+
+
Shares
ब्रिफिङ :

मिश्रीको दौडधुप : प्रधानमन्त्रीलाई भ्रमणको निम्तो, परराष्ट्रमन्त्रीसँग द्विपक्षीय मुद्दाको समीक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन काठमाडौं आएका विदेशसचिव विक्रम मिश्रीले आइतबार नै महत्त्वपूर्ण भेटघाट सकेका छन् । भोलि आफू बसेको होटलमा अनौपचारिक भेटघाट र पशुपति दर्शन गरेर स्वदेश फर्किने तयारी छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ भदौ १ गते २२:३१

१ भदौ, काठमाडौं । प्रधानमन्त्री बनेको १३ महिनापछि केपी शर्मा ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाएका छन् ।

नेपालको राजनीतिमा प्रधानमन्त्री बनेपछि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनको औपचारिक भ्रमण भयो कि भएन भन्ने तथ्यलाई लिएर उसको विदेश मामिला सम्बन्ध सञ्चालनको कुशलताको आयतन नाप्ने सनातनी परम्परा छ ।

त्यसैले ओली प्रधानमन्त्री भएदेखि नै उनको भारत भ्रमण कहिले हुन्छ भन्ने प्रतिक्षा थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार नेपाल भ्रमणमा आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गरे ।

चीनको भ्रमण गरिसकेका ओलीले भारतबाट औपचारिक निम्तो नपाउँदा राजनीतिक  र कूटनीतिक वृत्तमा भारतसँगको ओलीको सम्बन्धबारे चर्चा भइरहेको थियो ।

अब ओलीको भदौ ३१ देखि भ्रमण हुने छ । शुरुमा २ दिनको लागि भनिएको भ्रमण तीन दिनसम्म लम्बिने स्रोतले  बताएको छ । यद्यपि भ्रमणको मिति भने दुईपक्षले पछि औपचारिक रुपमा सार्वजनिक गर्नेछन् ।

‘नेवरहुड फर्स्ट’ नीति अबलम्बन गरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय सम्बन्धहरू राम्ररी अघि बढेको थिएन । तर बंगलादेश र पाकिस्तानसँगको सम्बन्ध मात्र होइन अहिले अमेरिकाले समेत च्याप्न थालेपछि मोदीले आफ्नो लागि सहज हुने मुलुकहरूसँग सम्बन्ध थप मजबुत बनाउने कोशिस गरिरहेका छन् । यही पृष्ठभूमिमा मोदीबाट अहिले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो आएको छ ।

मिश्रीको दौडधुप

भारतीय प्रधानमन्त्रीको पत्र बोकेर आएका विदेश सचिव विक्रम मिश्रीले आइतबार दिनभर राजनीतिक नेतृत्वसँग भेटघाट गरे ।

बिहान ९ बजे भारतीय वायुसेवाको विशेष विमान ‘आईएफसी ३१’ मार्फत काठमाडौं आइपुगेका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव मेहेन्द्र राजभण्डारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरे ।

विमानस्थलबाट सिधै बत्तिसपुतलीस्थित द्वारिका होटल पुगेका उनले सवा ११ बजे सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे ।

बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान समेत हो । ओली–मोदी भेटवार्ता हुने दिन भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन समेत परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको औपचारिक भ्रमणको निम्तो पत्र हस्तान्तरण गरे । त्यसअनुसार, ३१ भदौदेखि उनले भारत भ्रमण गर्नेछन् ।

पहिले दुई दिन भ्रमण हुने भएपनि एकदिन लम्बिनसक्ने देखिएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, यसबारे औपचारिक रुपमा दुवै पक्षले एकसाथ सार्वजनिक घोषणा गर्ने भनिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । सामान्यत: भारतीय प्रधानमन्त्रीले उच्चस्तरीय औपचारिक भेटवार्ता दिल्लीको हैदरावाद हाउसमा गर्ने परम्परा भए पनि यसपालि ओली–मोदी भेट बिहारको बोधगयामा हुने तय भएको छ ।

बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान समेत हो । ओली–मोदी भेटवार्ता हुने दिन भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन समेत परेको छ । मोदी १७ सेप्टेम्बर १९५० मा जन्मिएका थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार, भ्रमणको औपचारिक निमन्त्रणा पाएपछि ओलीले विदेशसचिव मिश्रीलाई धन्यवाद दिएका थिए ।

ओली ३० असार २०८१ मा प्रधानमन्त्री नियुक्त भएयता नै भारत भ्रमणका लागि प्रयास भइरहेको थियो । तर, भारतीय पक्षबाट निम्तो आएको थिएन ।

यद्यपि, दुईपटक विदेशमा ओली–मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो ।

थाईल्याण्डको बैंककमा बिमस्टेक सम्मेलनमा सहभागी हुन गएका बेला २०८१ चैतमा ओलीको भारतीय समकक्षी मोदीसँग भेट भएको थियो । त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका समेत समेत दुई प्रधानमन्त्रीबीच भेट भएको थियो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई समेत नेपाल भ्रमणको निम्तो दिएका थिए ।

राष्ट्रपतिपछि देउवा–प्रचण्डसँग भेट

ओलीसँग भेट गरेपछि विदेशसचिव मिश्री लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । त्यहाँबाट उनी १:४५ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगे ।

भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले निकट छिमेकीका रुपमा भारतका प्रगतिबाट नेपालले समेत लाभ हासिल गरेको बताए ।

‘नेपाल अझ बढी लाभान्वित हुन चाहन्छ, एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ,’ पौडेलले भने, ‘नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्रथामिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिलो नीति’को नेपाल सराहना गर्दछ ।’

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रही आएको भन्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको समेत बताएका छन् ।

राष्ट्रपति कार्यालयबाट सिधै बुढानीलकण्ठ पुगेर मिश्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । भेटवार्ताको तस्वीर सार्वजनिक गर्दै देउवाले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताएका छन् ।

‘हाम्रो छलफल आपसी विश्वास, सद्भाव र क्षेत्रीय समृद्धि तथा स्थायित्वप्रति आकांक्षमा आधारित नजिकका र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन केन्द्रित रह्यो,’ उनले भनेका छन् ।

देउवालाई भेटेर भारतीय विदेशसचिव नेतृत्वको प्रतिनिधि मण्डल सिधै विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास खुमलटार पुगेको थियो । करिब आधा घन्टासम्म चलेको भेटमा प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण पहिल्यै हुुनुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता दिन आउनु भएकामा भारतीय विदेशसचिवलाई धन्यवाद दिनुभयो,’ स्वकीय सचिव गंगा दाहालले प्रचण्डको भनाइ उदृत गर्दै भनिन्, ‘म प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा गरेका राम्रो कामको निरन्तरता, त्यसको सकरात्मक प्रगति होस् र दुई देशबीचको सम्बन्धमा नयाँ कुराहरू होस् ।’

‘पोखरा विमानस्थल सञ्चालनमा भारतको सहयोग खोजी’

प्रचण्डसँग भेटवार्ता सकेर मिश्री अपराह्न ४ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगे । मन्त्रालयमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता भयो ।

त्यसक्रममा मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको बताउँदै एक महत्त्वपूर्ण विकास साझेदारका रुपमा गरेको सहयोगप्रति धन्यवाद दिए । भेटका क्रममा उनले पछिल्लो समय दुई देशबीच भएका द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ‘इङ्गेजमेन्ट’प्रति खुशी व्यक्त गरिन् ।

विगतमा डा. राणाले प्रधानमन्त्री ओलीको भ्रमणका लागि पहल गर्दै पटकपटक नयाँ दिल्ली भ्रमण गरेकी थिइन् । यसपटक भारतीय प्रधानमन्त्रीको तर्फबाट भ्रमणको निम्तो दिन आएका मिश्रीलाई राणाले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रुपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरूका माध्यमबाट पारस्परिक लाभ पुग्ने बताइन् ।

‘रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरूको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्छ,’ उनले भनिन्, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउनुपर्छ ।’

राणाले नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा समेत जोड दिइन् । यस भेटका क्रममा मन्त्री डा. राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिएको उनका प्रेस सल्लाहकार एकराज पाठकले बताए ।

‘पछिल्लो समयमा प्लाइउड, स्टिल लगायतका उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दाहरू र बिआइएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइका बारेमा पनि उहाँले कुरा उठाउनुभयो,’ पाठकले भने ।

मन्त्री राणाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ लाभ पुग्न सक्ने भन्दै आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्न तथा बाढी र डुबान नियन्त्रणका बारेमा सहकार्य गर्ने कुरामा जोड दिइन् ।

भारतीय विदेशसचिवले मिश्रीले पनि उच्चस्तरीय भ्रमणबाट आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने बताए ।

‘यो भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास छ,’ मिश्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

परराष्ट्रमन्त्री राणासँग भेटपछि मिश्री होटल द्वारिकाज पुगेका थिए । होटलमा केही समय बसेर पौने ६ बजे उनी समकक्षी अमृतबहादुर राईले आयोजना गरेको रात्रि भोजमा सहभागी हुन सोल्टी होटल पुगे । त्यहीँ राईसँग उनको दुईपक्षीय भेटवार्ता भयो ।

भेटका क्रममा प्रधानमन्त्रीको भ्रमणका विषयमा उठ्न सक्ने एजेण्डाहरूबारे छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

होटलमै थप भेटघाट गरेर भोलि फर्किने

मिश्रीले भ्रमणको पहिलो दिन नै महत्वपूर्ण भेटघाट सकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । सोमबार उनले आफू बसेको होटलमै केही अनौपचारिक भेटघाट गर्नेछन् ।

‘केही राजनीतिज्ञदेखि अरु व्यक्तिहरू उहाँले अनौपचारिक भेट गर्नुहुनेछ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘ती भेटघाटसँगै भोलि पशुपतिनाथको दर्शन गर्ने समेत कार्यक्रम छ ।’ दिउँसो साढे २ बजे उनी स्वदेश फर्किने कार्यतालिका छ ।

मिश्रीको भ्रमण टोलीमा भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनका अतिरिक्त सचिव मुन्नु महावर, प्रधानमन्त्री कार्यालयमा कार्यरत् कुटनीतिज्ञ प्रियंका सोहनी, नर्थन डिभिजनका डेपुटी सेक्रेटरी तुषारांशु शर्मा छन् ।

अतिरिक्त सचिव मुन्नु ६ महिनाअघि पनि काठमाडौं आएका थिए । डेपुटी सेक्रेटरी शर्मा नेपाल, भूटान लगायतका छिमेकी मुलुक हेर्ने जिम्मेवारीमा छन् ।

को हुन् विक्रम मिश्री ?

नेपालमा राजदूत रहिसकेका विनय मोहन क्वात्राको कार्यकाल सकिएपछि १५ जुलाई २०२४ मा मिश्री विदेश सचिवमा नियुक्त भएका थिए ।

भारत–पाकिस्तानको पछिल्लो तनाव र जवाफी कारबही स्वरुप नयाँ दिल्लीले गरेको अपरेशन सिन्दुरबारे जानकारी दिँदा पारिवारिक विषयलाई जोड्दै उनलाई सामाजिक सञ्जालमा ट्रोल समेत गरिएको थियो । तर, भारतका राजनीतिज्ञदेखि कलाकारसम्मले  स्ट्याटस लेख्दै उनलाई साथ दिएका थिए ।

खासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवका रुपमा समेत काम गरिसकेका मिश्री नयाँ दिल्लीका लागि संवेदनशील रणनीतिक जिम्मेवारीहरू पूरा गरिसकेका सफल कुटनीतिज्ञ मानिन्छन् ।

भारत र चीनबीच संवेदनशील सम्बन्ध भएका बेला उनी बेइजिङका लागि भारतीय राजदूत थिए । त्यहाँ खेलेको भूमिका र अनुभवका कारण मिश्रीलाई भारतको राष्ट्रिय सुरक्षा परिषद्को ‘डेपुटी सेक्यूरिटी एड्भाइजर’को जिम्मेवारी समेत दिइएको थियो ।

मिश्रीसँग भारतीय प्रधानमन्त्री आईके गुजरल र मनमोहन सिंहको सचिवालयमा रहेर काम गरिसकेको अनुभव समेत छ । सन् १९६४ मा भारतको जम्मुमा जन्मिएका उनले कूटनीतिक सेवामा चीन, अमेरिका, पाकिस्तान, भुटान र श्रीलंकामा रहेर समेत गरिसकेका छन् ।

विदेश सचिव हुनुअघि उनले मन्त्रालयमा पाकिस्तान डेस्कको समेत नेतृत्व गरिसकेका थिए । मिश्री विदेश सचिव बनेलगत्तै अन्तर्राष्ट्रिय, क्षेत्रीय स्थितिमा फेरबदल आएको थियो । भारत–पाकिस्तान तनावदेखि बंगलादेश लगायतको मामिलाले उनको कार्यकाललाई चुनौतिपूर्ण बनाएको थियो ।

यद्यपि, उनी विगतदेखि नै भारतको कुटनीतिज्ञ वृत्तमा रणनीतिक कुशलता भएका कुटनीतिक अधिकारीका चिनिने गरेको भारतीय अखबार इकोनमिक टाइम्समा प्रकाशित एक लेखमा उल्लेख छ ।

हालैका सामाजिक सञ्जालमा ट्रोल गरिँदा उनलाई विपक्षी दल कंग्रेसका नेता शशि थरुरले ‘पेशेवर र इमान्दार अधिकृत’ भएको उल्लेख गरेका थिए । मिश्रीले श्रीलंकमा डेपुटी हाई कमिश्नर भएर समेत काम गरेका छन् ।

सन् २०१४ मा स्पेनका लागि भारतीय राजदूत बनेका उनी २०१६ मा राजदूत भएर म्यानमार पुगेका थिए । त्यसपछि दुई वर्ष उनी चीनमा राजदूत रहे ।

कुटनीतिक सेवामा रहनु अघि उनी विज्ञापन र चलचित्र क्षेत्रमा काम गर्थे । प्रारम्भिक शिक्षा श्रीनगरको डीएभी स्कुलमा लिएका उनले दिल्ली विश्वविद्यालय अन्तरगत हिन्दू कलेजबाट स्नातक गरेका थिए भने पछि जमशेदपुरबाट एमबीए गरे ।

उनी अमेरिकाको एस्पेन इन्स्टिच्यूटको इन्डिया लिडरसिप इनिसिएटिभका फेलो समेत हुन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?