
जेन-जी आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको व्यवस्था ढालेको होइन। यो व्यवस्थाको व्यवस्थापनका क्रममा विभिन्न अंगमा लागेको भ्रष्टाचार र नातावाद/कृपावाद नामको क्यान्सरको अपरेशन गरेको हो।
यो व्यवस्था ल्याउन जीवनको महत्वपूर्ण समय लगानी गरेको हाम्रो पुस्ताले गर्न नसकेको त्यो क्यान्सरको पहिचान र अपरेसन गरेकोमा जेन-जी पुस्तालाई हार्दिक बधाइ। यो पुस्ताको एक अविभावकको हैसियतले अहिलेको राजनीतिक जागरण र त्यसले ल्याएको परिणाम प्रति गर्व गर्दछु।
इतिहासको निर्माण गर्दा हुने ठुलो प्रसव पीडामा हामी अहिले छौं। तथाकथित ‘लिगेसी’ को अहंकारले सिङदरबार र बालुवाटार मात्रै होइन, अन्य टारहरू पनि खरानीमा परिणत भएका छन्। यो आन्दोलन ‘नेतातन्त्र र झोलेतन्त्र’ विरुद्ध पनि थियो।
यो व्यवस्थाभित्र मौलाएको ‘नेतातन्त्र र झोलेतन्त्र’ विरुद्ध उभिएका हामी सबैले अब यो व्यवस्था ल्याउने हाम्रो इमान्दारिता र अनुभव सहित सक्रिय हुनु आवश्यक छ। जेन-जी पुस्तालाई पवित्र राजनीतिप्रति अझै अनुभवी बनाउँदै अगाडि लैजाने जिम्मा हाम्रो पनि हो ।
यो आन्दोलनले पुराना पार्टीहरूको नैतिक र भौतिक अस्तित्व हल्लाएको छ। आफू इमान्दार छु र भ्रष्टाचार तथा नातावाद/कृपावादको क्यान्सर मुक्त छु भन्नेमा विश्वस्त कोही नेता हुनुहुन्छ भने जनताको बीचमा आउने आँट गर्नुहोस्।
तपाईं हिजोसम्म बसेको सत्ता र अहिले लिएको आश्रय स्थलबाट आजको चेतनाको वास्तविक परिवर्तन देखिंदैन र अनुभूत पनि हुँदैन। यो अनुभव हुन तपाईं त्यो मानसिक भ्रम र भौतिक बन्धनबाट पहिले मुक्त हुनुपर्छ।
यो व्यवस्थाका पिलर फेरि पनि राजनीतिक दल नै हुन्। हाम्रो पुस्ताले बलिदान गरेर निर्माण गरेका दललाई तपाईंहरूले ढल बनाई दिनु भयो । हामीले सफा गरेर कलकल बग्ने नदी बनाउने अवसर नै नपाई हामीपछिको पुस्ताले तपाईंले बनाएको ढल सुकाइदियो। ठिकै गर्यो, हामीले नसकेको गर्यो।
यो आन्दोलनले राज्यसत्ता भित्रका खराबी मात्रै हटाउने प्रयास गरेको छैन, हिजोका लोकतन्त्र ल्याउने पार्टीहरूको ‘लिगेसी’ पनि भत्काएको छ। पार्टीभित्रको नयाँ पुस्ताले स-सम्मान निर्माण गरेको श्रद्धाश्रममा आरामपूर्वक बस्नुस् भन्ने प्रार्थना नसुन्दा आज आर्मीको शरणमा ‘एक्जाइल’ हुनु परेको छ। तपाई सुरक्षित हुनुहुन्छ वा बन्धक तपाईंलाई थाहा छ ?
सक्नुहुन्छ र तपाई भ्रष्टाचारको क्यान्सर पीडित हुनुहुन्न भने बोल्नुहोस्- ‘पार्टी पनि अब नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार छौं। अब जनता र कार्यकर्तासँग देशव्यापी माफी सभा आयोजना हामी गर्दैछौं।’
अपराध र भ्रष्टाचारको दण्ड अदालतले देला, अन्य कमजोरीको माफी माग्ने अन्तिम अवसर सायद त्यो हुनेछ।
यो आन्दोलनले दललाई र दलका संरचनालाई नैतिक र भौतिक रूपमा पनि ढालेकोले अब ती दल र त्यो दलको राजनीतिक आस्थाप्रति प्रतिबद्धहरूले नयाँ ढंगबाट आ-आफ्ना पार्टीलाई पुनर्संगठित गरौं। अघिल्लो पुस्ताको भयङ्कर कमजोरीको भारी नबोकी उनीहरूको कमजोरी सच्याउन नसकेको हाम्रो कमजोरीको लागि जनतासँग माफी मागौं।
अब फेरि पनि खरानी टक्टक्याउँदै हामी उठौं र अझै पनि जीवित र सुरक्षित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नेतृत्वो गर्ने जेन-जी पुस्तालाई आफ्नो अनुभव र आस्थाको सारथि बनौं।
प्रतिक्रिया 4