
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताए ।
सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्त्वपूर्ण रहेको बताए । उनले विधेयकमा रहेको विषयवस्तुहरू आधारभूत रुपमा नै गलत रहेको बताए ।
‘प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मलाई यो विषय चाहिएको छ । त्यसको प्रमाण अहिले संसदमा आएको विधेयक हो । संसदमा आएको विधेयक आपत्तिजनक छ । त्यो विधेयक जस्ताको त्यस्तै पारित हुँदैन । हामी हुन दिन्नौँ,’ महामन्त्री थापाले भने, ‘त्यसको कन्सेप्ट, फण्डामेन्टल्ली त्यो गलत छ । आधारभूत रुपमा किन गलत छ भने यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट आएको छ ।’
विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने बताउनु भयो । सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महशुस भएको बताउनु भयो ।
‘त्यो नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट किन आयो भने हामी त्योसँग डराइयो । किन डराइयो भने यो के हो भन्ने नै बुझिएन । त्यसको बारेमा चिन्तन नगर्दा बुझिएन,’ महामन्त्री थापाले भने, ‘अहिलेको जेनजी पुस्ताले इन्टरनेट नभएको समयको कल्पनै गर्द सक्दैनन् । उनीहरुले जन्मिँदै देखेर आएका छन् । सोसल मिडिया, सोसल नेटवर्क यो अवसर हो । यसको प्रयोग पनि हुन्छ, यसको कतिपय ठाउँमा खराब प्रयोग पनि भएको छ ।’
महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने बताउँदै सामाजिक सञ्जाल जीवनको एउटा भाग बनिसकेको बताए ।
प्रतिक्रिया 4