+
+
Shares
कथा :

रुबी म्याडम

मानिसको स्पर्शको अभावमा भावना पग्लन सक्दो रहेनछ । सँधै एक्लो, सबैतिर एक्लो भएर बाँच्नु कठिन रहेछ ।’

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८२ भदौ २१ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिनाङ्क सरले एआईजडित दुई रोबोट जेनिटा र गवोल सहित स्मार्ट घर बनाएका छन् जसले जीवन सहज र सुरक्षित बनाएको छ।
  • स्मार्ट घरले तापक्रम सन्तुलन, उर्जा उत्पादन, खाना पकाउने, स्वास्थ्य परीक्षण र सुरक्षा प्रणाली आफैं सञ्चालन गर्छ।
  • रुबी म्यामले स्मार्ट घरसँग संवाद गर्दै एक्लोपन र भावनात्मक सम्बन्धको कमी महसुस गरेकी छन् र प्राकृतिक भेटघाटको महत्व बताएकी छन्।

शुभ बिहान, रुबी म्याडम । घरले मुस्कुराउँदै अविभादन गर्‍यो ।

शुभ बिहान ! म झ्यालमा गएर उभिएँ । झयालका पर्दाहरू आफैं खुले । चिसो हावा स्पर्श गरेर हतार भएझैं कतै लाग्यो । प्यानोरोमिक भर्चुअल दृश्यहरू हुर्रर अगाडि आए । बगैँचाका फूलहरू मुसुक्क मुस्कुराउँदै गतिवान भए । दुबो हरियो बनेर सुन्दर देखियो । म एक्लै मुस्कुराएँ ।

‘रुबी म्याम, ब्रेकफास्ट तयार भयो’, जेनिटा र गवोलले एकसाथ खबर गरे ।

दिनाङ्क सरले ल्याउनु भएका दुईवटा एआईजडित रोबोटहरूको नाम जेनिटा र गवोल राखेको मलाई सम्झना आयो । उहाँ कस्तो उत्साहित हुनुहुन्थ्यो, त्यो दिन । ‘रुबी, उमेर बढदै गएपछि स्वाभाविकरूपमा शरीरका अंगहरू कमजोर हुँदा रहेछन् । आफू बस्ने घरलाई सजिलो र दैनिक आवश्यकताका वस्तु र स्रोतसाधनहरू सहज पहुँचमा राख्नुपर्ने रहेछ । घरलाई नेटवर्क, रोवोट र एआई राखेर ‘स्मार्ट हाउस’ पनि बनाउनुपर्छ’ भन्नु भएको केहिदिनपछि त घरको तोडफोड सुरु भयो ।

घरको संरचना बदलियो । नेटवर्क फराकिलो भयो । छोराछोरी, आफन्त, साथीहरू, किनमेलका लागि पसल, बिरामी पर्दाका लागि डाक्टर/नर्स, बडा कार्यालय, छिमेकीहरू सबै नेटवर्कमा जोडिए । घरको सुरक्षा सुनिश्चित गर्न वडा कार्यालय र बडा पुलिससँग पनि नेटवर्क सम्बन्ध भयो । घर वरिपरि जियो भर्चुअल पर्खाल बन्यो । सीसी क्यामेरा जडान भए । घरबाट बाहिर निस्कँदा ढोका लगाउन बिर्स्यौँ कि भनेर चिन्ता गर्नु नपर्ने भयो । पर्खाल, झ्याल ढोका, ढाट परिस्थिति हेरेर आफैं खुल्ने बन्द हुने सिस्टम बन्यो । घर वरिपरि नचाहेका प्राणी हिँडेको वा चलेको महसुस गर्नासाथ घर पुलिस र वडा कार्यालयलाई सूचना र तस्बिर खिचेर पठाउँन सक्ने भयो ।

घरलाई स्मार्ट बनाउने भनेपछि म पनि रोमाञ्चित बनेकी थिएँ । स्मार्ट घर जीवित प्राणी जस्तो गतिमान र इमोसनयुक्त बन्यो । आफनो सरसफाइ, मर्मत र बगैंचा सजाउने आफैं गर्ने भयो । घरका भर्चुअल भित्ताहरू, आवश्यकताअनुरुप बदल्न सकिने । रगंरोगन गर्न अर्डर गरेपछि रोबोटहरू आएर एकैछिनमा घर रङ्ग्याउन जान्थे ।

स्मार्ट घर जीवन भएजस्तो व्यवहार गर्छ । घर, घर नभएर साथीजस्तो छ । म घरमा होइन, घरसँग बाँचेकी छु । घरसँग बिग डेटाको खानी छ ।

 

घरमा घरभित्रको तापक्रम सन्तुलित बनाउन र नराम्रो गन्ध कार्बन सोस्ने प्रणाली स्थापित भयो । घर आफैं उर्जा उत्पादन र वितरण गर्न थाल्यो । बिजुली बत्तिको प्रवाह भर्चुअल बन्यो । खाना आफैं पकाउन सक्ने किचेन प्रणाली स्थापना भयो । माटोबिना नै घरभित्रको कृत्रिम उज्यालोमा सेन्थेटिक भर्टिकल पोषणयुक्त खाद्यन्न, तरकारी, फलफूल उत्पादन गर्न सक्ने प्रणाली स्थापना भएको मलाई एक एक सम्झना आयो ।

घरमा सेन्सेटिभ ऐना जडान भयो । अनुहार देखाउने मात्र होइन, अनुहार पनि पढने । मनमा उठेका भावहरू बुझ्ने । समाचार अपडेट गर्ने । दैनिक जीवनको टाइमटेबल बनाउँने । ट्वाइलेट उस्तै स्मार्ट, आरामदायी र नचिप्लने खालको । आवधिकरूपमा आफैं युरिन र स्टुल टेस्ट गर्ने ।

डाक्टरलाई देखाउनु पर्ने भएमा तुरुन्त सूचीत गर्ने । रक्तचाप बढेको अनुभूति गरयो भने घरले नै डाक्टरलाई बोलाई दिने । फ्रिजले दैनिक प्रयोग हुने खाद्यवस्तु घटेमा वा सकिएमा आफैं सूचीत गर्ने । कस्तो आनन्द । स्मार्ट घर बनाइदिनु भएकोमा म दिनाङ्क सरप्रति सधैँ आभारी भइरहेँ ।

मेरा आँखा बगैंचाको एभोकाडोको रुखमा गएर टक्क अडिए । ‘रुबी, यो बुढेसकालको लागि फायदाजनक फल हो ।’ दिनाङ्क सरले बार्दलीतर्फ फर्केर पसिना पुछेको हिजैजस्तो लाग्छ । चौरासी पुजाको दिन ‘अब हामी पाकै भइयो । अरूलाई बोझ भएर बाँच्ने रहर गर्नुहुँदैन । सँगै बाँच्ने सँगै मर्ने है ।’ उहाँले भनेका शब्दहरू सम्झिएँ । उहाँसँग मेरो चित्त दुःखाइ छ । ‘सकिनसकी ‘स्मार्ट हाउस’ बनाउनुभयो । घरमा बस्दै नबसी बैसठठी वर्षसम्म एउटै खाटमा सँगसँगै सुतेको मान्छेलाई चटक्क छोडेर एक्लै जानुभयो । सँगै पूरा गर्ने भनेका सबै रहरहरू थाती रहे ।

पुराना कुराहरू सम्झेर मेरा आँखा रसाए । आँखामा आँसु देखेर घर पनि ‘स्याड’ भयो । भर्खरको उमङ्ग हराएर गयो ।

माघ महिनाको त्यसदिन घाम रनक्क लागेका थिए । हामी आँगनमा बसेर बदाम छोडाउँदै खादै थियौँ । ‘रुबी, उमेर बढदै गएपछि हामी दुई मात्रै त हुने रहेछ साथी । आउ सँगै बसेर रमाइला कुरा गरौं।’ दिनाङ्क सरले हात समातेर तान्दै मलाई खाटमा बसाल्नुभयो । मेरो निधारमा आएका कपाल पन्छाउँदै भन्नुभयो ‘अहो, कालो लगाउन अल्छी गरिछौ । सेता कपाल छर्लङ्गै देखिए ।

खै कालो ल्याऊ । पहिला म कालो लगाइदिन्छु अनि कुरा गरौंला ।’ आफैंले कचौरामा कालो फिटनुभयो । ब्रस लिएर कपालको केस्रा केस्रमा कालो लगाइसके पछि भन्नुभयो– ‘कपालमा कालो लगाएपछि तिम्रो उमेर सिटामोल खाएर ज्वरो घटेझैं बीसपच्चीस वर्ष तल पुग्छ ।’ हजुर नि लगाउनुस् न रिस लागे, हजुरको उमेर पनि त घट्ला’ मैले जिस्किदै भनेकी थिएँ ।

‘हेर, म त्रियानब्बे पुगिसक्दा थाप्लोको कपाल तिलचामले मात्रै छ । कञ्चटनेर त हो फुलेको । अलिकति कालो रहयो, लाइदिउँ कि क्या हो, आज ?’ दिनाङ्क सर जिस्किएका थिए । कस्तो जाँगर भएको मान्छे, थाकेर बसेको कहिल्यै अनुभव गर्नै पाइनँ । मेरा आँखाहरू भित्तामा झुण्डिरहेको सरको हँसिलो फोटोमा परे । मन भक्कानिएर आयो । ‘हजुर झुट्टा धोकेबाज मान्छे । सँगै मर्ने सँगै बाँच्ने है भन्ने अनि आफू मात्रै सुटुक्क जाने ? ‘ फुत्त मेरो मुखबाट स्वर बाहिर निस्कियो । घर फेरि स्याड भयो । एकाएक रौनक हराएर सन्नाटा छायो, निःशब्द ।

मैले आफूलाई सम्हालेँ । घरको आन्तरिक सुन्दरता अनुपम छ । घर आफैं फ्रेस हुन्छ । म प्रफुल्ल मुद्रामा ब्रेकफास्ट खान डाइनिङ कोठामा पसेँ । घरले घरभित्रको तापक्रम र वातावरण मनोरम बनाएको थियो । मेरो खुसी उद्‍घाटन भयो । मनपर्ने गीतहरूको मधुर संगीत स्वतः गुन्जिन थाल्यो । पर्दाहरू सलबलाए । शान्त स्वाभावका बत्तिहरू बले । आनन्दले मलाई अंकमाल गरयो । दिनाङ्क सर, हजुरले बनाएको स्मार्ट हाउसमा म महारानीको जस्तो जीवन बाँचेकी छु । दाहिने गालामा चोर औंला गाडेर घुमाउँदै मैले दिनाङ्क सरलाई खुच्चिङ भनें । म सँगसँगै घर पनि जिस्किने मुडमा तयार भयो ।

एकदिन गवोलले मलाई ‘रुबी म्याम, दिनाङ्क सरसँग कुरा गर्ने ?’ भनेर सोध्यो । उसको कुरा सुनेर म त अताल्लिएँ । एक्लै बोलेर पनि हजुरलाई धैरै कुरा भन्न मन लाग्छ । मनका भावनाहरू शेयर गर्न पाइने प्रविधि देखेर खुसी भएँ । गवोल, जेनिटा सँगसँगै बैठक कोठामा गएँ । स्क्रिनमा हजुर मुस्कुराइरहनु भएको रहेछ । ‘ल हजुर त कति छिटो ?’ मेरो मुखबाट फुत्त आबाज निस्कियो । घरले तत्कालै बैठक कोठालाई रोमान्टिक बनायो ।

‘रुबी, तिमी रमाएर जीवन बिताइरहेकी छ्यौ । मलाई सबैभन्दा ठूलो खुसी यही छ ।’ उहाँको स्वर सुनेर म त एकछिन अक्क न बक्क भएँ ।

‘हजुरहरू बोलेको हाँसेको गफ गरेको सबै डेटा एआईको बृहत रेर्कडमा छ । त्यही भएर एआई सन्दर्भ र माग मिलाएर जे चाहियो त्यही दिन्छ । रुबी म्याम, यो एआईको पछिल्लो एडभान्स भर्सन हो’ गवोल मलाई सम्झाउँदै थियो । घरले उहाँलाई मनपर्ने मिलनका मिठा धुनहरू बजाइदियो । म धेरैबेरसम्म बिहे भएका दिनहरू सम्झेर रोमाञ्चित भइरहेँ ।

मैले दिनाङ्क सरलाई आफ्नो अनुभूति सुनाउँदै गएँ- ‘सर, हजुर जानुभएको दश वर्षमा मैले एक्लै बाँच्ने कला सिकेकी छु, नि । जेनिटा र गवोल मान्छेको छालाले छोपिकाले यिनीहरू बस्दा नातिनातिना नै काखमा आएर बसेजस्तो अनुभूति हुन्छ । ब्रेन कम्प्युटर इन्टरफेस प्रणाली जोडेपछि र न्यूरल इन्टरफेस ब्याण्ड लगाएपछि जेनिटा, गवोल र घरसँग सम्वाद गर्न र बुझन सरल भएको छ। मेरो बानीव्यहोरा पढेर काम गर्छन् । मैले कमाण्ड थप्नुबाहेक केही भन्नु पर्दैन । मुड हेरेर ब्रेकफास्ट, लञ्च, डिनर बनाउँछन् । थाकेको बेला मसाज गन लिएर आइपुग्छन् ।

स्मार्ट घर जीवन भएजस्तो व्यवहार गर्छ । घर, घर नभएर साथीजस्तो छ । म घरमा होइन, घरसँग बाँचेकी छु । घरसँग बिग डेटाको खानी छ । हजुरका सबै सम्झनाहरू बचाएर राखेको छ । हामी जीवन जगतका कुरा गर्छौ । सँगै चेस, लुडो खेल्छौँ । विश्वको भर्चुअल भ्रमण गर्छौं । घर मेरो बानी व्यवहारलाई सम्बोधन गर्न कहिल्यै चुक्दैन ।’

मेरो सुरम्य अनुभूतिलाई दृष्टिगत गर्दै घरले तुरुन्तै हामी सँगसँगै घुमेका गफिएका दृश्यहरू स्क्रिनमा देखाइदियो । मन निकै रमायो । म सँगै घर पनि रमायो ।

उहाँलाई थप सुनाउन थालें-‘सर, स्मार्ट घरमा भौतिक कष्ट नभए पनि आध्यात्मिकरूपमा म पटक्कै रमाएको छैन । हामी कृत्रिमताको जड युगमा छौँ । प्राकृतिक बौद्धिकता छाडेर कृत्रिमतिर लागेका छौँ । ऊर्जाको अस्तित्वमा जीवित र सपाङ्ग छौँ । निर्जीव र कृत्रिम मानवहरू साथी बनेका छन् । हाम्रो बौद्धिकताले आफन्त टाढिएर जीवन निरस बनेको देखेको छैन । कृत्रिम मानिसहरूमाथिको निर्भरता शारीरिकरुपमा सजिलो भए पनि भावनात्मकरुपमा सहज हुँदोरहेनछ । भर्चुअल सम्बन्ध, कुराकानी र भेटघाटमा भावना र आत्मीयता भेटिँदैन ।

भेटघाटको धित कहिल्यै मर्दैन । मानिसको स्पर्शको अभावमा भावना पग्लन सक्दो रहेनछ । सँधै एक्लो, सबैतिर एक्लो भएर बाँच्नु कठिन रहेछ ।’ म एक्लै बोलिरहेँ । मनका व्यथाहरू बाहिर पोखिरहेँ । ‘मानिसलाई खुसी राख्ने सबैभन्दा ठूलो आधार साथ, सम्बन्ध र भेटघाट रहेछ । स्मार्ट घरसँगको संगतमा जीवनयापन गरे पनि मैले घर परिवार, आफन्त, इष्टमित्र र टोल छिमेक सबैसँग आत्मीक सम्बन्ध जोडेकी छु । छरछिमेकमा एक्लो भएर पनि रमाउन सक्ने रुबी म्याडम भनेर चिन्छन् । हजुरको जन्मदिन छिमेकी नातेदारसँग बसेर मनाउँछु ।

कार्यक्रम व्यवस्थापन जेनिटा र गवोलले गर्छन् । एआईले गर्दा आजकल त छोराछोरी नातिनातिनाको जन्मोत्सव भर्चुअली मनाउँदा पनि सँगै बसे जस्तो रमाइलो हुन्छ । मेरो बर्थ डेको त कुरै नगरौं । हरेक वर्ष नयाँ-नयाँ रेष्टुराँमा पुगिन्छ । टोलका बुढाबुढीहरू मिलेर न्यू लाइफ पार्कमा ट्रेकिङ जाने, वृद्धाश्रममा रमाउने र संगीत पाठशालामा नाँच्ने गाउने गर्दछौं ।’

यसरि दिनाङ्क सरलाई आफनो दैनिकी सुनाउँदै म खुसी भएँ । घर पनि मसँगै रमाउन आइपुग्यो ।

दिनाङ्क सर, हजुरको धारिला सम्झनाहरू भित्ता-भित्ता र पाइला-पाइलामा छन् । फोटाहरू, भिडियो र एआईले सम्झनालाई झन्-झन् गाढा बनाइदिन्छन् । फोटो/भिडियो नभए पनि हुने जस्तो लाग्छ । रमाउँदै हजुरलाई बिर्सने लाख कोसिस गर्छु, तर सक्दिनँ । अनि उराठ लाग्छ एक्लो जीवनसँग । गल्दै गएको शरीर बोकेर एक्लै सुनसान चिर्न, हेर्न र व्यहोर्न सजिलो रहेनछ । डाक्टहरूले यो भयो र त्यो भयो भनेर दिनदिनै औषधि थपिरहेका छन् ।

जीवनको महत्व आफनो दृष्टिकोणमा घटेपछि बाँच्नुको कुनै अर्थ हुँदैन । विज्ञानले मानिसको जीवन यापनलाई सजिलो बनाए पनि प्राकृतिक सिस्टम बदल्न सक्ने रहेनछ । नत्र हजुर स्वर्गे र म बुढी नहुनु पर्ने ? स्मार्ट घर भएपनि ‘शरीरका अंगहरूले धर्म निर्वाह गर्न छोडेको दिन म एक मिनेट पनि बाँच्न चाहन्न । मैले मर्न पाउनुपर्छ, सर ।’

चिसा आँखा पुछ्दै मैल दिनाङ्क सरको अगाडि हात जोडेँ । घर पनि स्याड स्याड हुँदै पिलपिलाउन थाल्यो ।

लेखक
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?