
News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा ६९ वर्षीय फ्रेंक थम्पसनको अन्तिम संस्कारमा सुनको कफिनमा राखेर एक हप्तासम्म रोल्स रोयस कारमा शवयात्रा गरिएको थियो।
- थम्पसनको शवयात्रा नटिंघम र म्यानचेष्टर लगायतका स्थानमा गरिएको थियो जहाँ उनका व्यवसाय र परिवारजनका अन्त्येष्टि स्थल छन्।
- उनको अन्त्येष्टि स्थलमा मार्बलको विशाल समाधी स्मारक बनाइँदैछ जसको निर्माण पूरा हुन एक वर्ष लाग्ने बताइएको छ।
काठमाडौं । कतिपयको मरण र अन्त्येष्टि पनि निकै भव्य र आलिशान हुन्छ । हालै बेलायतमा एकजना व्यक्तिको मृत्युपछि उसको विदाइ यस्तो भव्य र विशेष भएको छ कि त्यसको चर्चा यत्रतत्र भइरहेको छ ।
परिवारजनले ती व्यक्तिको अन्तिम संस्कारका क्रममा रोल्स रोयस कारमा शवयात्रा निकाले र एक हप्तासम्म फरक–फरक ठाउँमा भ्रमण चलिरह्यो र अन्तिममा शवलाई सुनको बाकस (कफिन) भित्र राखेर गाडियो ।
डेलीस्टारका अनुसार बेलायती नागरिक ६९ वर्षीय फ्रेंक थम्पसनलाई उनका परिवारले शुद्ध तथा ठोस सुन निर्मित कफिनमा राखेर अन्त्येष्टि गरेका हुन् । साथै करोडौं पर्ने रोल्स रोयस कारमा उनको शवयात्रा एक हप्तासम्म चल्यो ।
त्यसक्रममा नटिंघम तथा म्यानचेष्टर लगायतका स्थानहरुमा उनको शवयात्रा गरिएको थियो । ती ठाउँमा फ्रेंकका व्यवसायहरु सञ्चालित छन् । साथै उनका आफन्त तथा परिवारजनको अन्त्येष्टि गरिएका अन्तिम संस्कारस्थलहरुको पनि भ्रमण गराइयो ।
थम्पसन फिरन्ते जिप्सी समुदायका एक प्रमुख व्यक्ति थिए । उनको अन्त्येष्टिका लागि सुनको कफिन खरीदका लागि उनका छोराले लाखौँ खर्च गरे भने अन्तिम विदाइका क्रममा करोडौँ खर्च भयो ।
त्यो सुनको कफिन बेलायत बाहिरबाट मगाइएको थियो र त्यो आइपुग्न कैयौँ दिन लागेको थियो । त्यसैले करीब एक महिनापछि मात्रै मृतक थम्पसनको अन्त्येष्टिको प्रक्रिया सुरु भएको थियो ।
थम्पसनका छोराले आफ्नो पिताको सम्मानका अगाडि पैसाको कुनै मूल्य नरहेको बताएका छन् ।
दक्षिण लण्डनस्थित उनको अन्त्येष्टि स्थलमा मार्बलको विशाल समाधी स्मारक बनाइँदैछ । यसको निर्माण सम्पन्न हुन एक वर्ष लाग्ने बताइएको छ ।
थम्पसनको मृत्यु गत जुलाई २ का दिन भएको थियो । अन्त्येष्टि भने जुलाई २३ मा मात्रै सुरु भएर जुलाई २९ मा सम्पन्न भयो ।
अहिले उनको शव राखिएको कफिनको चारैतर्फ मार्बलको विशाल स्मारक निर्माणको काम भइरहेको छ ।
–एजेन्सी
प्रतिक्रिया 4