+
+
Shares

कतारमा नेपाली महिला : बाटो रोजगारीको, यात्रा जेलको

कतारमा लागुऔषध सम्बन्धी मुद्दा निकै कडा मानिन्छ । चार वर्षदेखि जेल सजाय भुक्तान गरिरहेकी उनलाई करिब १० वर्षको जेल सजाय तोकेको हुन सक्ने अनुमान छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ भदौ ५ गते २१:१३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङकी एक महिला चार वर्षदेखि कतारको जेलमा लागुऔषध मुद्दामा सजाय काटिरहेकी छिन् र उनकी छोरी जेलभित्र जन्मिएकी छन्।
  • महिलाले आफू निर्दोष रहेको दाबी गर्दै भनिन्, \'म निर्दोष छु\' ।
  • कतारस्थित नेपाली दूतावासका अनुसार नेपालका ६४ जना कैदीमध्ये २९ जना लागुऔषध मुद्दामा छन् ।

५ भदौ, काठमाडौं । धादिङकी एक महिला चार वर्षदेखि कतारको जेलमा लागुऔषध मुद्दामा सजाय काटिरहेकी छिन् ।

वैदेशिक रोजगारी खोज्दै कतार पुगेकी उनलाई प्रहरीले ५ किलो चरेस सहित पक्राउ गरेको थियो । कतार पुगेर विमानस्थलबाट आफू बस्ने कोठामा पुगेका बेला प्रहरी आएर खानतलासी गर्दा उनले बोकेर लगेको ब्यागमा चरेस फेला परेको थियो ।

तर, त्यो झोला भने उनको आफ्नो थिएन । काठमाडौंबाट दोहा जानुअघि आर्थिक सहयोग गर्ने नजिककी एक दिदीले ‘कतारमा मेरो भाइलाई दिनुपर्ने सामान हो’ भनेर ब्याग दिएकी थिइन् ।

विमानस्थलमा कुनै समस्या नभए पनि कतार पुगेर केही दिनमै प्रहरीको जाँचमा सोही ब्यागबाट लागुऔषध बरामद भएपछि उनी जेल पर्न बाध्य भइन् ।

पक्राउ परेका बेला उनी गर्भवती थिइन् । कतारकै जेलभित्र उनले छोरीलाई जन्म दिइन् । अहिले उनकी छोरी ३ वर्ष नाघेकी छिन् र कतारस्थित एक केयर सेन्टरमा राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

आमा–छोरी छुट्टाछुट्टै बस्नुपरेको पीडा अझै गहिरिँदै गएको छ । कतारस्थित नेपाली दूतावासका अधिकारीहरूले समय–समयमा भेट्ने गरेका छन् । तर, आमाछोरीलाई आपसमा भेट्न पाउने व्यवस्था भने नरहेको दूतावासका अधिकारीले जनाएका छन् ।

‘म निर्दोष छु’

दूतावास अधिकारीहरूसँगको भेटमा ती महिलाले आफू निर्दोष रहेको दाबी गर्दै आएकी छिन् । ‘मलाई विदेश आउन सहयोग गर्ने दिदीले झोला दिनुभयो, भाइलाई दिनुपर्छ भन्नुभयो । मैले नलैजान पनि सकिनँ । त्यसकै कारण म यसरी फसेँ,’ उनीसँगको भेटका क्रममा दूतावासका अधिकारीलाई सुनाएकी थिइन् ।

उनले आफूलाई धोका दिएको पीडा व्यक्त गर्दै बारम्बार ‘म निर्दोष हुँ’ भन्दै आएकी छिन् ।

‘भर्खरकै हुनुहुन्छ । एकदम ढुक्कसँगै कुरा गर्नुभयो । भेटेरै आएको । उहाँ एकदमै कन्फिडेन्ट्ली म गलत नगर्दा पनि यसरी फसेँ, अब के गर्नु भन्ने कुरा गर्नुहुन्छ । आमा छोरीको भेट भएको छैन होला सायद,’ ती अधिकारीले भने, ‘भेटका क्रममा चाहिँ सोधिनँ । जेलमा भेट्न जानकै लागि धेरै तह पार गर्नुपर्छ । यहाँ जेलमा भेट्न जान निकै गाह्रो छ । आमा–छोरीको बसाइ अलग्गै भएकाले भेट हुन सकेको छैन होला ।’

कतारमा लागुऔषध सम्बन्धी मुद्दा निकै कडा मानिन्छ । चार वर्षदेखि जेल सजाय भुक्तान गरिरहेकी उनलाई करिब १० वर्षको जेल सजाय तोकेको हुन सक्ने अनुमान भए पनि आफू यकिन हुन नसकेको ती अधिकारीको भनाइ छ । चार वर्ष सजाय भुक्तान गरिसकेकी उनले अझै केही वर्ष जेलमै बिताउनुपर्ने हुन्छ ।

‘त्यहाँ लागुऔषधको मुद्दा भनेपछि तुरुन्तै सजाय तोक्छन्, त्यही अनुसार उहाँ अहिले जेल जीवन काट्दै हुनुहुन्छ,’ ती अधिकारीले भने ।

जेलभित्र जन्मेकी छोरी अहिले केयर सेन्टरमा छिन् । आमा–छोरीलाई सँगै बस्न नपाउने व्यवस्थाले बच्चाको बाल्यकाल कठिन भइरहेको छ । दूतावास अधिकारीहरूले भने बच्चा सुरक्षित रहेको जानकारी दिएका छन् । तर, आमाविनाको बसाइ बच्चाकै मानसिक विकासका लागि गम्भीर चुनौती बन्न सक्ने देखिन्छ ।

कतारस्थित नेपाली दूतावासका अधिकारीहरूले यस्ता कैदी नेपालीसँग निरन्तर सम्पर्क राख्ने गरेका छन् । उनीहरूको आधारभूत अवस्थाबारे बुझ्ने, आवश्यक परे कानुनी सहयोगका लागि समन्वय गर्ने काम गरिँदै आएको दूतावासले जनाएको छ । तर, लागुऔषध सम्बन्धी मुद्दा भएकाले आममाफी वा तुरुन्त छुटकारा पाउने सम्भावना भने न्यून रहेको अधिकारीहरू बताउँछन् ।

भर्खरै वयस्क जीवन सुरु गरेकी ती महिला अहिले कठोर जेल जीवनमा बाँधिएकी छिन् । उनको भविष्य अझै जेलकै छायामुनि बाँकी छ । ‘गल्ती नगरी पनि यसरी फसेँ’ भन्दै उनले अधिकारीहरूसँग पीडा पोख्ने गरेकी छिन् ।

कतारमा हाल ६४ जना नेपाली जेलमा छन् । नेपाली दूतावास कतारका श्रम काउन्सेलर सीता दुवाडीका अनुसार जेलमा रहेकामध्ये २९ जना लागुऔषध केशमा छन् । तीमध्ये यी महिला समेत एक हुन् ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?