+
+
Shares

दुर्गमका कर्मचारीलाई सुगममा पठाउनेगरी काम भइरहेको छ : मन्त्री न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १८:३६

१ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउनेगरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् ।

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन् ।

लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरूको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने उनले बताइन् । ‘सरुवामा खासगरी कोही सधैँ दुर्गममा मात्रै बसिरहने र सुगममा मात्रै कोही बसिरहने, कोही धेरै वर्षदेखि भ्याली नछोड्ने, कोही धेरै वर्षदेखि दुर्गममा बसिरहने स्थिति पनि छ,’ मन्त्री न्यौपानेले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत धेरै ठाउँमा निमित्तले चलाइरहनुभएको अवस्था पनि छ । मेरो सबैभन्दा बढी चासो त्यहीँ हो ।’

प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहनुभएको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् ।

‘निमित्तले प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएको छ, यसलाई जिरोमा झार्नुपर्छ भनेर गृहकार्य शुरु गरेका छौँ । नमानेपछि हामीले आर्थिक अधिकार कटौती गर्नेसम्मका कामहरू गर्‍यौँ । स्ट्रिकली लागू गर्न हामीले काम शुरु गरेका छौँ,’ उनले भनिन्, ‘राष्ट्रसेवक कर्मचारीहरू कुनै काम नै नगरी सेवामा समर्पित नभइकन तलव लिने खालको स्थिति बन्नुहुँदैन । त्यसका निम्ति कर्मचारी सबै खट्नुपर्छ । सबै सेवामा समर्पित हुनुपर्छ । त्यो संख्याको विवरण संकलन गर्दैछौँ ।’

मन्त्री न्यौपानेले दुर्गममा खटाउँदा जान्न भन्नेहरूको नाम सार्वजनिक गर्ने चेतावनी पनि दिइन् ।

‘जो धेरै समयदेखि दुर्गममा हुनुहुन्छ, उहाँहरूलाई न्याय गर्ने र जो धेरै समयदेखि भ्यालीभित्र बसिरहनुभएको छ, उहाँहरूलाई अन्यत्र पठाउनेछौँ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?