+
+
Shares

वसन्तपुरमा इन्द्रजात्राको तयारी पूरा, भोलि लिङ्गो ठड्याइने (तस्वीरहरू)

भोलि भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइनेछ। त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ भदौ १८ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी पूरा भएको छ र रथ निर्माण, सरसफाइ, रङरोगन गरिएको छ।
  • भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइनेछ।
  • इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ र आठौं दिन आश्विन कृष्ण चौथीमा 'इन्द्रध्वज पातन' गर्ने विधान छ।

१८ भदौ, काठमाडौं। वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी पूरा भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्राका लागि रथ निर्माण, सरसफाइ गरिएको हो ।

दरवार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम भएको छ ।

भोलि भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइनेछ। त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।

नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान छ ।

हेर्नुहोस् थप तस्वीरहरू:

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?