
News Summary
Generated by OK AI. Editorially reviewed.- सहकारी क्षेत्रको कुल बचत २०७९/८० मा सवा ११ खर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको भन्दा दोब्बरभन्दा बढी हो।
- सहकारी विभागले सहकारी संख्या ३२ हजार ९ सय ६५ पुगेको र सेयर सदस्य संख्या १ करोड ९ लाख ५ हजार १ सय ९२ पुगेको जनाएको छ।
- सहकारी क्षेत्रमा जोखिममा आधारित सम्पत्ति शुद्धीकरण निवारणका लागि अनलाइन फारमबाट तथ्यांक संकलन गरी जोखिम वर्गीकरणको कार्य सुरु गरिएको छ।
५ भदौ, काठमाडौं । सहकारी क्षेत्रको आकार दोब्बरभन्दा धेरै बढेको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा देशभरका सहकारी संस्थाको कुल बचत ४ खर्ब ७८ अर्ब रुपैयाँमात्रै भएकोमा एक वर्षकै अवधिमा करिब साढे ६ खर्बले बढेर गत आर्थिक वर्षको फागुन मसान्तसम्म सवा ११ खर्ब पुगेको हो ।
सहकारी क्षेत्र समस्यामा भएको अवस्थामा संस्थाहरूमा बचत थपिएको नभई अघिल्लो आर्थिक वर्षमा अत्यधिक संस्थाहरूले सरकारी प्रणालीमा रिपोर्टिङ गर्न थालेकाले बचत तथा कर्जाको यथार्थपरक तथ्यांक आएको सहकारी विभागका एक अधिकारीले बताए ।
विगत वर्षका तुलनामा रिपोर्टिङमा आउने सहकारी संख्या बढेकाले बचत तथा कर्जा बढेको देखिएको ती अधिकारीको भनाइ छ । विगतमा विभागको तथ्यांकभित्र समावेश नभएका सहकारी पनि गत वर्ष समावेश भएपछि बचत तथा कर्जा लगायत तथ्यांक बढेको देखिएको ती अधिकारी बताउँछन् ।
सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) सहकारीलाई अनिवार्य गराएपछि तथ्यांक फरक परेको उनको भनाइ छ । ‘मालपोत र कर चुक्ताका लागि कोपोमिसमा रिपोर्टिङ अनिवार्य गरेको हुनुपर्ने नियम लागू भएपछि तथ्यांक नियमित हुँदा उल्लेख्य वृद्धि देखिएको छ,’ ती अधिकारीको भनाइ छ ।
सहकारी विभागका अनुसार गत फागुनसम्ममा सहकारी क्षेत्रको कुल बचत ११ खर्ब २५ अर्ब २८ करोड पुगेको छ । अघिल्लो आव सहकारीहरूको बचत ४ खर्ब ७८ अर्ब ११ करोड रुपैयाँ थियो ।
साथै, देशभरका सहकारी संस्थाहरूले प्रवाह गरेको कुल कर्जा लगानी ९ खर्ब २३ अर्ब ७४ करोड पुगेको पनि सहकारी विभागको तथ्यांक छ । यस्तो लगानी गत वर्ष ४ खर्ब ५ अर्ब मात्रै देखिन्थ्यो । कोपोमिसमा रिपोर्टिङ अनिवार्य गरिएपछि कर्जाको आकार पनि दोब्बरभन्दा ठूलो देखिएको छ ।
२०७७/७८ मा २९ हजारमा झरेको सहकारी संख्यामा भने त्यसपछि क्रमिक सुधार आएको छ । गत फागुन मसान्तसम्म सहकारी संख्या ३२ हजार ९ सय ६५ पुगेको सहकारी विभागले जनाएको छ । विभागका अनुसार यी सहकारीले परिचालन गरेको निक्षेप ११ खर्ब माथि पुगेको हो ।
गत फागुनसम्ममा सहकारीका सेयर सदस्य संख्या १ करोड ९ लाख ५ हजार १ सय ९२ पुगेको छ । यो सदस्य संख्या अघिल्लो आवको तुलनामा करिब ३२ लाखले बढेको हो । अघिल्लो आवमा सहकारी सदस्य संख्या ७३ लाख ८३ हजार ५ सय २८ रहेको विभागले जनाको छ ।
विभागका अनुसार गत फागुनसम्ममा करिब ३३ हजार सहकारीको कुल सेयर पूँजी १ खर्ब ४३ अर्ब २९ करोड पुगेको छ । अघिल्लो आवमा सहकारीको कुल सेयर पूँजी ९४ अर्ब ७२ करोड रुपैयाँमात्र थियो ।
२०८१ असारसम्म सहकारी क्षेत्रमा ९४ हजार २ व्यक्तिले प्रत्यक्ष रोजगार पाएकोमा २०८१ फागुनसम्म आइपुग्दा यस्तो संख्या ९० हजार २ सय ६५ रहेको छ । पछिल्लो समय सहकारी सञ्चालक तथा व्यवस्थापकले बचतकर्ताको बचत अपचलन गर्ने तथा सहकारी क्षेत्रलाई नै बदनाम गराउन खोजेपछि यो क्षेत्रको रोजगारीमा जोडिनेको संख्या घटेको एक सहकारीकर्मीले बताए । सहकारी क्षेत्रको बढ्दो विकृतिका कारण यो क्षेत्रमा लाग्ने व्यक्तिसमेत निराश भएको ती सहकारीकर्मीको भनाइ छ ।
विभागका अनुसार सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा २०८१ असारसम्म १७ हजार ६ सय ९६ सहकारी संस्था आबद्ध भएकामा २०८१ फागुनसम्ममा १८ हजार ८ सय ९९ पुगेको विभागले जनाएको छ ।
देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउन सहकारी विभागलाई तोकिएका कार्यमध्ये स्थलगत र गैरस्थलगत सुपरीवेक्षण दिग्दर्शन २०८२ स्वीकृत गरी लागु गरेको जनाएको छ । त्यसैगरी विभागले पछिल्लो तीन महिनामा स्थलगत र गैरस्थलगत सुपरीवेक्षण कार्ययोजना समेत लागु गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी क्षमता अभिवृद्धि कार्ययोजना लागु गरेको विभागले जनाएको छ ।
सहकारी संघसंस्थाको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन परिपालना अनुगमनपछि कैफियत देखिएका केही सहकारी संस्थालाई स्पष्टीकरण सोधी कारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको समेत विभागले जनाएको छ ।
सहकारी संस्थामा जोखिममा आधारित सम्पत्ति शुद्धीकरण निवारणका लागि अनलाइन फारम मार्फत सहकारी संस्थाहरूको तथ्यांक संकलन गरी जोखिम वर्गीकरणको कार्य सुरु गरेको समेत विभागले जनाएको छ ।
प्रतिक्रिया 4