
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री रमेश लेखकले १९ युवा प्रदर्शनकारीको मृत्युमा नैतिक जिम्मेवारी लिँदै राजीनामा घोषणा गरेका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनबारे पहिले नै अवगत भई जवाफ दिनुपर्ने अवस्था आएको छ।
- सुरक्षा प्रशासनको अमानवीय रक्तपातमा १९ युवा मारिएका र सयौं घाइते भएका छन्।
२३ भदाै, काठमाडाैं । आज काठमाडौं र विभिन्न शहरमा जेनजीको अगुवाईमा सुरु शान्तिपूर्ण प्रदर्शन उत्तेजित हुँदा सुरक्षा प्रशासनले जुन अमानवीय रक्तपात मच्चायो, यसको जवाफ गृहमन्त्री र सुरक्षा अधिकृतले मात्रै दिएर पुग्दैन ।
गृहमन्त्री रमेश लेखकले १९ युवा मारिएकामा नैतिक जिम्मेवारी लिँदै राजीनामा घोषणा गरेका छन् । अब केही अधिकृतहरूको सरुवा र देखावटी कारबाहीसँग यो घटना निप्टारा लगाउने सम्भावना छ । तर यत्तिको भरमा आज राज्यले रचेको निन्दनीय हर्कतको हल हुन सक्दैन ।
नाति पुस्ताका नागरिकहरुमाथि सत्ताले देखाएको यो त्यस्तो उन्माद हो, जसको जवाफ खुद प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्छ ।
ओली स्वभावले असाध्यै चाम्रा नेता हुन्, जसलाई नागरिकका दु:खबारे संवेदनशील भएर जवाफ दिन उत्रो रुचि हुँदैन । दुई दिनअघि एमाले विधान महाधिवेशनका दौरान गोदावरीमा कोशी प्रदेशका मन्त्री राम रानाको गाडीले जेब्राक्रसिङमै ठक्कर दिएकी बालिकाबारे उनको जवाफ पूरै आपत्तिजनक थियो ।
साँच्चै भन्ने हो भने आज सडकमा युवा र किशोरकिशोरी उतार्न उनको त्यो अभिव्यक्तिसमेतले काम गरेको थियो ।
ओलीले महाधिवेशन समापनका दिन भनेका थिए, ‘सामान्य घटना हो । उपचारको सबै खर्च पार्टीले बेहोर्छ । त्यसभन्दा बढ्ता उछालेर महाधिवेशन भाँड्ने तत्व सक्रिय छन् ।’
सामाजिक सञ्जाल बन्द गराएर महाधिवेशनतर्फ हिँडेका ओली, अनि उक्त दुर्घटनापछि सत्तापक्षले गरेको व्यवहार एउटा दृष्टान्त हो, जसबाट नागरिकको जीउधनमाथि सत्तामा बस्नेहरूले कति अनुदार धारणा राख्छन् भन्ने स्पष्ट हुन्छ ।
तर दु:खपूर्वक भन्नुपर्छ, प्रधानमन्त्री ओली तिनै नेता हुन्, जसले आफ्नो पहिलो गृहमन्त्रीकालबारे गर्वसाथ सुनाउने गर्थे ।
मनमोहन अधिकारी नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार ०५१ सालमा गठन भएको थियो । ओली त्यो तीन दशकअघिको मन्त्रिपरिषद्का गृहमन्त्री थिए । आफ्नो मन्त्रीकालमा कालगतिबाहेक एक जना पनि सरकारको गोलीबाट नमरेको उनको जिकिर हुने गर्थ्यो ।
एमाले सरकारभन्दा ठिक अघि रहेको कांग्रेस सरकारका पालामा एमालेले चलाएको कर्मचारी आन्दोलन, अनि विभिन्न घटनामा नेपाली नागरिकहरू मारिएका थिए । ओली कांग्रेसलाई सुशासनको जवाफ दिनका लागि भए पनि कटाक्ष गरिरहन्थे ।
अहिले उनै ओली चौथोपल्ट प्रधानमन्त्री छन् । संयोगवश उनलाई सर्वकालीन प्रतिष्पर्धी पार्टी कांग्रेसको साथ प्राप्त छ ।
रमेश लेखकलाई देखाएर प्रधानमन्त्री ओली जिम्मेवारीबाट भाग्न पाउँदैनन् । मुलुकको प्रमुख कार्यकारीका लागि राम्रो काम आफ्नो, नराम्रो कांग्रेसको भन्ने दोधारे नीति हुन सक्दैन ।
१५ चैतमा राजावादीले मच्चाएको तीनकुने ताण्डवको केवल एउटा पाटो थिएन । सुरक्षा पक्षको अव्यवस्थित तयारी, संयोजन र समन्वयको अभावका कारण ठूलो चुक हुन गएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ २ प्रदर्शनकारी मारिएथे ।
आज त यो पंक्ति लेख्दासम्म १९ प्रदर्शनकारी युवा मारिएका छन् । सयौं घाइते छन् । वाम-लोकतान्त्रिक भनिनेहरूको शासनमा जनताको जीउधनको कुनै लेखाजोखा छैन । अब पूर्वराजा ज्ञानेन्द्र वा युद्धकालका माओवादी देखाएर आफ्ना नालायकीको ढाकछोप गर्ने अवस्था रहेन ।
यति बेला नागरिकहरू प्रधानमन्त्री ओलीको जवाफ मागिरहेका छन् । तर ओठे जवाफ होइन, जिम्मेवार जवाफ । याद गरौं, गोदावरी विधान महाधिवेशनका बेला उनले जेनजी आन्दोलनबारे बोलेका छन् । प्रष्टै छ, उनी आजको प्रदर्शनबारे पहिल्यै अवगत थिए ।
ओलीले जेनका दायित्व र अधिकारबारे त्यहाँ लामै बोलेका छन् । उनले राष्ट्रियताको पाठ पढाउँदै कसैले आफूलाई हेपेको नसहने सम्म भन्न भ्याए । तर आज आफ्नै जनता मारिए । आफ्नै नागरिक मारेर कस्तो राष्ट्र जोगाउन खोज्दैछन् ओली ?
त्यसैले अब प्रश्न स्वयं प्रधानमन्त्री ओलीतर्फ फर्केको छ ।
यस्तो बेला के भन्छन् ? के दुईचार कथा रचेको वा किस्सा भनेका भरमा यो युवा वेगलाई रोक्न सम्भव छ ? मारिएका यी नागरिकहरुप्रति, अनि अकारण अंगभंग भएकाहरूप्रति उनले दिने रेस्पोन्स के हुन्छ ? उत्तेजित युवा संसद भवन छिरे भन्दैमा टोल गल्लीसम्मै पसेर छातीमा गोली दाग्ने अधिकार यो सरकारलाई छ ?
प्रधानमन्त्रीले आफ्ना नागरिकको चित्त बुझाउने गरी प्रष्ट पार्नुपर्छ । एकदम छिट्टै । नत्र नागरिकहरूले आफ्ना माग बढाउँदै लैजान सक्छन् । त्यसबेला उनलाई जुनसुकै जवाफ दिन पनि ढिलो हुन सक्ने छ ।
प्रतिक्रिया 4