
११ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलस्रोतमा नेपालमा २० वर्षदेखि एउटै नीति रहेकोले आज नेपाल लोडसेडिङ मुक्त भएको जिकिर गरे ।
‘प्रश्न उठ्ने गर्दछ, नेपालमा नीतिगत निरन्तरता छैन भनेर तर एउटै क्षेत्र हो, ऊर्जा क्षेत्र, खासगरी जलविद्युतको क्षेत्रमा, नविकरणीय ऊर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ’ उनले भने, ‘झन्डै दुई दशकदेखि एउटै नीति छ ।’
उनले थपे, ‘नीतिगत निरन्तरताकै परिणाम कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, त्यो अन्त्य भयो । छिमेकमा निर्यात गर्दै आएका थियौँ । अहिले हामी ऊर्जा क्षेत्रमा आत्मनिर्भर भएका छौँ ।’
यसअघि ऊर्जा र अर्थ मन्त्रालय सम्हालिसकेका नेता पुनले नेपालमा नदी प्रवाहित आयोजनाहरू बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि बताए ।
‘हाम्रा नदी प्रवाहित आयोजनाहरु बढी छन् । अहिले पनि हामी हिउँदमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । कुनै न कुनै किसिमले हामीले जलाशययुक्त आयोजनामा जानुपर्ने हुन्छ,’ उनले भने ।
उपमहासचिव पुनले उत्पादित विद्युत बिक्रीको लागि बजारको समस्या नरहेको बताए ।
प्रतिक्रिया 4