
१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियताको विषयप्रति सरकारले अनिच्छाप्रति देखाएको आरोप लगाएको छ । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति नै निकालेर सरकारको व्यवहारले पार्टी सशंकित भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमार्फत रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न पनि माग गरेको छ ।
नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा रास्वपा हिमाल झै अडिग रहेको विज्ञप्तिमा छ । नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्ने पनि उल्लेख छ ।
‘अपितु, गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुन: खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ रास्वपाले भनेको छ ।
‘यस संवेदनशील विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने दायित्व नेपाल सरकारकै हो भन्नेमा रास्वपा दृढ भई संसदबाट तत्कालै रास्वपाले ध्यानाकर्षण गराएको पुन:स्मरण गराउन चाहन्छौं’ विज्ञप्तिमा उल्लेख छ, ‘यद्यपि, संसदमा हामीले उठाएको नक्सा र राष्ट्रियताको विषयप्रति सरकारले देखाएको अनिच्छाप्रति रास्वपा सशंकित बनेको छ ।’
देशभित्र उठेका सन्देह र प्रश्नहरूमा सरकारको तयारीबारेमा सार्वजनिक स्पष्टताका साथ प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न रास्वपाको माग गरेको छ ।
पार्टीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्ने उल्लेख गर्दै अगाडि भनिएको छ, ‘नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन ।’ यस विपरितका कार्य हुन्छन् भने तिनले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरीत भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट रहेको भनिएको छ ।
विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । यस विषयमा सरकारलाई आवश्यक पर्ने सहयोग गर्न रास्वपा तयार रहेको प्रतिबद्धता जनाइएको छ ।
प्रतिक्रिया 4