+
+
Shares

आईपीसीसीको मूल्यांकन प्रतिवेदनका लागि नेपालका १० वैज्ञानिक चयन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते ११:३१

२ भदौ, काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी) सातौं मूल्यांकन प्रतिवेदनका लागि नेपालका १० जना वैज्ञानिकहरू चयन भएका छन् ।

आईपीसीसीले जलवायु विज्ञानसम्बन्धी नयाँ विषयको जानकारी र जलवायु परिवर्तनले आगामी दिनहरूमा विश्वमा के कस्ता असर पार्न सक्छ भन्नेबारे व्याख्या गर्दछ ।

संसारभरीका वैज्ञानिकहरूले स्वयंसेवी रूपमा काम योगदान गर्ने आईपीसीसीले निकाल्‍न लागेको सातौं प्रतिवेदन हो । सातौं मूल्यांकन प्रतिवेदनको विभिन्न च्याप्टहरू लेखनका लागि लागि त्रिभुवन विश्वविद्यालयबाट सहप्राध्यापकद्वय डा. सुदीप ठकुरी र डा. नारायण गैरे छनोट भएका छन् । उनीहरु त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका सहप्राध्यापक हुन् ।

मूल्यांकन प्रतिवेदन लेखनमा ईसीमोडबाट डा. भूपेश अधिकारी र डा अमिना महर्जन, फिम इटालीबाट डा. शोभा पौडेल, नेदरल्यान्डमा कार्यरत ग्रोनिङजेन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रज्जवल प्रधान, सीआईएमएमवाईटीबाट डा. टेक सापकोटा विभिन्न च्यापटरहरूको मुख्य लेखकको रूपमा छनोट भएका हुन् ।

आईपीसीका कार्यगत समूह १ का उपाध्यक्ष डा. महेश्वर रुपाखेती च्यापटर- ३ को रिभ्यू इडिटर चयन भएका छन् । रूपाखेती जर्मनीमा रहेको रिफ्स इन्स्टच्युटमा कार्यरत छन् ।

आईपीसीसीले निकाल्न लागेको विशेष प्रतिवेदनहरुमा अन्य दुई जना नेपाली अनुसन्धानकर्ताहरू पनि संलग्‍न छन् । जसमा प्राध्यापक डा. शोभकार ढकाल जलवायु र सहर शीर्षकको प्रतिवेदनमा मुख्य लेखक चयन भएका छन् । यस्तै, डा. भूपेन्द्र दास इन्भेन्टोरी फर सर्ट लिब्ड क्लाइमेट फोर्सर्सका लागि मुख्य लेखक छन् । यो प्रतिवेदन सन् २०२७ मा सार्वजनिक हुनेछ ।

आईपीसीसीमा तीनवटा कार्यगत समूह हुन्छन् । यी समूहले जलवायु विज्ञान र जलवायु परिवर्तनको प्रतिक्रियासम्बन्धी विभिन्न पक्षहरुमा केन्द्रित रहेर काम गर्दछन् ।

पहिलो समूहले जलवायु परिवर्तनको भौतिक विज्ञानको अध्ययन गर्छ, दोस्रो समूहले जलवायु परिवर्तनको असर र अनुकूलनको पक्षलाई केलाउँछ भने तेस्रो समूह जलवायु परिवर्तनको न्यूनीकरणमा केन्द्रित रहन्छ ।

तीनै समूहले आ-आफ्ना छुट्टाछुट्टै प्रतिवेदन तयार पार्छन् । पछि ती प्रतिवेदनलाई एकीकृत गरी एउटा मिश्रित प्रतिवेदन बनाइन्छ ।

यतिको संख्यामा नेपाली अनुसन्धानकर्ताहरू धेरै भएको यो उपलब्धि व्यक्तिगत स्तरमा मात्र नभएर राष्ट्रिय स्तरमा पनि महत्वपूर्ण मानिन्छ ।

विज्ञान लेखक एवं वातावरण अध्येता गोविन्दप्रसाद पोखरेलका अनुसार अहिलेसम्म कहिल्यै यति धेरै नेपाली वैज्ञानिकहरूले विश्वव्यापी जलवायु एजेन्डा निर्धारण गर्ने अवसर पाएका थिएनन् ।

उनीहरूको विशेषज्ञता सरकारी निर्णय, जलवायु नीतिहरू लगानी र दीर्घकालीन जलवायु कार्यहरूमा मार्गदर्शन गर्न सक्ने उनले बताए ।

यस्तै, पछिल्लो छैठौँ मूल्यांकन प्रतिवेदनमा नेपालबाट चार जना मुख्य र विशेष प्रतिवेदन लेखनका लागि छनोट भएका थिए ।

सातौं प्रतिवेदनका लागि १० जना नेपाली वैज्ञानिकहरूको प्रतिनिधित्व हुनुले राम्रो सन्देश दिएको जलवायु क्षेत्रमा लागेकाहरू बताउँछन् ।

कार्यगत समूह १ का उपाध्यक्ष समेत रहेका अनुसन्धानकर्ता डा. महेश्वर रूपाखेती संवेदनशील राष्ट्रका रूपमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको बताउँछन् । उनी भन्छन्, ‘विश्वव्यापी रुपमा प्रतिस्पर्धामार्फत आठ जना नेपाली वैज्ञानिकहरू चयन हुनु नेपाली वैज्ञानिकहरू वैज्ञानिक क्षमता, विश्वासनियता कायम भएको हो । हाम्रा आवाज, ज्ञान र नेतृत्व अब विश्वव्यापी जलवायु एजेन्डा निर्माणमा र जलवायु परिवर्तन विरुद्ध लड्न निर्णायक रूपमा उदाएका हुन् ।’

सन् २०२३ मा रुपाखेती आईपीसीसी ब्युरोमा निर्वाचित भएपछिको यो नेपालका लागि अर्को उपलब्धि हो । उनले यो व्यक्तिगत गर्वको विषय मात्र नभई सम्पूर्ण नेपालको गौरव र शक्तिको प्रतीक रहेको बताए ।

वैज्ञानिकहरूको छनोटले प्रमाणमा आधारित जलवायु रणनीतिहरू निर्माण गर्न सहयोग पुग्‍ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?