन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ ।
साधारणसभाबाट लाभांश पारित गरेपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने छन् ।
प्रतिक्रिया 4