
२१ भदौ, काठमाडौं । नेवार समुदायले मनाउने इन्द्रजात्रा काठमाडौंको वसन्तपुरमा जात्रासहित मनाइएको छ । इन्द्रदेवको पूजा आराधनासहित शनिबार विशेष कार्यक्रमका बीच वसन्तपुरमा इन्द्रजात्रा मनाइएको हो ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।
जसलाई आजको दिन मुख्य रुपमा मनाइने गरिएको छ ।
इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
सो अवसरमा काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष विशेष कायक्रम आयोजना गर्ने गरेको छ ।
इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली उच्च पदस्थहरू वसन्तपुर पुगेका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैंले गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका बेला भने उनी देखिएनन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले प्रधानमन्त्री ओलीको स्वागत गरे ।
यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।
प्रतिक्रिया 4