
हिजो र आज काठमाडौं र देशभरि उठेको युवा उभार, अनि त्यसलाई प्रतिकार गर्ने नाममा सत्ताले रचेको बर्बर दमनले स्पष्ट गर्छ– अब देशमा केपी ओली नेतृत्वको सरकारको वैधता समाप्त भएको छ ।
नयाँ पुस्ताको भावनालाई निरन्तर अवमूल्यन गर्दै शक्तिमा बसिराख्ने प्रधानमन्त्री ओली, अनि उनका सत्तासाझेदारहरूको नियत सिंगो समाजसामू उदांगिएको छ । अब ओलीको राजीनामा केही मिनेट पनि ढिलो नगरी आउनुपर्छ । उनलाई सत्तामा एकछिन पनि बस्ने छुट छैन ।
योसँगै शीर्ष नेतृत्वमा रहेका शेरबहादुर देउवा, पुष्पकमल दाहालको राजनीतिक उपादेयता पनि समाप्त भएको छ । २०६३ को परिवर्तनपछिका महत्वपूर्ण वर्षहरु उनीहरुले शासकीय अकर्मण्यता, नालायकी देखाउँदै खेर फालेका छन् । आज साँझ डाकिएको सर्वदलीय बैठकको औचित्य छैन । अन्य सबै दल एकातिर भइसकेको अवस्थामा सम्पूर्ण क्षति ब्योहोरेपछि बैठक डाक्ने ओलीको निर्णयको उनको अहंकारकै विस्तारित रुप मात्र हो ।
अनलाइनखबरले हिजो आफ्ना स्टोरी तथा विश्लेषणहरुमार्फत् शान्तिपूर्ण युवा विद्रोहमाथि राज्यले थोपरेको बर्बर रक्तपातबारे निरन्तर नागरिकलाई बतायो । फेसबुक, इन्स्टा, रेडिट, डिस्कर्ड चलाउने, पब्जी, फ्रिफायरतिर लगाव राख्ने भनिएको जेनेरेसन जेड अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मेको पुस्ता यो आक्रोश अगुवाई गरिरहेको थियो ।
जेनजीको माग असामान्य थिएन । उनीहरुले लोकतान्त्रिक गणतन्त्रको शासन चलाउने सरकारहरुले सुशासन दिन नसकेको, भ्रष्टाचारलाई एक वा अर्को कारणले संरक्षण गरिरहेको नागरिक आक्रोशलाई नयाँ पुस्ताले भिन्नै भाषामा भन्न खोजेको थियो ।
सामाजिक सन्जाल बन्द गर्ने सरकारी निर्णयले त्यो आक्रोशलाई ह्वात्तै बढाइदिएको मात्र हो । सुशासनको नारा हाम्रो देशमा सधैं घोषणापत्रमा मात्रै सजियो, व्यवहारमा देखिएन ।
जेनजीले भनेको यत्ति हो । सुशासन, पारदर्शीता, जवाफदेहिता ।
तर यस्तो भन्दै सडकमा आउने नाति–नातिनीपुस्तामाथि नेपालको राज्यले जुन आततायी व्यवहार देखायो, यसले सत्ता–सञ्चालक ओली, उनका साझेदारहरूको हातमा रगत लत्पतिन गएको छ । यो इतिहासका कुनै पनि मोडहरूमा क्षमा दिन लायक छैन । उनीहरूले आफ्ना इतिहासको जुन गौरवगाथा गाउँदै बसे, ती इतिहासका पानाहरू पनि अब रक्तिम सोमबारका रगतहरुले लछप्प भिजेका छन् ।
पछिल्लो ०७९ को चुनावमार्फत् प्राप्त जनादेशको औचित्यमाथि संसद्मै रहेका सदस्यहरुले प्रश्न उठाउँदै राजीनामा दिन थालेका छन् । मन्त्रीहरुले यसअघि नै छाड्न थालेका छन् । देशमा एक किसिमको दिशाविहीनताजस्तो देखिएको छ । हामीलाई लाग्छ, अब यसै अन्यौलको अवस्थाबाट शक्तिशाली नेतृत्व जन्मिनुपर्छ ।
सामूहिक विवेकमा भरोसा गर्ने, नागरिकलाई जहिले पनि प्रथम मान्ने, जनसंख्याको ४२ प्रतिशतभन्दा बढ्ता युवा संख्यालाई नेतृत्वको केन्द्रभागमा ल्याउने प्रयास अगुवाहरुबाट हुनुपर्छ ।
र, अब हामी शक्तिशाली नागरिक सरकार गठन होस् भन्ने अपेक्षा राख्छौं । नागरिकहरुले स्वतस्फूर्त थालेको यो अभियानले छिटै निकास पाउनुपर्छ । त्यसका लागि राष्ट्रका प्रबुद्ध नागरिक, जसले आआफ्नो क्षेत्रमा लामो योगदान र साख कमाएका छन्, उनीहरु अन्तरिम सरकार हाँक्न आउनुपर्छ । त्यही सरकारले चुनावमार्फत् ताजा जनादेशका लागि ढोका खोल्न सकोस् ।
पहिले प्रधानमन्त्रीले निशर्त राजीनामा दिइहालुन् । उनको राजीनामाले देउवा वा प्रचण्ड होइन, नयाँ अन्तरिमकालीन नेतृत्वका लागि ढोका खोल्छ, जहाँ जेनजीका प्रतिनिधि पनि सामेल हुनेछन् ।
त्यो सरकारले केही महिनाभित्र नै सम्पन्न हुनेगरी चुनाव घोषणा गर्नुपर्छ । त्यसबाट आउने ताजा जनादेशले नै अबको लोकतन्त्रको चुस्त पारदर्शी सन्चालन गर्नेछ ।
यो आक्रोशलाई नेतृत्व गर्न काँग्रेस एमाले लगायत विभिन्न दलभित्रका युवा पुस्ताले हिम्मत गर्नुपर्छ । परिवर्तनको यो आभासमा पनि उनीहरु खुट्टा कमाउँछन् भने काठमाडौं मेयर बालेन वा अरु नेतृत्व पनि विकल्प हुन सक्छन् ।
सडक र संजालले बालेनलाई आन्दोलन नेतृत्व गर्न अपिल गरिरहे पनि उनी अहिलेसम्म चुप छन् । सडकमा उनको खोजी भइरहेको छ जहाँबाट संयमित नेतृत्व र अगुवाई हुन सकोस् । उनले प्रधानमन्त्रीलाई फेसबुकबाट आक्रामक टिप्पणी गर्नेबाहेक थप निर्णय गरेका छैनन् । उनीसँग संगठनको बल र कौशल नभए पनि नयाँ भनेर देखिएका थुप्रै बिवादित अनुहारभन्दा निष्कलंक छन् ।
नेतृत्व दुई कुराबाट जन्मिन्छ – सामर्थ्य र पहलकदमी । जेनजी आन्दोलनका अगुवाले यी दुईमध्ये एक गुमाउँदा नेपाली समाजले सामुन्नेमा आएको महत्वपूर्ण अवसर गुमाउन सक्छ । अब एक मिनेट ढिलाईको अर्थ असीमित जनधनको क्षतिमात्रै हो ।
असली नेतृत्वको परीक्षण हुने यस्तै बेलामा हो । दैनिक शासन प्रशासन त जसले पनि चलाइहाल्छ ।
प्रतिक्रिया 4