
म यतिबेला खुट्टा फ्याक्चर भएर बेड रेस्टमा छु । अर्थात्, कोठाको एउटा कुनामा कैद भएको छु । शौचालय जान समेत वैशाखीको सहारा लिनुपरेको छ ।
विधि र कानुनको परिधिभित्र रहेर काम गर्दागर्दै कानुनका रखवाला मानिने वकिलहरूबाटै यो हदसम्मको हर्कत किन भयो ? पत्रकारमाथि किन आक्रमण भयो ? अनि कल्पनै नगरेको नियति भोग्नुपर्यो ? विस्तृत थाहा पाउन २७ साउनको त्यो घटना र पृष्ठभूमि केलाउनुपर्ने हुन्छ ।
पत्रकार महासंघ मधेश प्रदेशको २८ मंसिरमा सम्पन्न चुनावबाट म महासचिव निर्वाचित भएँ । महासंघको पहिलो बैठकको निर्णयअनुसार हामी पुसदेखि प्रादेशिक भवन निर्माणको निम्ति जनकपुरमा जग्गा खोजीमा लाग्यौं ।
कागजी प्रकिया पूरा गर्नु महासचिवको जिम्मेवारी हो । त्यसमा पनि जनकपुरधाममा बसाइ भएकाले महासंघका प्रायः काम-कारबाहीमा सामेल हुनु मेरो दायित्व नै थियो ।
जग्गा खोज्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका-४ स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला अगाडि, स्वर्गद्वारीको दक्षिण छेउमा रहेको तैनाथी गुठी अर्थात् श्रीराम मन्दिरको ४ कठ्ठा जग्गा खाली रहेको गुठी संस्थान जनकपुरका प्रमुख आनन्द कर्माचार्यबाट जानकारी पायौं ।
त्यो जग्गाको माग धेरै संस्थाबाट आएको तर गुठी संस्थानले गुठी ऐनअनुसार टेन्डर निकालेर मात्र लिजमा दिने कर्माचार्यले प्रष्ट पार्नुभयो । यद्यपि, प्रक्रियागत ढंगबाट मागको लागि वडाको सिफारिस, ट्रेस नक्सा, फिल्डबुक उतार नक्सासहहित जग्गा उपयोगिताको प्रयोजनसहित निवदेन दिन भन्नुभयो । हामीले निवेदन दियौं । यो एक चरणको प्रक्रिया थियो ।
गुठी संस्थानले मिति ७ जेठ २०८२ मा यो ४ कठ्ठासहित जनकपुरको तीन ठाउँको जग्गा लिजमा दिन गोरखापत्रमा सूचना प्रकाशन गरी टेन्डर आह्वान गर्यो । ३५ दिनभित्र प्राविधिक र आर्थिक प्रस्तावसहित टेन्डर भर्न आह्वान गरिएको थियो ।
गुठी संस्थानले सूचनामा भनेबमोजिम दक्ष प्राविधिक-इन्जिनियरसँग समन्वय गरी महासंघले प्राविधिक र आर्थिक प्रस्ताव तयार गर्यो । त्यसका लागि महासचिवका हैसियतले मैले २० दिन मिहिनेत गरेको थिएँ । आर्थिक प्रस्तावमा अध्यक्ष श्यामप्रसाद बञ्जारालगायत साथीहरूले थप मिहिनेत गर्नुभएको थियो ।
प्राविधिक र आर्थिक प्रस्ताव सूचनाबमोजिम समयमै महासंघले उक्त जग्गाको लागि प्रस्ताव पेस गर्यो । उक्त ४ कठ्ठा जग्गाको लागि महासंघसहित चारवटा संस्थाले आवेदन दिएका थिए ।
अनि सुरु भयो विवाद
यो बीचमा गंगासागरको पूर्वी किनारामा रामनारायण मिश्र स्मृति पार्क निर्माणका लागि खनिएको माटो त्यही ४ कठ्ठा जग्गामा थुपारिएको थियो ।
जब उक्त जग्गाको लागि टेन्डर आह्वान गरिएको नेपाल एसोसिएसन जनकपुरले थाहा पायो, धमाधम जग्गामा थुपारेको माटो डोजर लगाएर सम्यायो । जबकि, बारले जग्गाका लागि टेन्डर नै भरेको थिएन ।
२ साउनमा गुठी संस्थानले तीनवटै जग्गा प्रस्ताव स्वीकृतको गोरखापत्रमा पुनः सूचना प्रकाशित गर्यो । जसमा ४ कठ्ठा जग्गाको लिज सम्झौताको लागि नेपाल पत्रकार महासंघको प्रस्ताव स्वीकृत भयो । उक्त जग्गाको वार्षिक लिज सम्झौता महासंघले ३ लाख १ हजार रुपैयाँ भरेको थियो ।
जग्गा पाउने भएपछि हामी खुसीले गद्गद् भयौं । विभिन्न सञ्चार माध्यममा खबर सार्वजनिक भयो । यो खबर सार्वजनिक भएको एक/दुई दिनमा स्वर्गद्वारी छेउको भित्तामा नेपाल बार एसोसिएसनको पार्किङस्थल भनेर भित्तामा बोर्ड झुन्ड्याइयो । सम्झौता नभएसम्म किन बोल्ने भनेर हामी चुप बस्यौं ।
गुठी संस्थानले महासंघलाई उक्त जग्गा सम्झौताका लागि आउन ९ साउनमा पत्र पठायो । एक वर्षको लिज रकम ३ लाख १ हजार रुपैयाँ गुठी संस्थानको खातामा जम्मा गरेको भौचरसहित १९ साउनमा महासंघका प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष अम्बिका दहाल, म महासचिव, सचिव हदिश खुद्दार र सदस्य अजय साह गुठी संस्थानको केन्द्रीय कार्यालय काठमाडौं त्रिपुरेश्वरको पुग्यौं ।
महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस चौतारीका केन्द्रीय महासचिव हितमान लामा, प्रेस सेन्टरका केन्द्रीय सदस्य जनार्दन पोखरेलसहितको उपस्थितिमा गुठी र महासंघबीच दुईपक्षीय लिज सम्झौता भयो । यसरी व्यावसायिक भवन निर्माणको निमित्त महासंघलाई लिजमा जग्गा प्राप्त भयो ।
यो खबर सार्वजनिक भएपछि बार एसोसिएसनमा आबद्ध वकिलहरूको आकस्मिक बैठक बस्यो । त्यो आकस्मिक बैठकमा पत्रकार महासंघले जग्गा लिज पाएको विषयमा छलफल भएको हामीले बैठकमा सहभागी वकिलबाटै जानकारी पायौं ।
बारले जसरी पनि त्यो जग्गा कब्जा गर्ने रणनीति बनायो । २० साउनमा बारले उक्त जग्गामा आफ्नो पार्किङ स्थल रहेकोले अनिवार्य रूपमा वकिलहरूलाई सवारीसाधन पार्किङ गर्न उर्दी सहितको सूचना जारी गर्यो ।
यति हुँदा पनि हामी भने आधिकारिक रूपमा जग्गा महासंघले पाइसकेको र भवन बनाउन सुरु नगरुन्जेल खाली जग्गामा पार्किङ गरे फरक नपर्ने बुझाइसहित चुप बस्यौं । निर्माणको बेला समस्या भए त्यस बेला संवाद गर्ने हामीबीच सल्लाह भयो ।
तर, २५ साउनमा बार एसोसिएसन एकाएक जग्गा कब्जा गर्न अघि बढ्यो । वकिलहरूले बिहानैदेखि फलामे पिलर गाडेर घेराबार गर्न थाले ।
यो हर्कत थाहा पाउने बित्तिकै महासंघका प्रदेश सचिव हदिश खुद्दार, उपाध्यक्ष ज्योति झा, धनुषा अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत पुगेर जग्गामा पुगेर वकिललाई रोक्नुभयो । प्रहरी बोलाएपछि पिलर गाड्ने काम रोकियो । महासंघका साथीहरू त्यहाँबाट धनुषामा पुगेपछि वकिलहरूले फेरि सबै पिलर गाडे ।
त्यसपछि हाम्रा साथीहरू घनश्याम मिश्र, हरिवंश यादवसहित घटनास्थल पुग्नुभयो । उहाँहरू पुगेपछि वादविवाद सुरु भयो । त्यस क्रममा बार एसोसिएसनकै आग्रहमा त्यही सभाकक्षमा उहाँहरूसँग हाम्रो संवाद सुरु भयो । त्यसबीचमा सम्झौताको प्रतिलिपिसहित म पनि पुगेँ ।
महासंघका केन्द्रीय राजेश कर्ण, अध्यक्ष श्याम बञ्जारा, सदस्य प्रतिभा झा, त्रिलोकी यादव, विनोद परियारसमेत पुग्नु भयो । सभाहलमा भरिभराउ अधिवक्तासहितका वकिलहरूले त्यो हाम्रो पार्किङस्थल हो, तपाईंहरूले किन टेन्डर भरेको, सम्झौता नै गैरकानुनी हो, त्यो खारेज हुन्छ लगायतका धम्की दिन थाले ।
उनीहरू ‘अड्डा-अदालत हाम्रो हो, हामी कब्जा गर्छौं, तपाईंहरू केही गर्न सक्नुहुन्न भन्दै धम्कीको वर्षा गर्न थाले ।
विवाद बढ्न थालेपछि हामी पत्रकारहरु सम्झौताको प्रतिलिपिसहितको निवेदन लिएर जिल्ला प्रशासन कार्यालय पुग्यौं । प्रजिअले उनीहरूलाई फोन गरेर संवादको लागि बोलाउनुभयो । ५ बजे बारका पदाधिकारी पुगे । सीडीओलाई विवाद महासंघका पदाधिकारीसँग संवाद गरेर समाधान गर्छौं भन्दै उनीहरू फर्किए।
हामीलाई बारबाट संवादको लागि फोन आयो । हामी बारको सभाकक्षा पुग्यौं। एक घण्टा बढी संवाद भयो ।
संवादमा त्यही छेउमा ३ कठ्ठा गुठीको अर्को जग्गा खाली रहेकोले बार त्यो जग्गा प्राप्तिका लागि प्रक्रियामा जाने, महासंघले त्यसमा सक्दो सहयोग गर्ने, आवश्यक परे १३ फिट बाटो दिने, सब लिजमा केही जग्गा दिँदा बारलाई प्राथमिकता दिने, तत्काल पार्किङ गर्न कुनै अवरोध नहुने र बारले उक्त जग्गामा गाडेको फलामे पिलर भोलिपल्ट हटाउने दुवैपक्षबीच मौखिक सहमति भयो । हामी ढुक्क भएर फर्कियौं ।
बारले त हामीसँग मौखिक सहमति गर्नुअघि नै गुठी संस्थानसमेत महासंघमाथि उत्प्रेषण रिट हालेको रहेछ । भोलिपल्ट वेबसाइट हेरेर थाहा पायौं । बारको विश्वासघातले हामी अचम्मित भयौं । जे भए पनि कानुनी उपचार त ठिकै हो । तर एकातर्फ जग्गामा पिलर गाड्ने, अर्कोतर्फ मौखिक सहमति गर्ने अनि फेरि सहमतिविपरीत अदालतमा मुद्दा पनि दिने, बार जस्तो गरिमा बोकेको संस्थाको यो हर्कत ठिक थिएन ।
पत्रकारहरूको आकस्मिक बैठक बस्यो । अनि २७ साउनमा त्यही जग्गामा पत्रकार सम्मेलन गर्ने निर्णय गरियो ।
निर्यणअनुसार पत्रकार सम्मेलन भयो । यही क्रममा पत्रकारहरूले महासंघले जग्गा लिजमा पाएकोले संरक्षणको दायित्व पनि महासंघकै रहेको र अदालतको अन्तिम निर्णय नआएसम्म बार एसोसिएसनले गाडेकै पिलरमा तारबार गर्ने कुरा भयो । त्यतिबेलासम्म अदालतमा भएको मुद्दाको औपचारिक जानकारी समन, म्याद बुझ्ने कागजात महासंघले पाइसकेको थिएन । त्यस दिन ३ बजेपछि मात्र महासंघमा अदालतबाट समन आयो ।
तारबार गर्ने क्रममा ६०/७० जनाको संख्यामा वकिलहरू आएर तथानाम गाली गर्दै धम्की दिन थाले । हामी त्यतिबेला करिब २० जना मात्र थियौँ । एकजना गन्जी लगाएका कार्की थरका वकिल हाम्रा अध्यक्ष श्याम बञ्जाराको अगाडिबाट जग्गामा छिर्न खोजे । रोक्न खोजेपछि तिनै वकिलले बञ्जारालाई धक्का दिए आक्रमण सुरु गरे । यसपछि अवस्था असहज भयो । सबै वकिल महासंघ अध्यक्ष बञ्जारालाई लक्षित गरी कुटपिट गर्ने प्रयासमा लागे, हामी पत्रकार उहाँलाई जोगाउने प्रयासमा लाग्यौं ।
यसै क्रममा उनीहरूको भीडको धक्कामुक्कीमा म लडें, भिडले मेरो जिउमा थिच्यो । मेरो बायाँ खुट्टाको कान्छी औंलातर्फको भागमा समान्य चोट र मोच परेको महसुस भयो । अलिअलि दुख्न थाल्यो ।
त्यही बेला भिडले अध्यक्ष बञ्जारालाई तथानाम गाली गर्दै, कुट मार भन्दै आक्रमक गर्न थाले । प्रहरी आएर उहाँलाई रेस्क्यू गरी जिल्ला प्रहरीतिर लैजान खोज्दा दौडेर केही वकिलले मुड्की बजारे । अश्लील शब्दमा गालीगलोजसहित उहाँलाई प्रहरीबाट खोसेर पुनः आक्रमणको प्रयास गरे ।
म लगायत केही साथी बचाउन पछिपछि दौडियौं । प्रहरीले उहाँलाई मोटरसाइकलमा जिल्ला लगे । त्यहाँबाट हामी जिल्ला प्रशासन कार्यालय पुग्यौं । त्यहाँबाट महासंघ धनुषामा फर्कें ।
मेरो मोच परेको ठाउँ सुन्निँदै गयो । पत्रकार दिवाकर टाउकोमा चोट लागेको पीडाले छट्पटाइथिए । पत्रकार अनिल निरालाको अनुहारमा चोट थियो । अध्यक्ष बञ्जाराको समेत शरीरको विभिन्न भागमा चोट लाग्यो ।
मैले तत्कालै दिवाकरलाई स्कुटीमा चढाएर अस्पताल पुर्याएँ । सँगै अर्को मोटरसाइकलमा अनिल निरालालाई लिएर पत्रकार मुकेश ठाकुर पनि पुग्नुभयो ।
एक्सरे गराएपछि मोच परेको ठाउँमा फ्याक्चर भएको पुष्टि भयो । जब चिकित्सकले अब प्लास्टर गरेपछि ६ हप्ता बेड रेस्ट र वैशाखीले हिँड्नुपर्ने सल्लाह दिनुभयो, त्यतिबेला मन व्याकुल भयो । जेल परेको कल्पना हुन थाल्यो ।
सधैँ डुल्ने, रिपोर्टिङ गर्ने मान्छे अहिले कोठामा थन्किन बाध्य भएको छु । शौचालयदेखि बेड र बेडदेखि शौचालय पुग्न बैसाखीको सहारा लिनुपरेको छ ।
कानुनी रूपमा अघि बढ्दा पनि यति झन्झट र दु:ख बेहोर्नुपर्ला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ । केही वकिलहरू मैले नाटक गरेको आरोप लगाइरहेका छन् । भलै उनीहरूको पेसामा त्यो जायज होला । यो दुर्भाग्यपूर्ण घटनाको दोषी को ? जिम्मेवारी कसले लिन्छ ?
प्रतिक्रिया 4