
३० साउन, काठमाडौं। जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल निर्माण गर्ने निर्णय गरेको छ।
जसपा नेपालको सूचना संचार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आईटी सेलको शाखा बिस्तार गर्ने निर्णय गरेको हो।
शुक्रबार पार्टी केन्द्रीय बालकुमारीमा बसेको विभागको बैठकले पार्टीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन र मुख्यतः सामाजिक सञ्जालहरुलाई थप व्यवस्थित गर्ने उद्देश्यले देशैभरी आईटी सेल बिस्तार गर्न लागेको सूचना विभागका सचिव समेत रहेका जसपा नेपालको केन्द्रीय आईटी सेलका प्रमुख महेश चौरसियाले जानकारी दिए।
आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालहरुको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढंगले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आईटी मैत्री बनाउने उद्देश्यले हालै महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन भएको थियो।
विभाग प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालमा सक्रिय नेता कार्यकर्तालाई समेटेर देशैभरी जिल्लाब्यापी आईटी सेल निर्माणका लागि आइतबार जिल्ला अध्यक्षहरुलाई पत्राचार गर्ने निर्णय भएको चौरसियाले बताए।
यसका साथै, सूचना संचार तथा विज्ञान प्रविधि विभागलाई पनि ७ वटै प्रदेशमा प्रदेशस्तरीय विभाग गठन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले सूचना विभाग र आईटी सेलको संरचनागत ढाँचा एवं आगामी कार्यदिशाको प्रारुप तयार गर्न चार सदस्यीय समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया 4