
५ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेर हिम्मत दिएका साथी नै हराएको गुनासो गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘त्यो ६० लाख दिन्छु भनेर त्यो साथीले नभनेको भए मैले लाइब्रेरी बनाउँछु भन्ने सोचेर त्यो प्रस्ताव सभापतिकोमा लैजानै सक्दैन थिएँ,’ उनले भने, ‘६० लाख दिन्छु भनेर मेरो हिम्मत बढाउनुभयो । तर, त्यो दिनदेखि फर्केरै आउनु भएन ।’
तर, उनले ती साथीको नाम भने खुलाएनन् ।
‘४० लाख रुपैयाँ पार्टीको साथीहरूबाट उठाएर दिने जिम्मा मेरो भयो भन्नुभयो । तर, माथिपट्टिको कोठामा डिजाइन भयो । मोटामोटी १ करोडको हाराहारीमा खर्च आउँछ भन्ने भयो । उहाँले ६० लाख जुटाउने जिम्मा मेरो भन्नुभयो,’ थापाले भने ।
तर, ती साथी फर्केरै नआएको बताए । उक्त कोषमा सभापति शेरबहादुर देउवाले १ लाख रुपैयाँ राखेको उनले बताए ।
फरक प्रसंगमा थापाले कांग्रेस पुरानो भयो, थोत्रो भयो भन्ने नकारात्मक भाष्य स्थापित भएकोमा चिन्ता व्यक्त गरे ।
‘आज नेपाली काँग्रेस अगाडिको प्रश्न, चुनौती भनेकै के छ भने पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ,’ उनले भने ।
उनले कांग्रेस त्यसबाट बाहिर निस्किएर आउनुपर्ने तर्क गरे ।
‘त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । हामीलाई पुरानो भएकोमा गौरव छ । हामीलाई आफ्ना धेरै परम्पराहरुमा गौरव छ,’ थापाले भने ।
प्रतिक्रिया 4