
२५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधानलाई नै टेकेर अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन् ।
परिस्थितिअनुसार जेनजीहरूले पनि अपनत्व गर्नेगरी अन्तरिम सरकार गठनको आवश्यकता उनले औंल्याएका छन् । यद्यपि संविधानलाई टेकेर नै अन्तरिम सरकार गठन गर्न आवश्यक रहेको उनले बताए ।
बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शर्माले भनेका छन्, ‘यस्तो विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ । परिस्थिति अनुसार को सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो सविधानका सबैधाराको अक्षरस पालना नहुन सक्छतर सबैलाई स्विकार्य सरकार गठन गर्दा समेत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ ।’
साथै उनले जेनजी पुस्ताको आन्दोलन दबाउन सरकारले दमन गरेको भन्दै आलोचना गरेका छन् ।
शर्माले भनेका छन्, ‘सत्तामा रहेका दलका नेताहरूको परिवारवाद र भ्रष्टाचारले नै यो अराजकता सिर्जना गरेको हो ।’
शर्माले तत्काल शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी भ्रष्टाचारको अन्त्य र राजनीतिक सुधारका लागि कडा कदम चाल्नुपर्ने बताएका छन् ।
‘वर्तमान संकट सबै नागरिकका सरोकारको र जिम्मेवारीको विषय हो,’ भन्दै उनले वैधानिक बाटोबाट समाधान निकाल्न सबैलाई आह्वान गरेका छन् ।
भ्रष्टाचारको जालो अन्त्य गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने, उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवार राजनीतिक पार्टीका नेताहरू र मुख्यरूपमा कांग्रेस–एमाले नेतृत्वको सरकारले लिनुपर्ने उनले भनेका छन् ।
वर्तमान संकटको समाधानका लागि पहल गर्ने सामथ्र्य र नैतिक आधार राजनितिक दलका शिर्ष नेताहरुले गुमाएको शर्माको निष्कर्ष छ ।
‘सवैधानिक वल विहिन सरकार बनाउदा बर्तमान संविधानका फक्षधरहरुबाट उत्पन्न हुन सक्ने सुरक्षा चनौतिलाई समेत ध्यान दिन जरुरी छ । संविधान वाहिर सरकार गठन गरीएमा त्यसले राज्यका सबै निकायको वैधानिकता माथि प्रश्न खडा भइ अकल्पनिय अवस्था सिर्जना हुने खतरा रहन्छ र बैधानिकताको अभावमा वर्तमान राष्ट्रिय संकटलाई समाधान गर्न थप जटिलता हुन सक्ने वारे ध्यान दिन जरुरी छ,’ उनले भनेका छन् ।
संविधानको रक्षा गर्न नसके थप अराजकता पैदा हुने चिन्ता व्यक्त गर्दै उनले वैधानिक बाटोबाटै समाधान निकाल्न अपिल गरेका छन् ।
नेपाल अहिले सरकारविहीन अवस्थामा छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । सोमबार र मंगलबार भएको जेनजी युवाहरूको प्रदर्शनमा ३० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।
आक्रोशित युवाहरूको समूहले सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय रहेको शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवास लगायत अन्य महत्त्वपूर्ण सरकारी संरचनामा आगजनी गरेर ध्वस्त पारेका छन् ।
प्रतिक्रिया 4