
News Summary
Generated by OK AI. Editorially reviewed.- गल्छी–त्रिशुली–स्याफ्रुबेसी–रसुवागढी सडक एक साताभित्र पुन: सञ्चालनमा ल्याउने तयारी थालिएको छ।
- २४ असार र १४ साउनमा आएको बाढीले सडकका विभिन्न स्थानमा क्षति पुर्याएको विभागले जनाएको छ।
- मेदामुदुङ, कुलुङ र तातोपानीमा नयाँ ट्र्याक खोलिएको छ भने टिमुरे र चेकपोस्टमा काम जारी छ।
६ भदौ, काठमाडौं । गल्छी–त्रिशुली–स्याफ्रुबेसी–रसुवागढी सडक एक साताभित्र पुन: सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
सडक विभागका अनुसार यो सडक एक साताभित्र खुलाउने तयारी सहित अहिले निर्माणको काम जारी छ । २४ असारमा आएको बाढीले यस सडक खण्डका विभिन्न स्थानमा क्षति पुर्याएको थियो ।
त्यस दिन १ हजार ३ सय मिटर सडक बगेको थियो । ४ साउनमा सडक सुचारु भएको थियो । १४ साउनमा आएको बाढीले थप ५ स्थानको ६ सय मिटर सडकमा पूर्णक्षति गरेको थियो । यसरी क्षति भएका स्थानमा मेदामुदुङ, कुलुङ, तातोपानी, टिमुरे र चेकपोस्ट छन् ।
विभागका अनुसार अहिले मेदामुदुङ, कुलुङ र तातोपानीमा नयाँ ट्र्याक खोलिएको छ । टिमुरे र चेकपोस्ट क्षेत्रमा कठिनाइ रहे पनि काम जारी रहेको विभागले जनाएको छ । टिमुरेमा ट्र्याक खन्ने क्रममा विभागको एस्काभेटर समेत पहिरोमा पुरिएको थियो । यसलाई ९ दिनपछि निकालिएको छ ।
अहिले पनि ३ सय मिटर सडक अवरुद्ध रहेको विभागको भनाइ छ । मौसमले साथ दिए एक साताभित्र यो सडक सञ्चालनमा आउने समेत विभागको भनाइ छ ।
बाढीका कारण रसुवागढी नाका ठप्प हुँदा नेपाल र चीनको व्यापार अवरुद्ध भएको छ । अहिले मितेरी पुलमा बेलिब्रिज बनाउने काम जारी छ । उक्त पुल चीनले बनाउन लागेको हो । त्यसपछि भने व्यापार पुन: सूचारु हुनेछ ।
सडक विभागका अनुसार मुख्य चाडबाड दशैं–तिहार अगाडि नै यो नाका पुन: सञ्चालनमा ल्याउने तयारी छ ।
प्रतिक्रिया 4