
२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्द र अव्यवस्था विरुद्ध जेनजीहरूले थालेको आन्दोलन काठमाडौं बाहिर पनि चर्किएको छ । सुनसरीको इटहरीमा २ जनाको मृत्यु भएको छ ।
ठूला सहरहरुमा आन्दोलन चर्किएको छ । कतै कर्फ्यू लागेको छ । कतै आगजनी भएको छ । काठमाडौंमा १७ जनाको ज्यान गएपछि अन्यत्र पनि झन् आक्रोश बढेको हो ।
इटहरी उपमहानगरको कार्यालयमा आगजनी
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् ।
सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगत्तै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् ।
इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।
दमकको प्रदर्शनमा ३ जनालाई गोली लाग्यो
झापाको दमकमा जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका तीनजनालाई विएण्डसी अस्पतालमा लगिएको छ ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा आन्दोलनमा उत्रिएको जेनजी युवाहरुको समूहले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा प्रहार गरेका छन् ।
प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले रोकेपछि दमकस्थित निवासबाट करिब १ मिटर टाढाबाट ढुंगामुढा प्रहार गरेका हुन् ।
सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ लागेका थिए ।
कर्णालीमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय जेन–जीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध र्याली घण्टाघर अगाडि कोष सभामा परिणत भएको थियो । ‘जुरुक्क जेनजी’ जीउँदो कर्णाली नामक अभियान थालेका युवाहरूले शान्तिपूर्ण आन्दोलन गरेका थिए ।
बुटवलमा कर्फ्यू , एमाले पार्टी कार्यालय घेराउ
आन्दोलनरत जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् ।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलत बनेका उनीहरूले बुटवलस्थित एमाले पार्टी कार्यालय घेराउ गरेका हुन् ।
स्वतःस्फुर्त प्रदर्शनमा उत्रिएका जेनजीहरूले यसअघि बुटवल उपमहानगरपालिकाको मुख्य गेट अगाडि प्रदर्शन गरेका थिए भने राजमार्ग केन्द्रित प्रदर्शन समेत गरेका थिए ।
जेनजीहरूको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू समेत जारी गरेको छ । सोमबार अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।
प्रतिक्रिया 4