
२ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टीतेल छर्कने काम भइरहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताउँदै जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे ।
‘यो बेलामा नेपाली समाजभित्र पूरा असन्तुष्टि छ । आगो बलेको जस्तो भएको छ । जता गएपनि हामी कहीँ न कहीँ रिस, आक्रोश, असन्तुष्टि देख्छौं,’ महामन्त्री थापाले भने, ‘त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याइ छन् । मट्टितेल ल्याएका छन्, पेट्रोल हालेका छन्, जेजे हालेका छन् । दन्दनी बालिरहेका छन् । कसले गरिरहेको छ, किन गरिरहेको छ ?’
तर आगो सल्काउन मद्दत गर्नेहरूमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरू समाधान गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । कांग्रेसले त्यसको तागत राख्ने पनि उनको भनाइ छ ।
‘हामी तिनलाई चिन्छौँ, थाहा छ । कसले, कनि गरिरहेको छ, त्यसको भाषा के छ, तिनलाई चिन्नुपर्छ । प्रश्न गर्नुपर्छ,’ थापाले अघि भने, ‘असन्तुष्टिको आगोमा कसले मट्टितेल खन्याएको छ, त्यसतर्फ मात्रे औंला ठड्याएर हुँदैन । असन्तुटिको आगो किन बलिरहेको छ, त्यसलाई बुझाउनुपर्छ । हाम्रो जिम्मेवारी हो । त्यो तागत हामी राख्छौँ ।’
महामन्त्री थाापले काम र परिणामबाट असन्तुष्टिको आगो निभाउनुपर्ने बताए ।
प्रतिक्रिया 4