
News Summary
Generated by OK AI. Editorially reviewed.- टेलर स्विफ्ट र ट्राभिस केल्सीले सामाजिक सञ्जालमा रमाइलो क्याप्सनसहित इन्गेजमेन्टका पाँच तस्वीर शेयर गरी औपचारिक रूपमा सम्बन्ध घोषणा गरेका छन्।
- टेलर स्विफ्टले टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा केल्सीको फोन नम्बर लेखिएको ब्रेसलेटले आफ्नो ध्यान तानेको र यो ८० को दशकको जोन ह्युज फिल्म जस्तो लागेको बताएकी छिन्।
- टेलर स्विफ्ट र ट्राभिस केल्सीको सम्बन्ध २०२३ को जुलाईमा सुरु भएको थियो र उनीहरूले दुई वर्षसम्म गोप्य रूपमा भेटघाट गर्दै आएका थिए।
जुलाई २०२३ को कुरा हो, ट्राभिस केल्सी कान्सास सिटीमा भइरहेको टेलर स्विफ्टको ‘द इरास टुर’ कन्सर्ट हेर्न गएका थिए ।
स्विफ्टियाना (स्विफ्टका प्रशंसक)हरूमा एउटा चलन छ– उनीहरू एकअर्कालाई ‘फ्रेन्डसिप ब्रेसलेट’ दिन्छन् । त्यसमा गीतका बोल, एल्बमका नाम वा रमाइला सन्देशहरू लेखिएका हुन्छन् ।
केल्सीले पनि त्यो परम्परालाई पछ्याए, तर आफ्नै तरिकाले । त्यसका लागि उनले एउटा ब्रेसलेट बनाएका थिए, जसमा गीतका बोलहरू अथवा भावुक शब्दहरू नलेखेर आफ्नो फोन नम्बर लेखेका थिए । अनि त्यो ब्रेसलेट सोझै स्विफ्टलाई दिने उनको योजना थियो।
कन्सर्ट सकियो । स्विफ्टलाई भेट्न केल्सी ब्याकस्टेज गए । उनलाई लागेको थियो- स्टेडियममा लिफ्ट चलाउने महिलालाई चिनेका कारण आफू सजिलै स्विफ्टसम्म पुग्न सक्छु । तर त्यस्तो भएन ।
स्विफ्टको सुरक्षा व्यवस्था निकै कडा थियो । केल्सी स्विफ्टसम्म पुग्न सकेनन् ।
उक्त असफल प्रयासले केल्सी अलिकता दु:खी भए ।
000
त्यसको केही समय पछि न्यू हाइट्स नामक आफ्नो पोडकास्टमा केल्सीले उक्त कुरा उप्काए । आफ्नो भाइ जेसनसँग मिलेर चलाउँदै आइरहेको त्यस पोडकास्टमा उनले स्विफ्टलाई भेट्न नपाउँदा आफू निराश भएको सुनाए । केल्सीको त्यही खुलासाले पोडकास्टको त्यो एपिसोड रेकर्ड तोडिने गरी १ करोडभन्दा बढी पटक हेरिएको थियो । क्लिप भाइरल भएको थियो ।
यता केल्सीको त्यो कुरा कुनै माध्यममार्फत स्विफ्टको कानसम्म पुग्यो ।
एउटा स्टारले अर्को स्टारलाई भेट्न गरेको असफल प्रयास आफैंमा रोमाञ्चक थियो । जुन कुरा स्विफ्टलाई पनि रमाइलो लाग्यो । पछि स्विफ्टले एक अन्तर्वार्तामा केल्सीको उक्त कदम किशोरावस्थामा कल्पना गरेका प्रेम कथाहरू जस्तै भएको बताएकी छिन् ।
सरल भाषामा भन्दा केल्सीको कदमले स्विफ्टको ध्यान तान्यो । र, उनले केल्सीलाई आफैंले सम्पर्क गरिन् ।
स्विफ्टले यो कुरा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा बताएकी छिन् । उनले केल्सीको त्यो कदम ८० को दशकको जोन ह्युज फिल्म जस्तो लागेको सुनाएकी छिन् ।
फिल्ममा प्रेमीले आफ्नो प्रेमिकाको झ्यालबाहिर बक्स बजाएर प्रेम व्यक्त गरेको दृश्य छ ।
000
त्यस घटनापछि उनीहरूबीच कुरा हुन थाल्यो । चाँडै उनीहरू मित्रता र प्रेम सम्बन्धमा बाँधिए । यसरी केल्सीले ब्रेसलेट दिन गरेको असफल प्रयास नै उनीहरूको प्रेम कहानीको सुरुवात बन्न पुग्यो ।
तर सुरुका दिनमा उनीहरूले आफ्नो सम्बन्ध गोप्य राखेका थिए । एक महिनासम्म त उनीहरूले गोप्य रूपमा भेटेका थिए । यद्यपि त्यो सम्बन्धबारे विगत दुई वर्षदेखि नै हल्ला र अनुमान चल्न भने थालिसकेको थियो ।
किनकि यता टेलर स्विफ्ट यस युगकी प्रखर आवाज । विश्वकै सबैभन्दा ठूलोमध्येको पर्सनल ब्रान्ड । उता ट्राभिस केल्सी अमेरिकन फुटबल स्टार । समग्रमा दुवै सेलिब्रेटी । उनीहरूले सम्बन्धलाई जतिसुकै गोप्य राख्न प्रयास गरेता पनि सार्वजनिक भइहाल्ने ।
बरु बिस्तारै उनीहरू खुलेरै बाहिर देखिन थाले ।
त्यसको सुरुआत सन् २०२४ को अमेरिकन फुटबल सिजन सुरु हुँदा देखि भएको थियो ।
त्यसबेला केल्सीको टोली कान्सास सिटी चिब्सको खेलहरूलाई स्विफ्टले चासोका साथ हेरेकी थिइन् । सेप्टेम्बरमा उनी चिब्सको गृह मैदान एरोहेड स्टेडियममा केल्सीकी आमा डोनासँग भीआईपी बक्समासँगै देखिएकी थिइन् ।
सम्भवत: त्यो उनीहरूको पहिलो सार्वजनिक भेट थियो । किनकि त्यो खबर इन्टरनेटमा आगोसरी फैलिएको थियो । अनि सेप्टेम्बरमै एमटीभी अवार्ड लिँदा स्विफ्टले ‘मेरो प्रेमी, ट्राभिस’ समेत भनेकी थिइन् । त्यो आफैंमा उनीहरूको सम्बन्धको प्रमाण थियो ।
त्यो बाहेक चिब्सको हरेक जसो खेलहरूमा स्विफ्ट उपस्थित भइरहेकी थिइन् । कहिले एक्लै त कहिले आफ्ना सेलिब्रेटी साथीहरूसँग । त्यसले गर्दा प्रशंसक तथा मिडियालाई उनीहरूबिच प्रेम सम्बन्ध सुरु भएको शंका गर्ने ठाउँ दियो ।
त्यसमा थप बल पुर्याउन एकपछिका अर्का घटनाहरू महत्त्वपूर्ण हुँदै गए ।
जस्तो: अक्टोबरमा भएको ‘स्याटर्डे नाइट लाइभ’मा उनीहरू सँगै उपस्थित भएका थिए । ‘कोचेला’ आफ्टरपार्टी र युएस ओपन टेनिस म्याचजस्ता कार्यक्रमहरूमा पनि सँगै देखिएका थिए । र, २०२४ को फेब्रुअरीमा चिब्सले सुपर बाउल जित्दा त केल्सी र स्विफ्टले सार्वजनिक रूपमै एक-अर्कालाई अँगालो हालेका थिए । चुम्बन गरेका थिए ।
एक अर्थमा त्यो क्षण उनीहरूको सम्बन्धको आधिकारिक सार्वजनिक घोषणाजस्तै थियो । तर दुवैले सम्बन्धलाई लिएर सार्वजनिक टिप्पणी दिएका थिएनन् ।
बरू एकअले अर्काको करियरलाई गोप्य रुपमा समर्थन गरिरहेका थिए । स्विफ्ट केल्सीको खेलहरूमा समर्थन गर्न गइरहिन् । र, केल्सी पनि स्विफ्टको ‘इरास टुर’ को कन्सर्टहरूमा देखा परिरहे । जस्तो: जून २०२४ मा लन्डनको वेम्बली स्टेडियममा केल्सीले ह्याट लगाएर स्विफ्टलाई बोकेर स्टेजमा नै लगेका थिए ।
यो सम्बन्धलाई अझै आधिकारिता दिएको भने यस अगस्ट महिनामा स्विफ्ट केल्सी दाजुभाइको पोडकास्टमा देखिँदा हो । त्यस पोडकास्टमा स्विफ्ट केल्सीसँगै बसेकी छिन् ।
त्यो बाहेक उनीहरूलाई बुझ्न उक्त पोडकास्ट धेरै सहयोगी पनि साबित भयो ।
एक त पोडकास्टमार्फत नै स्विफ्टले आफ्नो १२औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ घोषणा गरिन् । अर्को, केल्सीसँगको आफ्नो सम्बन्ध र व्यक्तिगत जीवनबारे स्विफ्टले धेरै कुराहरू शेयर गरिन् । उनीहरूको भेट, डेट आदिबारे बताइन् ।
जस्तो: स्विफ्टले सुरुमा आफूलाई फुटबलबारे केही थाहा नभएको र पछि थाहा हुँदै गएको र अहिले त फुटबलको टूलो प्रशंसक बनेको बताएकी छिन् । अनि केल्सीसँगको सम्बन्धले स्विफ्टलाई साधारण स्विफ्टको रूपमा बाँच्न सिकाएको, रोटी बनाउने जस्ता साना-साना खुसीहरूमा रमाउन सिकाएको बताएकी छिन् ।
तर अझैं पनि उनीहरूले आफ्नो सम्बन्धको औपचारिक घोषणा गरिसकेका थिएनन् ।
बल्ल आज सामाजिक सञ्जालमा रमाइलो क्याप्सन सहित इन्गेजमेन्टका पाँच तस्वीर शेयर गर्दै दुवैले आफूहरू सम्बन्धमा रहेको औपचारिक जानकारी दिएका छन् । र, इन्जेगमेन्ट गरेका छन् ।
यसले फेरि एक पटक इन्टरनेटमा आगो लगाइरहेको छ ।
प्रतिक्रिया 4