
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रले लिपुलेक विवादलाई प्रधानमन्त्रीको भारत र चीन भ्रमणमा प्राथमिकताका साथ उठाउनुपर्ने माग गरेको छ।
- माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इञ्चार्ज पोखरेलले भारत र चीनबीच लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने सहमति प्रति आपत्ति जनाउँदै कूटनीतिक पहल र वार्ता गर्नुपर्ने बताए।
- पोखरेलले सर्वदलीय सहमतिसहित राष्ट्रिय सहमतिमा कूटनीतिक पहल गरी वार्तामा बस्न नेपाल सरकारलाई अनुरोध गरेका छन्।
७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले लिपुलेकको विवादलाई प्रधानमन्त्रीको भारत र चीन भ्रमणमा प्राथमिकताका साथ उठाउनुपर्ने माग गरेको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेलले विज्ञप्ति जारी गर्दै भारत र चीनले दार्चुलाका भूभाग व्यापार मार्गका लागि प्रयोग गर्ने सहमति गरेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक पहलसहित वार्ता गर्नुपर्नेमा जोड दिएका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यी को भारत भ्रमणका दौरान भदौ ३ गते भारत र चीनले लिपुलेक पास, नाथुला पास प्रयोग गरेर सीमापार व्यापार गर्ने भन्दै दोस्रो पटक सहमति गरेकोप्रति माओवादी सुदूरपश्चिमले आपत्ति जनाएको छ ।
नेपाललाई वेवास्ता गर्दै भारत र चीनले लिपुलेक नाकालाई आपसी व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गर्नु नेपालको सार्वभौम सत्तामाथिको नाङ्गो हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको नक्सामा समेटिएपनि ती भूभाग अझै भारतकै नियन्त्रणमा रहेको भन्दै भूभाग फिर्ता ल्याउने उपाय कूटनीतिक वार्ता र छलफल नै भएको माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले बताएका छन् ।
‘ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाणहरूका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमणमा यस विषयलाई अवसरको रुपमा लिएर प्राथमिकताका साथ उठाउनु पर्दछ,’, विज्ञप्तिमा भनिएको छ ।
‘त्यसका लागि सर्वदलीय र सर्वपक्षीय सहमतिसहित सबैको म्यान्डेट लिएर राष्ट्रिय सहमतिका साथ कूटनीतिक पहलसहित वार्तामा बस्न नेपाल सरकारलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा छ ।
भारत र चीनबीच सम्बन्ध सुधारिनु स्वागतयोग्य भएपनि नेपालको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा आँच आउनेगरी गरिने सम्झौता स्वीकार्य नहुने भन्दै दुवै देशको ध्यानाकर्षण गराइएको माओवादी उपमहासचिव एवं सुदूरपश्चिम इञ्चार्ज पोखरेलले बताए ।
प्रतिक्रिया 4