+
+
Shares
महिला प्रहरी सम्मेलन सुरु :

‘समाजमा न्याय र समानताको प्रत्याभूति गराउन महिला प्रहरीको भूमिका महत्वपूर्ण’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी प्रधान कार्यालयमा पहिलो महिला प्रहरी सम्मेलन 'साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका' नारासहित सुरु भएको छ।
  • गृहमन्त्री रमेश लेखकले प्रहरीमा २० प्रतिशत महिला आरक्षणको व्यवस्था उल्लेख गर्दै २० प्रतिशत महिलाको उपस्थिति पु¥याउनुपर्ने बताए।
  • सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले भीआईपी सुरक्षामा महिला प्रहरी खटाउन आग्रह गर्दै महिलाको सुरक्षा क्षमता उदाहरण बन्नुपर्ने बताइन्।

५ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा पहिलो महिला प्रहरी सम्मेलन सुरु भएको छ । ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नारासहित सुरु भएको सम्मेलनको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे ।

सोही अवसरमा पहिलो महिला प्रहरी चैतमाया डंगोललाई समेत सम्मान गरियो । वि.सं. २००८ मा प्रहरी सेवामा उनी प्रवेश गर्दा अहिले लागू रहेको प्रहरी ऐन समेत बनेको थिएन । २०१२ सालमा बनेको प्रहरी ऐनलाई प्रस्थापन गर्ने विधेयक बल्ल संसदीय समितिबाट संसद्मा जाने क्रममा छ ।

सोही अवसरमा पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दुर्गा थापा पुन (अवकाश प्राप्त), सगरमाथा आरोही कुन्जान छोपेल शेर्पा, खेलाडी प्रहरी नायब निरीक्षक जुनी राई, लगायत सम्मानित भए । २०८२ जेठमा सगरमाथा आरोहण गरेकी शेर्पालाई प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले केही समयअघि विशेष बढुवा समेत दिएका थिए ।

सोही अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापाको रचनामा रहेको महिला प्रहरी गीत समेत सार्वजनिक गरियो । समारोहमा सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले सबै सम्भावनामा महिलाहरुलाई समाहित गर्न तीन ‘स’ (समानता, शसक्तिकरण र सम्भावना) को नीति अवलम्बन गरिनुपर्ने बताए ।

‘मुद्दा र नीतिहरुमा समावेश गर्ने, शसक्तिकरणको अभियान सञ्चालन गर्नुपर्ने र सबै सम्भावनामा महिलालाई समाहित गरिनुपर्छ,’ उनले भने, ‘सम्भावना अवसर हो, क्षमता प्रर्दशन गर्ने ठाउँ हो । अवसरको प्रदानता गर्ने, यी सबै कुरामा जानुपर्छ, त्यो ढंगले अगाढी बढ्न जरुरी छ ।’

प्रहरीमा १३ प्रतिशत महिला कर्मचारी रहेको भन्दै उनले २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि प्रहरीमा महिलाको उपस्थिति बढेको सुनाए । मन्त्री लेखकले नेपाल प्रहरीमा भर्ना प्रक्रियामा २० प्रतिशत महिला आरक्षणको व्यवस्था उल्लेख गर्दै उनले परिणाममा २० प्रतिशत महिलाको उपस्थिति नेपाल प्रहरीमा पु¥याउनुपर्ने बताए ।

‘हामी यस्तो प्रहरी संगठनको परिकल्पना गरिरहेका छौं, जहाँ महिला र पुरुष दुवै समान रूपमा सुरक्षित, समान रूपमा सशक्त र समान रूपमा उत्तरदायी हुन सकून्,’ उनले भने, ‘देशको शान्ति सुरक्षा कायम राख्न महिला प्रहरीको योगदान अतुलनीय छ । यो प्रगति हाम्रो समावेशी समाजको वास्तविक प्रतिबिम्ब हो । महिला प्रहरीको निष्ठा र साहसप्रति उच्च सम्मान छ ।’

सोही अवसरमा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरिन् । महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन भन्दै उनले भीआईपी सुरक्षामा महिला कर्मचारी खटाउन आग्रह गरिन् ।

‘म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अब यदि महिलाले सुरक्षा लिने वर्ग होइन दिने वर्ग पनि हो भने भीभीआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्, तपाईंहरु उदाहरण बनिदिनुस्,’ उनले भनिन् ।

प्रहरीमा पनि महिला प्रमुख भएको हेर्ने चाहना रहेको समेत उनले बताइन् । महिलाको क्षमता नहेरी लिंगका आधारमा केही गर्न सक्दैनन् भन्ने अनुमान त्याग्न उनले सुझाव दिइन् ।

सोही अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेत एवं काठमाडौंस्थित बेलायती दूतावासकी निमित्त डेपुटी हेड अफ मिसन केमिलिया सक्डेनले प्रहरीमा प्रहरी फौजप्रति समुदायस्तरमा विश्वासको वातावरण बढाउन महिलाको भूमिका महत्वपूर्ण रहने बताए ।

न्याय र समानताको प्रत्याभूति गराउने कुरामा समेत महिला प्रहरीको योगदान उल्लेखनीय रहने उनीहरुले बताए । कुटनीतिज्ञ केमिलियाले भारतको उदाहरण दिँदै भनिन्, ‘त्यहाँ महिला भएको प्रहरी चौकीमा हिंसा र दुर्व्यवहारका घटनामा धेरै उजुरी परे, पीडितले सूचना दिन पनि सहज माने । त्यसैले सुरक्षा निकायमा महिलाको भूमिका महत्वपूर्ण छ ।’

आईजीपी दिपक थापाले प्रहरीले गत वर्षदेखि लागू गरेको लैङ्गिक नीति अन्तरगत यो सम्मेलन गर्न थालिएको भन्दै यसलाई निरन्तरता दिइने बताए ।

‘प्रहरीमा महिला प्रहरीको उपस्थितिलाई केवल संख्या र तथ्याङ्कमा मात्र प्रस्तुत गर्ने भन्दा पनि महिला प्रहरीको प्रभावकारी, गुणात्मक र नेतृत्वदायी सहभागितालाई विशेष जोड दिइएको छ,’ उनले भने, ‘महिला प्रहरीको सशक्तिकरणमा केन्द्रीत यस ऐतिहासिक सम्मेलन ज्ञान, प्रेरणा र परिवर्तनको संवाहक हुने विश्वास लिएको छु ।’

महिला प्रहरी सम्मेलनको संयोजनक अपराध अनुसन्धान विभागका प्रमुख एआईजी राजन अधिकारीले गरेका थिए । सम्मेलनमा देशभरिका प्रहरी कार्यालयबाट प्रतिनिधिमूलक रुपमा महिला अधिकारीहरुको सहभागिता छ भने देशभरिका युनिटबाट अनलाइनमार्फत समेत कार्यक्रममा सहभागी गराइएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?