
१८ भदौ, विराटनगर । लोपोन्मुख आदिवासी सन्थाल समुदायमा जन्मिएका विश्वदीप बेस्राले सम्पन्न वर्गले आफ्नो समुदायमाथि गरेको थिचोमिचो देखे ।
बोलिदिने मान्छे कोही नहुँदा सन्थाल समुदायले अन्याय भोग्नुपरेको भन्ने उनलाई लागेको थियो र बाल्यकालदेखि नै मनमा एकप्रकारको इख पलाएको थियो ।
समुदाय र समाजमा व्याप्त अन्यायविरुद्ध बोल्नुपर्छ भन्ने लागेर विश्वदीपले कानुन विषय रोजे । कानुन पढ्दै गर्दा सोचेका थिए, अधिवक्ता भएर लोपोन्मुख र पिछडिएको वर्गका लागि बोल्छु । तर उनी बोल्ने ठाउँमा होइन, न्याय दिने ठाउँमा पुगेका छन् ।
कानुन सेवाबाट सरकारी सेवा प्रवेश गरेका विश्वदीप अहिले जिल्ला न्यायाधीश बनेका छन् । मंगलबार उनी जिल्ला अदालत रौतहटको न्यायधीश सिफारिस भएका हुन् ।
विश्वदीप सन्थाल समुदायबाट न्यायाधीश बन्ने पहिलो व्यक्ति हुन् । उपसचिवबाट न्यायाधीश सिफारिस भएका उनी उपसचिव पनि सन्थाल समुदायबाट पहिलो नै हुन् ।
‘कानुन विषय पढ्न सुरु गरेपछि कुनैबेला न्यायधीश पनि भइन्छ भन्ने लागेको थियो । कानुन विषय पढ्नुभन्दा अगाडि त त्यो कल्पना गरिएको थिएन,’ न्यायाधीश सिफारिस भएपछि विश्वदीपले भने, ‘कानुन विषय पढ्न सुरु गरेपछि कि त वकालत गर्नुपर्छ कि त न्यायाधीश बनिन्छ भन्ने एउटा कल्पना चाहिँ थियो ।’
आफू न्यायाधीश सिफासिर हुनुलाई उनी गणतान्त्रिक नेपालको एउटा उपलब्धि ठान्छन् । राज्यले सबै समुदायलाई समान अवसर दिने नीति लिएका कारण आफूले अवसर पाएको उनको बुझाइ छ । आफ्नो नाम सिफारिसले अन्य पिछडिएको समुदायलाई पनि पढ्नुपर्छ भन्ने प्रेरणा मिलेको विश्वदीपको विश्वास छ ।
‘हामी त आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक रूपमा पछाडिएको समुदाय । त्यो समुदायमा हिजो अत्याचार हुन्थ्यो, अहिलेको गणतान्त्रिक सरकारले सबै समुदायलाई विस्तारै राज्यको मुलधारमा ल्याउने प्रयास गरिरहेको छ । त्यसैको परिणाम आज म न्यायधीशसम्म पुगेको छु,’ उनले भने, ‘म एकदमै खुसी छु, यसले धेरै मान्छेलाई प्रोत्साहित गर्छ ।’
विश्वदीपले बाल्यकालमा सन्थाल समुदायको जग्गा अरूले हडपेको देखेका थिए । समुदायमथि थिचोमिचो भएको देखेका थिए । समुदायको जग्गा जालझेल गरी हडपेको देखेपछि उनले कानुन विषय पढ्ने सोचेका थिए ।
‘त्यसबेला न्याय दिलाउनका लागि वकालत गर्नुपर्छ भन्ने भयो । त्यहीँ हिसाबले कानुन पढ्दै अगाडि बढियो र न्याय सेवा खुलेपछि २०७२ सालमा सेवामा प्रवेश गरेँ,’ उनले भने ।
विश्वदीपले पहिलो प्रयासमै न्याय सेवाको अधिकृतमा नाम निकाले । २०७२ सालमा अधिकृत बनेका उनी २०७७ सालमा उपसचिव भए । अनि, २०८२ सालमा न्यायाधीश ।
२०४१ सालमा जन्मिएका विश्वदीपको बाल्यकाल अभावमा बित्यो । बुबा शिक्षक भएका कारण छोरालाई पढाए । विश्वदीपले पनि पढेर बुबालाई खुसी बनाए । उनको गाउँमा विद्यालय जानेको संख्या थोरै थियो । थोरैमध्ये उनी नियमित थिए ।
विश्वदीपका अनुसार परिवारको चाहना विज्ञान पढेर छोरा डाक्टर या इन्जिनियर बनोस् भन्ने थियो । उनले भद्रपुरको मेची क्याम्पसमा विज्ञान विषय पनि पढे । विज्ञान विषय छाडेर २०५९ सालमा ‘काठमाडौं स्कुल अफ ल’ मा कानुन पढे । उनी भन्छन्, ‘साइन्स पढ्दापढ्दै ल (कानुन) तर्फ लागें ।’
छात्रवृत्तिमा विश्वदीपले पाँच वर्ष लगाएर एलएलबी उत्तीर्ण गरे प्रथम श्रेणीमा । त्यसपछि केही समय काम गरे । त्यसपछि लोकसेवाले आकर्षित गर्यो । अनि, लोकसेवाको तयारी गरे । र, २०७२ मा पहिलो प्रयासमै कानुन सेवातर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल भए ।
उनको पहिलो पोस्टिङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा थियो । त्यसपछि २०७७ मा उपसचिवमा बढुवा भए ।
उपसचिव भएपछि सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा काम गरे । उनले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि काम गरेका थिए । हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत छन् ।
सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका विश्वदीप आफ्नो जिम्मेवारी कुशल ढंगले पूरा गर्ने बताउँछन् ।
प्रतिक्रिया 4