+
+
Shares

‘आन्दोलनमै नगएका मेरा बुबालाई किन गोली हानियो ?’

न सन्तकुमार आन्दोलनमा सहभागी थिए, न केही । व्यवसाय गरिरहेका उनी आफ्नै क्याफेमा मस्त थिए । ग्राहकलाई भित्र बाहिरको प्रदर्शनबाट जोगाउन संरक्षण गरिरहेका थिए ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ भदौ २५ गते २२:४०

२५ भदौ, काठमाडौं । सिन्धुपाल्चोकका समीर आचार्य हाल काठमाडौंको काँडाघारीमा डेरा लिएर बस्छन् । उनी बुद्धनगर नजिकैको कलेजमा पढ्छन् । २३ भदौ साँझ उनी कलेजबाट फर्कँदै थिए । संखमुल नजिकै पुग्दा अचानक मान्छेहरूको हुल भाग्न थाल्यो ।

‘म संखमुलबाट फर्कँदै थिएँ । मान्छेहरू चिच्याउँदै भाग्न थाले । मलाई पनि डर लाग्यो, म पनि भाग्न खोजेँ,’ आचार्यले सुनाए, ‘त्यही बेला खुट्टामा केही ठोक्कियो, दुख्यो । हेर्दा रगत बगिरहेको थियो । गोली लागेको रहेछ ।’

जेनजी आन्दोलनमा सहभागी नै नभएका उनी अहिले ट्रमा सेन्टरको बेडमा छन् । उनकाअनुसार त्यसदिन गोली लागेको थाहा भएपछि उनलाई तत्काल साथीहरूले बोकेर एभरेस्ट अस्पताल पु‍र्‍याए । के भइरहेको छ, उनलाई थाहा भएन । धन्न साथीहरूले बोकेर अस्पताल पु‍र्‍याए ।

रगतले आचार्यको पाइन्ट रातो भइसकेको थियो । एभरेस्ट अस्पतालले उनको अवस्था गम्भीर भएको भन्दै ट्रमामा रिफर गर्‍यो । राति साढे एक बजेतिर ट्रमामा उनको खुट्टाबाट गोली निकालियो । बुधबार अस्पतालको बेडमा भेटिएका उनी गफगाफ गरिरहेका थिए । ‘अहिले त ठीक छ, तर सुरुमा त धेरै डर लागेको थियो,’ उनले भने ।

समीरका काका नीलकण्ठ आचार्य उनको कुरुवा बसिरहेका थिए । उनकाअनुसार साथीहरूमार्फत फोन आएपछि मात्र समीरको अवस्थाबारे थाहा पाएका थिए । ‘हामी क्याफेमा खाजा खाएर निस्कँदै थियौँ । समीरको फोन लामो समयसम्म नउठेपछि हामीलाई चिन्ता भयो,’ उनले अनुभव सुनाए, ‘पछि उसको साथीले फोन गरेर खुट्टामा गोली लागेको खबर सुनायो । हामी तुरुन्त एभरेस्ट अस्पताल पुग्यौँ, तर त्यहाँबाट ट्रमा रिफर भयो ।’

त्यसबेलासम्म ट्रमामा भिड लागिसकेको थियो । गेटमा भिडका कारण उनीहरूलाई भित्र छिर्न समय लाग्यो । ‘बल्लतल्ल भित्र छिरेर रिक्वेस्ट गरेपछि उपचार सुरु भयो,’ नीलकण्ठले थपे ।

तर, नीलकण्ठलाई सुरक्षा निकायप्रति आक्रोश छ । जेनजी आन्दोलनको पहिलो दिन नै गोली खाएका उनी आन्दोलनमा सहभागी थिएनन् । ‘सहभागी नै नभएको मान्छे, बाटोमा हिँड्दै गरेको मान्छेलाई किन गोली हानियो ?’ उनले बुझ्न सकेका छैनन् । धन्न साथीहरूले बोकेर अस्पताल लगेछन् र बचेँ । नभए आफ्नो ज्यानको प्रवाह कसैले नगर्ने जोखिम उनले त्यसबेलै देखिसकेका थिए, जसले उनको मनमा डर भरेको थियो ।

०००

रौतहटका सुमन रायको टाउकामा ब्यान्डेज लगाइएको छ । शरीरभरि चोट छ । रबरको गोलीले टाउकाको दाहिनेपट्टीको भाग नै घाइते बनाएको छ ।

सुमन काठमाडौंको सतुंगलमा बस्छन् । उनलाई तत्कालीन सरकारको गतिविधि र कार्यशैलीलाई लिएर असन्तोष थियो । निरन्तर सत्तामा एकै पुस्ताका व्यक्ति देखिरहनुपर्दाको आक्रोश थियो । त्यसैले अब नयाँ पुस्ताले परिवर्तन गर्नुपर्छ भन्दै साथीहरूसँगै आन्दोलनमा निस्किएका थिए ।

पहिलो दिन सोमबारबाटै सुमन जेनजी आन्दोलनमा सहभागी थिए । पहिलो दिन नै उनले पाखुरा र खुट्टामा चोट खेपिसकेका थिए । तर, आन्दोलन गर्ने जोश हराएको थिएन । भोलिपल्ट पनि सडकमा निस्किए । उनकाअनुसार २४ भदौमा सतुंगलदेखि नारा लगाउँदै उनीहरूको जुलुस कालीमाटी हुँदै बल्खु नजिक पुगेको थियो ।

‘हामी बल्खुको बाटोमा थियौँ । प्रहरीले अश्रुग्यास र गोली चलाउन थाल्यो । भागाभाग मच्चियो । मलाई रबरको गोली टाउकोमा लाग्यो,’ सुमनको अनुभव छ, ‘एकछिन त आँखा अन्धकार भयो । रगत पानीजस्तै बग्न थाल्यो ।’

त्यसबाहेक अघिल्लो दिनको चोटले उनको टाउको, छाती र दाहिने हात दुखेको छ ।

गोली लागेपछि उनलाई बोकर एम्बुलेन्ससम्म लग्ने कोही थिएन । यति बुझेका सुमनले आफैँ बुद्धि लगाए । त्यसबेला गोली चल्दा त्यहाँ सबै भाग्दै थिए – कोही यता, कोही उता । ‘मैले एम्बुलेन्स देखेँ र आफैँ दौडेर चढेँ । मेरो रगतले एम्बुलेन्स रातो भयो,’ उनले थपे ।

उनकाअनुसार त्यसदिन प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यसपछि मान्छेहरूले प्रहरीको हतियार र बर्दी खोसे । प्रहरीमाथि झन आक्रामक देखिएपछि गोलाबारी झन् बढ्यो । धेरै गोली चल्यो । अश्रुग्यास उत्तिकै थियो । आँखा पिरो भयो । एकछिन त उनले केही ठम्याउन सकेका थिएनन् ।

यसरी आफैँलाई चोट पुर्‍याउनेगरी सुमन आन्दोलनमा किन सहभागी भए ? उनको अपेक्षा थियो–आन्दोलनले आफ्नो हक र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्छ । तर, यस्तो होला भन्ने उनको कल्पनामा पनि थिएन । ‘खै के खोजेको, के पो भईरहेको छ ?,’ उनी अन्यौलग्रस्त सुनिए ।

अहिले सुमनकी श्रीमती र आमा कुरुवा बसेका छन् । ट्रमा सेन्टरमा उपचार सहज रहेको अनुभव उनको छ ।

०००

नयाँ बानेश्वरको हिमालयन जाभा क्याफेमा थिए, सन्तकुमार मेहता (५२) । त्यहीबेला बानेश्वर चोक तनावग्रस्त बन्यो । संसद् भवन प्रदर्शनकारीको कब्जामा पुग्न लागेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउन थाल्यो । गोलीले घाँटीमा गम्भीर चोट पुर्‍यायो ।

यसरी जेनजी आन्दोलनको उथलपुथलमा निर्दोष बटुवा र आन्दोलनकारीहरूसमेत सिकार भएको सन्तकुमारका परिवारका सदस्य बताउँछन् । त्यसमध्येकै एक हुन् उनी । सन्तकुमारका छोरा सुजलकाअनुसार उनी त्यसबेला आफ्नै क्याफेमा बसिरहेका थिए । भित्र अरू ग्राहक पनि थिए ।

एकाएक बाहिरबाट सिसा फोरेर गोली आएपछि उनी ढले । हिमालयन जाभा भित्र रक्ताम्य भयो । ढोका खोलेर बाहिर जाँन लाग्दा अरू ग्राहकले नखोल्न भनिरहेका थिए । पूरै डरको अवस्था थियो । तर, उनकी श्रीमतीले सबैलाई त्यहीँ छोडेर अस्पताल (ट्रमा सेन्टर) लिएर गइन् ।

न सन्तकुमार आन्दोलनमा सहभागी थिए, न केही । व्यवसाय गरिरहेका उनी आफ्नै क्याफेमा मस्त थिए । ग्राहकलाई भित्र बाहिरको प्रदर्शनबाट जोगाउन संरक्षण गरिरहेका थिए ।

‘त्यसरी ममी र स्टाफले बाइकमा राखेर ट्रमा ल्याउनुभयो । एम्बुलेन्स नै पाएन रे । म पनि सिधै यता आएँ । यहाँ आएर हेर्दा बुबा गम्भीर घाइते हुनुभएको पाएँ,’ सुजलको आँखा रसायो ।

सुजलकाअनुसार उनको बुबाको घाँटीमा गोली लागेको छ । गोली लागेका बुबालाई त्यसदिन अस्पतालमा भेट्न आउँदा भित्र छिर्न नै दिइएको थिएन । कारण, सुरक्षा जोखिमले अस्पताल परिसरमा पनि कडाइ गरिएको थियो । पछि अनुरोध गरेर भित्र छिरेँ । अवस्था गम्भीर थियो । डाक्टरहरूले उनको घाँटीको नसा जोड्न जटिल शल्यक्रिया गर्नुपर्ने बताए ।

‘अस्तिदेखि बुबा इन्टेन्स मेडिकल केयरमा हुनुहुन्छ । अहिले विस्तारै अवस्था सुधार हुँदैछ, तर लामो समयसम्म यसले के असर पुर्‍याउँछ थाहा छैन,’ उनले भने ।

सुजल आफैं भने जेनजी आन्दोलनका समर्थक हुन् । तर त्यहाँ सहभागी नभएका मान्छेलाई नै गोली लागेकोमा भने उनी आक्रोशित सुनिए । ‘सरकारको सिस्टम नै ठीक थिएन,’ उनले गुनासो गरे, ‘आन्दोलनमा नै नगएका मेरा बुबालाई किन गोली हानियो ?’

यसरी सत्तापलट नै गर्नेगरी दुई दिनसम्म चर्किएको जेनजी आन्दोलनमा घाइते र मृतकको संख्या अहिले नै यकिनसाथ भन्न सकिने अवस्था छैन । अनौपचारिक रूपमा आएका तथ्यांकअनुसार अहिलेसम्म यसबाट करिब १ हजारभन्दा धेरै घाइते भएका छन् भने ३० जना हाराहारीको मृत्यु भइसकेको छ ।

 

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?