+
+
Shares

सार्वजनिक भयो इन्द्रजात्राको साइत

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १४:४७
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ।
  • इन्द्रजात्राको वन यात्रा भाद्र शुक्ल द्वितीयादेखि सुरु भई १७ दिनसम्म विभिन्न कार्यक्रम हुनेछन्।
  • इन्द्रध्वजोत्थान भाद्र शुक्ल द्वादशी र लिङ्गो ढाल्ने साइत आश्विन कृष्ण चतुर्थीमा तय गरिएको छ।

९ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो ।

समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।

विगतमा समितिकै पदाधिकारीले प्रमाणित गरेर सम्बन्धित निकायलाई साइत पठाउने गरिएकामा यस वर्ष भने गत असार २३ गतेदेखि समिति पदाधिकारीविहीन भएकाले मन्त्रालयमा पठाइएको समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए ।

इन्द्रजात्राको साइतको कार्यक्रम आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा आज बिहान ०९ः४६ बजे वन यात्रा सुरु भएको हो । आज राति ०९ः०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गोको रूख काट्ने साइत छ ।

समितिले दिएको आज रातिको साइतमा काटिने लिङ्गो भदौ १५ गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइन्छ । इन्द्रजात्राको परम्परागत नियमअनुसार भोटाहिटीबाट अघि बढाउनुलाई ‘नगर प्रवेश’ भनिने गरेको उनले बताए ।

यही भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थानको साइत छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने शास्त्रीय विधि छ ।

इन्द्रजात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशी हो । यस दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत मुख्य व्यक्तिहरुले कुमारी इन्द्रयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ । यसै दिन तल्लो टोलमा यात्रा गराइन्छ ।

भदौ २२ गते आइतबार माथिल्लो टोल यात्रा गराइन्छ । यात्राका लागि साइतको आवश्यकता नपर्ने समितिले जनाएको छ ।

यही भदौ २६ गते बिहीबार नानिचा यात्रा गरिन्छ । त्यसै दिन राति १०ः३२ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने साइत रहेको छ । आश्विनकृष्ण चतुर्थीका दिन इन्द्रध्वज पातन गरिन्छ ।

इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुहुनेछ ।

भाद्र शुक्ल द्वितीयादेखि सुरु हुने इन्द्रजात्राको साइतका कार्यक्रम आश्विन कृष्ण चतुर्थीका दिन सकिन्छ । यसरी १७ दिनसम्म इन्द्रजात्राका विभिन्न गतिविधि हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?