+
+
Shares
कुइनेटो :

जेईको नाउँ के हो ?

एकैछिनअघि जेईको नाउँ जानेर खुसी भएको, किन नजानेको भनेर आफैंलाई रिस उठेको मन के भयो कुन्नि ?

नवीन विभास नवीन विभास
२०८२ साउन ३१ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेईको नाउँ परिवार र समाजमा प्रायः नसोचिएको र नचिनिएको विषय हो, किनभने मगर समाजमा नाउँले होइन, साइनोले बोलाउने चलन छ।
  • जेईलाई जन्मघर बजिनमा 'काइँली', मामाघरमा 'नाना' वा 'आमाजू', र थरघर जैपामा 'माष्टर जेई' वा 'सदस्सिनी' भनेर बोलाइन्थ्यो।
  • जेईको असली नाउँबारे परिवारमा चर्चा कहिल्यै भएन र जेईको नाउँ जान्नेहरू पनि कम थिए, जसले गर्दा जेईको पहिचान समाजमा अस्पष्ट रह्यो।

तपाईंकी जेईको नाउँ के हो ?

तपाईंलाई त पक्कै थाहा होला । ढुक्कसाथ ‘थाहा होला’ किन भनेको भने, जमाना, थोरै सही, फेरियो । हिजो न स्कूलमा नाउँ लेख्दा जेईको नाउँ चाहिन्थ्यो न नागरिकता बनाउँदा न त जागिर खाँदा नै जेईको नाउँ खोज्थ्यो ।

जमाना फेरियो । त्यसैले तपाईंलाई जेईको नाउँ पक्कै थाहा होला ।

एक साँच्ची, सोध्न झण्डै भुलेको, तपाईंकी जेईको नाउँ के हो ?

जन्म–घरमा काइँली

जेईको नाउँ के होला हँ ?

जेईको नाउँ सम्झन सबभन्दा पहिले मामाघर सम्झिएँ । मावली गाउँ बजिन सम्झिएँ । मामाघर र मावली गाउँमा जेईलाई कसले के भनी बोलाउँथे भनेर सम्झन कोसिस गरें ।

मैले थाहा पाउँदा जेईभन्दा जिना र जेईभन्दा ठूलो साइनोका तीन जना बचेका थिए । जेईको जन्मघर बजिनतिरबाट एक, गैरा मुक्खेमामा । दुई, ठूल्मामा । तीन, ठूल्जी ।

ठूल्मामा र ठूल्जी जेईका सहोदर दाजु र दिदी थिए ।

दिदीबहिनीमा जेई काइँली थिइन् । गैरा मुक्खेमामा, ठूल्मामा र ठूल्जीले जेईलाई ‘काइँली’ भनी बोलाउँथे । स्यान्मामाले जेईलाई ‘नाना’मात्र भन्थे । नानाको अगाडि वा पछाडि काइँली जोड्दैनथे ।

नाना भनेको दिदी भइहाल्यो ।

जेईको जन्मघर बजिन र जेईको थरघर जैपाका बीचमा घना रूख भएका रप्पातल, कुख्रागर्खने, पोस्तकजस्ता दमार थिए । ती दमारसहितका एक घण्टा उकालिएपछि बजिन पुग्थ्यौं ।

मामाघर पुग्दा जुमे कनाल र गैरा मुक्खेमामाको घर भएर जानुपर्थ्यो । दुवै घरमा जारे कुकुर थिए । चुप लगाउन कुकुर हक्काउँदै मुक्खेमामाले भन्थे, ‘काइँली आइस् ?’

मुक्खेनी माइजूले जेईलाई ‘काइँली नानी’ भन्थिन् । स्यान्माइजूले ‘आमाजू’ भन्थिन् ।

तपाईंले पनि सानोमा मामाघर जान हत्ते हाल्नुहुन्थ्यो होला । मामाघर जान मेरा गोडा एकाएक उचालिनुको मूल कारण स्यान्माइजू र उहाँले खुवाउने सिल्ला थियो । स्यान्मामाको घरको दही र दूधमा पकाएको सिल्ला मेरा रोज्जा खान्की थिए ।

काइँली फुबू

बजिनमा जेईका भदै र भदैनी बगाल नै थिए । तिनले जेईलाई ‘काइँली फुबू’ भनी बोलाउँथे । जेईलाई ढोग्दै भन्थे, ‘कैल आयौ काइँली फुबू ? बस, एक चिलम कक्कर खाइकन जाउला ।’

त्यसपछि ‘सक्क फाल’ भनेर कटौरामा रक्सी दिन्थे । सक्क फाल्ने मानिस कि घरमुली थिए कि झाँक्री ।

मैले थाहा पाउँदा जेई झाँक्री थिइन् ।

जेईले आफ्ना गुरुबा, गुरुमादेखि झाँक्री खलकलाई सक्क फाल्थिन् । त्यसपछि ? मुखमा ख्वाल्ल खन्याउँथिन् । जेईका आँखा चिम्म हुन्थे । मुन्टो हल्लाउँथिन् । मानौं पिउँदाखेरि एकदमै गाह्रो भयो ।

भन्थिन्, ‘कस्तो बन्न्या रक्सी, कोले पार्‍या हो ?’

देखेर तीनछक्क बालामनमा जेईप्रति जिज्ञासा जाग्थ्यो– कस्तो खान्की हो, घुटुक्क निल्दा जति अनुहार बिग्रियो उति मिठो हुने ?

काइँली बोई

बजिनमा जेईलाई ‘काइँली बोई’ भनी बोलाउने बगाल झन् ठूलो थियो । जेईलाई काइँली फुबू भनी बोलाउनेका छोराछोरीले जेईलाई काइँली बोई भनी बोलाउँथे ।

बजिनमा जेई काइँली, काइँली नानी, काइँली आमाजू, काइँली फुबू र काइँली बोई थिइन् । जेईलाई काइँली भनेर बोलाएको सुन्दासुन्दा सानोमा मलाई त लागेको थियो, जेईको नाउँ नै काइँली थियो । त्यसैले सानोमा त जेईलाई काइँली भनेर गाली गर्दै रिस पोख्थें ।

थरघर जैपामा जेई

जन्मघर बजिनकी काइँली मेरी जेई, कर्मघर अर्थात् थरघर जैपामा पुग्दा काइँली थिइनन् । जैपामा जेईलाई के नाउँले बोलाउँथे त ?

मैले थाहा पाउँदा ठूल्दाजु माष्टर थिए । राङ्कोट स्कूलमा पढाउँथे । प्राथमिक तहको शिक्षक ।

जैपामा जेईलाई ‘माष्टर जेई’ भन्थे, जैपाबाहिर ‘जैपाली माष्टर जेई’ ।

बड्डाबड्डीले जेईलाई ‘सदस्सिनी’ भन्थे । कुनै बेला बाबै सदस्य थिए रे ! सदस्यपत्नी भनेर जेईलाई सदस्सिनी ।

सर्पलोटे, थुनी, रपावासीले जेईलाई ‘कुर्मिनी’ भन्थे । बाबै घरको गारो लगाउने, घरको काठ बनाउने र घरको छानो छाउने कुर्मी थिए । कुर्मीपत्नी जेईलाई कुर्मिनी ।

कतिले जेईलाई ‘जैसिनी’ भन्थे । बाबै जैसी थिए । हिन्दुकरण भए पनि हाम्रो गाउँ वरपर जन्म, बिहे र मृत्युमा बाहुन प्रवेश थिएन । बाहुन त रुद्री लगाउन, जग्गे गर्न र सत्यनारायणको पूजा लगाउन र जनैपूर्णिमामा धागो बाँध्न मात्र गाउँ पस्थे । मगर समुदायकै जैसी हुन्थे । तिनले नै पात्रो हेरेर नाम राखिदिन्थे । बिहे गराउँथे । शुभसाइत निकाल्थे । बाबै जैसी भएकाले जैसीपत्नी जेईलाई जैसिनी ।

जेईलाई झँक्रिनी भन्थे । झाँक्रीको स्त्रीलिंगी रूप भनेर झँक्रिनी । झाँक्रीपत्नीलाई पनि झँक्रिनी भन्थे । तर, जेई झाँक्रीपत्नी नभई आफैं झाँक्री थिइन् । जेईका गुरुबा रपाका ‘रपाल झाँक्री’ थिए । जैपाको पाल्लोपट्टि रपा जाँदा जेईलाई ‘जैपाल झँक्रिनी’ भन्थे ।

बाँकी कसैका जेई ठूल्जी थिइन्, कसैका सान्जी । कसैका माइजू थिइन् त कसैको भाउजू । कसैको बहिनी त कसैको नाना र कसैका बुहारी ।

साइनोले बोलाउने चलन

जेईलाई कसैले पनि नाउँ काढेर बोलाएको सुनिनँ । किन सुनिएन हँ ?

कारण थिए ।

एक, मगर समाजमा नाउँले होइन, साइनोले बोलाउने चलन थियो । त्यसैले जेई कसैको ठूल्जी थिइन्, कसैको सान्जी त कसैको माइजू त कसैको आमाजू ।

दुई, दाजुभाइ वा दिदीबहिनीमा कुनचाहिं हो ? त्यसको आधारमा पनि बोलाउने चलन थियो । जेई काइँली भएकाले बजिनमा जेई काइँली थिइन् ।

तीन, भदौरीका नाउँ नभन्ने चलन थियो । भदौरी भनेका आफूभन्दा साइनो, उमेर र ज्ञानले वरिष्ठ थिए । फलानी नाना, फलानी फुपू, फलानी आमाजू भनेर भन्दैनन् । बरु खिर्राबोटे नाना, भैसागोठे काकु, उपल्नुघर सान्जी भनेर बोलाउँथे । भदौरीको त नाम भन्ने चलन नै थिएन । मैले थाहा पाउँदाखरि जेईभन्दा भदौरी मामाघर बजिनमा मुक्खेमामा, ठूल्मामा मात्र थिए । जसले जेईलाई नाउँले बोलाउन सक्थे, तिनले पनि नाउँले बोलाएको सुनिनँ । काइँली भनी बोलाउँथे । बाँकीका लागि त जेई भदौरी भइहालिन् । तिनले जेईको नाउँले बोलाउने कुरै भएन । जैपामा पनि नाउँले बोलाएको सुनिनँ ।

जेई बरै

२०६२ को जाडो मासे एक दिन काठमाडौं बबरमहलस्थित बीबी अनुरागीको प्रिज्म रेकर्डिङ ‘बुक’ भयो । ७१ वर्षका जेई बाबैले गाउन थाले भने, खर्कबहादुर बुढामगर दाइले मादल, कृष्ण पुनले हार्मोनियम, इमानसिंह बुढामगरले सारंगी र एलबी धिमालले मुरलीले पछ्याउन । अनुरागीका भाइ श्यामश्वेत रसाइली रेकर्ड गरे । एकैदिन रोल्पाली रैथाने सात गीत गाउन महाभारत भयो । तन्नेरीलाई त साह्रोगाह्रो रहेछ भने बड्डाबड्डीले कसरी गाउनु ? तर, बाध्यता नै त्यस्तो थियो कि, थप दिन स्टुडियो बुक गर्ने हब्बा थिएन ।

रोल्पाली रैथाने गीत रेकर्ड सिलसिला चलिरहेको दिउँसोपख मित्र फूलमान बल र तिलक लामा स्टुडियोमा आए । बलजी कान्तिपुरकर्मी थिए, लामाको बबरमहलमा फोटो स्टुडियो थियो । बल र लामाजीले स्टिल फोटो खिचे, कान्तिपुर सिटी कलेजका सहपाठी प्रकाश मरासिनीले भिडियो ।

समाचार बनाउन बलजीले जेई बाबैको नाउँ सोधे ।

स्कूलले बाबैको नाउँ खोज्थे । नागरिकता बनाउँदा पनि बाबैकै नाउँ खोज्थे । साटिफिटिकमा फलानोको छोरो भनेर लेख्न पनि बाबैको नाउँ सोध्थे । कहींकतै जाँदा मेरो नाम सोधेर ‘तिम्रो बाको नाउँ के हो’ भनेर बाबैकै नाउँ सोध्थे । तर, जेईको नाउँ कहिल्यै, कहीं र कसैले पनि सोधेका थिएनन् ।

बलजीलाई बाबैको नाम भनें ।

अस्पतालमा जेईको नाउँ लेखाएको याद आयो । बल र लामाजीलाई अस्पतालमा लेखाएकै नाउँ दिने ? फेरि अलमलिएँ ।

जेई बाह्रैमास न्याङन्याङ गर्थिन् । अस्पताल जेईको पानीपधेंरो थियो । भलै जेईलाई अस्पतालप्रति विश्वास थिएन । रोग होइन, ‘चोखाला’ भन्थिन् । चोखालालाई थान्को लगाउन स्यान्मामा चाहिन्थ्यो । स्यान्मामा कालापार (भारत)मा थिए । जरो आएपछि कहिले जेईले देउता लागे भन्थिन् । अस्पताले एलोपेथिक उपचार पद्धतिप्रति जेईको विश्वास थिएन । रुघा लागे के खाने ? पखाला लागे के खाने ? ज्वरो आउँदा के खाने ? टाउको दुख्दा के खाने ? जेईसँग जडीबुटीको पोको नै थियो । झाँक्री मेरी जेईको जडीबुटी पोकोमा पाँचऔंले, अत्तीस, घोडा साँपको छाला आदि थिए ।

जेईलाई अस्पताल लान जोरजुलुम गर्न पर्थ्यो ।

साइँलीबरै, साइँलीजी, स्यानीमायलगायत सात रोल्पाली रैथाने गीतको अलबम बजार गयो– बरै । बलजीले कान्तिपुरको अन्तिम पानामा जेई बाबैले गाएका सात गीत फिंजिदिए । ‘बड्डाबड्डी’ले गाएको भनी ‘बड्डाबड्डी’लाई रामशरण दर्नाल, रामेश, सुबि शाह, दाहाल यज्ञनिधि, प्रदीप बम्जनले औपचारिक कार्यक्रममै हौस्याउनु हौस्याए । गाउँघरमा वनपाखामा गाउने सबै गायक हुन्थे । सबै नृत्यकार हुन्थे । त्यसैले जेई बाबै पनि खोलातोलामा गाउने, वनपाखामा गाउने सामान्य गायक थिए ।

बिहेपछि नाम फेर्ने

पंचायतविरोधी आन्दोलनको गाइँगुइँ चल्न थालेको थियो । ठीक त्यसैबेला उत्तरी रोल्पाको राङ्कोट पुग्यो, नागरिकता टोली ।

हो, त्यसैबेला जेईले नागरिकता लिइन् । जेईको नागरिकतामा थियो– दिलसरी पुन । जन्ममिति: १९९६ । नागरिकता दिएको मिति: २०४६ असार १८ ।

जेई बाबैभन्दा चार महिना कान्छी रे ! नागरिकतामा भने बाबैभन्दा तीन वर्ष कान्छी थिइन् ।

अस्पतालमा लेखाएको र बलजीलाई दिएको नाउँ पनि ‘नागिर्ते नाउँ’ नै थियो ।

दिलसरी नै जेईको असली नाउँ थियो ? जेईको रासको नाउँ थियो ?

आशंका थियो ।

सम्झिएँ– ठूल्दाजुको नाउँ देवप्रसाद । ठूल्भाउजूको नाउँ प्रेमकुमारी । बिहेपछि ठूल्भाउजू भएकी थिइन्, दिलकुमारी । माल्दाजु लालमणि । माल्भाउजूको नाउँ कलसरा । बिहेपछि माल्भाउजू भएकी थिइन्, लालसरी ।

ठूल्भाउजू माष्टर्नी भएकाले बिहे नहुँदै नागरिकता बनिसकेको थियो । त्यसैले लिखतमा नाम फेरिएन । माल्भाउजूको नागिर्ते नाउँ पनि लालसरी भएको थियो ।

बाबैको नाउँ दलबहादुर । जेईको नाउँ दिलसरी । त्यसैले लाग्यो, दिलसरी सोह्रैआना ‘थरघर’को नाउँ थियो । जन्मघरको नाउँ दिलसरी थिएन ।

जेईको नाउँ जान्न किन जरूरी भएन ?

परिवारमा जेईको असली नाउँबारे कुराकानीको विषय कहिल्यै बनेन । न जेई खुसी हुँदा न जेई दु:खी हुँदा जेईको नाउँबारे चर्चा चल्यो । जेईको विशेष दिन कुनै थिएन । जन्मदिन, बिहेको दिन भनेर मनाउने चलन नै थिएन । सन्चोबेसन्चोसँग जेईको नाउँ कहिल्यै पनि परिवारमा कुराकानीको सन्दर्भ भएन । न ठूल्दाजुले कहिल्यै सोधे न माल्दाजुले कहिल्यै सोधे न त मैले नै । न बाबैले नै भने । परिवार, आफन्त, नातेदारमा जेईको नाउँको कहिल्यै कुरा भएन ।

किन यस्तो भयो होला ? के हामी जेई नाउँप्रति अनभिज्ञ, अनदेखा र बेखबर नै थियौं ? के जेईको असली नाउँ र जेईको अस्तित्वप्रति लाचार नै थियौं ? किन जेईले आफ्नो खास नाउँ भनिनन् ? किन छोराछोरीले जेईको नाउँ जान्न जरूरी ठानेनन् ?

कारण थिए ।

एक, आफ्नै जेईको खास नाउँको खसखस पनि नहुने गरी मूलधारे समाज र यो मुलुकको ‘पुरुष राजनीतिक व्यवस्था’ले हाम्रा दिलदिमागबाट ‘जेई’ फोल्डर नै डिलिट गरिसकेको थियो । जेई त कहीं पनि थिइनन् । जग्गाको लालपुर्जामा पनि बाबैको नाउँ थियो, जेईको थिएन । हाम्रा नागरिकतामा पनि बाबैको नाउँ थियो, जेईको नाउँ थिएन ।

दुई, जेइको पहिचानप्रति हाम्रो समाज अनुदार मात्र थिएन, जेई जान्न पनि चाहन्न । जेई अस्तित्व नै स्विकार्दैन ।

तीन, हिन्दु पुरुषवादी समाजको जगमा उभिएको नेपालको शासन व्यवस्थाले यति किचेछ कि, जेई नाउँ जान्न छोराहरूलाई पनि जरूरी लागेन । जेईले पनि मेरो नाउँ यो हो भनेर भनिनन् । हामीले सोध्ने सन्दर्भ पनि उठेन । मैले ‘तम्रो माइतको नौ के हो जेई’ भनेर सोध्ने न सिलसिला आयो न त चासो नै चुलियो ।

चार, परिवार र सन्तान मात्र सोच्ने जेईले शायद अरुबारे सोच्दासोच्दा आफ्नो असली नाउँ पनि भन्न भुलिन् । यस्तो परिस्थिति बन्यो कि, आफ्नो नाउँ भन्न जरूरी नै ठानिनन् ।

जेईको नाउँ जरूरी छ ?

मेरी जेई ‘खास’ थिइनन् । मेरी जेई ‘विशेष’ थिइनन् । मेरी जेई ‘महान्’ थिइनन् । नेपालको शासक सौन्दर्य सुहाउँदो ‘सुन्दरी’ थिइनन् । तथाकथित आधुनिक स्कूले शिक्षा प्रणाली अनुसार जेईको ‘आँखा’ पनि देख्दिनथिन् । नेपालका आम आमा जस्तै मेरी जेई एक ‘आम आमा’ थिइन् । श्रममा रम्ने आम आमा थिइन् । जसका स–साना सपना थिए । आम आमाका जस्तै स–साना रहर थिए । जसको उत्तरार्द्धमा अनुहार नै भिरालोमा बनाएको खेतका गरा भएको थियो ।

धानको बुटाको बदला ठाउँलाठाउँलीमा काला अनुहारका च्याउ उम्रेका थिए । गोरो अनुहारमा कालो च्याउ । पाँच फिट पाँच इन्च अग्ली जेईको चिउँडोमा कालो कोठी थियो । कसक्क कपाले गुथेकी जेईको कपालेभित्र साँप जस्तै गुन्नली परेको ‘झाँक्री कपाल’ थियो । टाउको चिलायो भनेर गुन्नली खोल्दै जेईले भन्थिन्, ‘आइज कान्छा, दुईचार थुङ हान्दे । जुङ्रा मार्दे ।’ चाडपर्व आयो कि, छोरी नदिएको भन्दै जेई आफ्नो दैवसँग गुनासो गर्थिन् ।

अचम्म त के भने, जिन्दगीको उत्तरार्द्धमा जेईको टाउकोमा जुम्रा थिएनन् । भन्थिन्, ‘जाने बेला भएछ, जुङ्राले पनि छारे ।’

जेई कहिले गोरी हुन्थिन् कहिले काली । बाबै भन्थे, ‘हेर्तो कान्छा, तेर्जेईले वर्ण फेरेको ।’

समाजमा कहीं पनि बाबैसरह जेई थिइनन् । जब कि जेई र बाबै बराबर थिए । तिनका भूमिका सरोबर थियो । सन्तान खुसीमा खुसी हुने र सन्तान दुखमा दुखी हुने जेई राज्यको कुनै कुनामा पनि बाबैसँग ठिंग उभिएकी थिइनन् । बाबैसँग जेई नदेखिएर त होइन, नेपाली समाज सुन्दर नदेखिएको ? मुलुकमा लोकतान्त्रिक गणतन्त्र छ भन्ने अनुभूत नभएको ?

बालापन सँगसँगै बिताएका जेईका छाउली (उस्तै उमेरका) एकेक गर्दै हिंडिसकेका थिए । दिनानुदिन जेईको खास नाउँ जान्ने चाह मरीच जसरी चाउरिंदै थियो । त्यस्तो घडीमा एकदिन भने नसोचेकै संजोग जुर्‍यो । अर्थात् दुई वर्ष पुरानो पुस २८ गते दाङ घोराही रमानामा मुक्खे जिठु(जेठान)सँग भेट भयो ।

बजिन मुक्खे मामाका जेठा छोरा मुक्खे जिठु । जेईलाई काइँली भनेर बोलाउने मुक्खेमामाका छोरा मुक्खे जिठु प्रसबहादुर बुढाममगर । मुक्खे जिठु पनि झण्डै जेईकै छाउलीका थिए । जेईभन्दा पाँच/सात वर्षले कौला(कान्छो) थिए कि ?

‘काइँली फुबूको नौ के होला तो कोजानी ?’

जिठुले सम्झन कोसिस गरे ।

त्यसपछि मसिनाचौर गाई चराउन गएका, भरापुज्नेतिर सोत्तर सोहर्न गएका बितेका याम सम्झिए ।

‘आमाजूको नौ त थाहा होला तो’ मुक्खिनीले जिठुलाई भनिन् ।

त्यसपछि पनि जिठुले सम्झने कोसिस जारी राखे ।

‘बाबैले बुम्ली बुम्ली भनेर डकाएको सुन्याहम् किउ जवइ । कि काइँली फुबूको नौ बुम्ली हुँनो तो हँ’, मुक्खे जिठुले भने ।

(जवइ भनेको ज्वाइँ हो ।)

बुम्ली !

जेईको नाउँ जानेर दिलदिमाग झनन झन्कियो । के के न भए जस्तो रनन रन्कियो ।

त्यसपछि ? त्यसपछि भने मलाई आफ्नै हातले आफ्नै कपाल कोयाकोया पारेर उखेलूँ लाग्यो । जेईको नाउँ पनि नजान्ने ‘कस्तो छोरा’ भन्ने भएर भनन भन्कारा छुट्यो ।

‘जवइँ, खानुहुन्छ’ हातले कटौरा बनाउँदै मुक्खे जिठुले ‘रक्सी’ खाने कि भनेर सोधे, ‘अलिकति, घाँटी भिजाम् कि ?’

झस्किएँ ।

भनें, ‘जिठु, म त खान्नँ । स्यानैदेखि चाख्दा पनि चाखिनँ ।’

एकैछिनअघि जेईको नाउँ जानेर खुसी भएको, किन नजानेको भनेर आफैंलाई रिस उठेको मन के भयो कुन्नि ? जेईको असली नाउँ बुम्ली होइन जस्तो पो लाग्यो । बोलाउने नाउँ जस्तो लाग्यो । जेईको रासको नाउँ त अर्कै हुनुपर्छ भन्ने भयो ।

त्यसपछि भनें, ‘बुम्ली । बुम्ली त बोलाउने नौ जस्तो छ, जिठु । रासको नौ बुम्ली नै होला त जिठु ?’

नाउँप्रति आशंका जनाएँ ।

जिठुले फेरि सम्झन कोसिस गरे । जिठुले पानी पिए । त्यसबीच मुक्खिनी आइन् । ठूलो स्वरमा मुक्खे जिठुलाई भनिन्, ‘सानो हुँदाको पज पान्नौ र ? कि बड्डा भइकन सब्बै पोली खाइलियौ र ?’

जिठुले ‘हँ’ भने ।

यस्तै, एकदुई मिनेटपछि सम्झेजसरी भने, ‘बाजीले त काइँली फुबूलाई हस्तिरा हस्तिरा भनेर डकाएको प सुन्थें किउ जवइ । काइँली फुबूको नौ ता हस्तिरा प हो के र !’

हस्तिरा !

जेईको नाउँ हस्तिरा ?

जेईको असली नाउँ बुम्ली कि हस्तिरा ? कुनचाहिं होला, जेईको रासको नाउँ ? बुम्ली कि हस्तिरा भन्दाभन्दै कवि लक्ष्मी मालीको कविता सम्झिएँ–

कसैबाट सोधनी नभएको

कतै उच्चारण गर्न नपरेको

तिम्रो नाम

सार्वजनिक गर्न चाहन्छु म

धर्ती भन्ने उपनाम होइन आमा

मलाई तिम्रै नाम चाहिन्छ

आमा  तिम्रो नाम के हो ?

मालीको कविताको धर्ती जस्तै थियो, जेईको नाउँ दिलसरी । दिलसरी अर्थात् थरघरको नाउँ । हस्तिरा र बुम्लीमा कुनचाहिं थियो, जेईको असली नाउँ ? कुन थियो रासको नाउँ ? कुन थियो जन्मघरको नाउँ ?

मालीले आमालाई नाउँ सोधे जसरी जेईलाई उनको रासको नाउँ अर्थात् असली नाउँ सोध्न मन भयो । त्यसपछि कुराकानी गर्दागर्दै जुरुक्क उठें ।

‘जेई तम्रो नौ के हो ? थर–घरको नौ त दिलसरी भयो, माइती–घरको नौ के हो ? हस्तिरा हो कि बुम्ली ।’

जिठुले पनि सुन्ने गरी भुनभुनाएँ ।

जिठुले भने, ‘जवइ, के भयो ?’

जिठुले के भयो भनेपछि झल्यास्स भएँ ।

जेईको नाउँ भेरिफाई गर्न जेई कहाँ थिइन् र ?

सम्झिएँ, जेई हिंडेकै दुई बर्ष भइसकेको थियो । जेई हिंडेको दुई वर्षपछि जेईको रासको नाउँ त थाहा पाएँ तर बुम्ली कि हस्तिरा ? पज पाइनँ ।

मामा सम्झिएँ । ‘आमापछि मामा’ भन्थे । गाउँघरमा भन्थे, आमा तिर्खा लागे मामाकहाँ जानू, बाबा तिर्खा लागे काकाकहाँ । त्यसैले मामा सम्झिएँ कि ? जेईअघि नै ठूल्मामा हिंडिसकेका थिए, जेईपछि स्यान्मामा । ठूल्जीलाई सम्झिएँ । ल्हाम्ढारा ठूल्जी । ठूल्मामा सँगसँगै हिंडिसकेका थिए । देहरादुनवासी कान्छी सान्जी, जेई र स्यान्मामा त एकेक महिनाको अन्तरालमा बाटो लागेथे । स्यान्मामालाई त कोरोनाले लगेथ्यो । जेई नाउँ जान्ने बाबै पनि जेईभन्दा चार वर्षअघि नै हिंडिसकेका थिए ।

बुम्ली कि हस्तिरा ? जेईको असली नाउँ भेरिफाई गर्ने कोही बचेका थिएनन् ।

तपाईंलाई झण्डै सोध्न भुलेको, तपाईंकी जेईको नाउँ के हो ?

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?