
२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैंले गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका बेला भने उनी देखिएनन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले प्रधानमन्त्री ओलीको स्वागत गरेका हुन् ।
गत वर्षको इन्द्रजात्रामा अनुपस्थित भएका मेयर शाह यसपटक भने बसन्तपुुर पुगेका थिए ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।
उपत्यकाबासीले विशेष महत्व दिएर मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम गर्दै आएको छ ।
इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थहरूको सहभागिता हुने गर्दछ । आयोजकका हिसाबले काठमाडौं महानगरका मेयर र उपमेयरले उनीहरूको स्वागत गर्ने गर्दछन् । तर, शनिबार मेयर राष्ट्रपति पाैडेललाई स्वागत गरेर उनीसँगै मञ्चतर्फ अघि बढे ।
प्रधानमन्त्री ओलीसँगको मनमुटावका कारण मेयर शाह स्वागतमा अनुपस्थित भएको देखिन्छ । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई कार्य क्षमतामा प्रश्न उठाउँदै अर्को कर्मचारी पठाउन संघ सरकारसँग मेयर शाहले माग गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीकै कारण अर्को कर्मचारी नपठाइएको भन्दै मेयर शाहले आलोचना गरेका थिए । गत वर्ष पनि ओलीसँगको खटपटका कारण मेयर शाह इन्द्रजात्राको कार्यक्रम छल्न भारत भ्रमणमा गएका थिए ।
प्रतिक्रिया 4