
News Summary
Generated by OK AI. Editorially reviewed.- गढवा गाउँपालिका र ग्रामीण महिला उत्थान केन्द्र घोराहीबीच अति विपन्न एकल महिलाका लागि घर निर्माण सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
- पहिलो चरणमा भदौ ८ गते वडा नं. ४ निवासी प्रमिला चौधरीको घरको शिलान्यास गरिने गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए।
- सम्झौताअनुसार गढवा र राजपुर गाउँपालिकामा कुल सातवटा घर निर्माण गरिने र १ सय ३० परिवारलाई लालपुर्जा साक्षरता कार्यक्रम सञ्चालन गरिने छ।
५ भदौ, देउखुरी । दाङको गढवा गाउँपालिकाका अति विपन्न, असहाय र एकल महिलाले एक तले घर पाउने भएका छन् । यस सम्बन्धमा गढवा गाउँपालिका र ग्रामीण महिला उत्थान केन्द्र घोराहीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार गढवा गाउँपालिका भित्रका विभिन्न वडामा चारवटा घर निर्माण गरिनेछ । पहिलो चरणमा यही भदौ ८ गते आइतबार वडा नं. ४ निवासी एकल महिला प्रमिला चौधरीको घरको शिलान्यास गरिने गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।
सम्झौताअनुसार गढवा गाउँपालिकामा चारवटा र राजपुर गाउँपालिकामा तीनवटा गरी कुल सातवटा आवास निर्माण हुनेछन् ।
ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको परियोजना अन्तर्गत ४ लाख २५ हजार रुपैयाँ, गढवा गाउँपालिकाको कार्यालयबाट २ लाख बराबरको सामग्री र घरमुलीको जनश्रमदान गरी ६ लाख ७८ हजार रुपैयाँ बराबरको लागतमा एल आकारको एक तले निर्माण गरिने केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिइन् ।
त्यसैगरी, परियोजनामार्फत गढवा गाउँपालिका भित्रका १ सय ३० परिवारलाई लालपुर्जा प्राप्तिका लागि आवश्यक प्रक्रियाबारे साक्षरता अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।
सो कार्यक्रम गढवा र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरपालिकामा सञ्चालन गर्ने तयारी भएको पनि अध्यक्ष चौधरीले जानकारी दिइन् ।
प्रतिक्रिया 4