विगतका केही दिन हाम्रो कम्पनीको इतिहासमै सबैभन्दा पीडादायी दिन बन्न पुगे । जवाफदेहिता र परिवर्तनको माग गर्दै सुरु भएको युवा (जेनजी) को आन्दोलन, जसको उद्देश्य राम्रो थियो तर कुत्सित मनसाय बोकेका अन्य शक्तिहरू र उपद्रवीहरूले बिगारिदिए ।
शान्तिपूर्ण रूपमा नयाँ नेपालको सपना बोकेको आवाज हिंसा, लुटपाट र विनाशमा परिणत भयो ।
हामीले अकल्पनीय क्रुरता देख्यौं र आफैंले भोग्यौं । हाम्रो कम्पनीका अध्यक्ष विनोद चौधरीलाई व्यक्तिगत रूपमा लक्षित गरियो । हाम्रा घरहरूमा आक्रमण र आगजनी भयो । हाम्रा कारखाना र कार्यालयहरू नष्ट गरिए । शोरुमहरू लुटिए । शताब्दी लगाएर हुर्काइएका हाम्रा सिर्जनाहरू क्षणभरमै ध्वस्त बनाइए ।
हाम्रो श्रम, त्याग र समर्पण केही घण्टामै खरानीमा परिणत भयो । यो केवल सम्पत्तिमाथिको आक्रमण थिएन, यो हाम्रो आशा, विश्वास र राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गर्ने सपनामाथिको आक्रमण थियो । राष्ट्रको अर्थतन्त्र ध्वस्त बनाएर खरानी घस्ने कसम खाएकाहरूले गरेको उन्माद थियो ।
तर, यस्तो अन्धकारमय घडीमा पनि चौधरी ग्रुप (सीजी) परिवारको आत्मा कति बलियो थियो भनेर देख्ने शौभाग्य पनि हामीले प्राप्त गर्यौं । आगो र अराजकताकै बीचमा सीजीका व्यवस्थापकहरू, कर्मचारीहरू र सम्पूर्ण चौधरी ग्रुप परिवारले आफ्नो सुरक्षालाई जोखिममा राखेर रातदिन खटिएको कथा मैले आफैं देखेँ र अलि टाढाका कथा सुन्न पाएँ– सकिने जोगाउँदै, सम्पत्ति बचाउँदै र सबैभन्दा महत्त्वपूर्ण, ग्राहकहरूप्रति सीजीको वाचा निभाउँदै हाम्रो सिंगो सीजी परिवार राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने कसम खाएका उन्मादीसँग संघर्ष गरिरहेका थिए । आगोले वरिपरि डढाइरहेको बेला पनि उहाँहरूले हार मान्नु भएन।
सबै कुरा ढल्दै गएको बेला दृढ भएर उभिनु भएका चौधरी ग्रुप परिवारका प्रत्येक सदस्यलाई म सलाम गर्छु । तपाईंहरूले देखाउनुभयो कि चौधरी ग्रुप केवल कम्पनी होइन, यो परिवार हो, जुन दृढता, निष्ठा र साहसले बाँधिएको छ ।
तपाईंहरूका कारण विनाशबीच पनि हाम्रा ग्राहकहरूलाई निराश हुनुपरेको छैन । उहाँहरूमा पनि विश्वास भरिँदै गएको छ । तपाईंहरूकै कारण आशा र विश्वासको ‘ग्राफ’ उकालो लागिरहेको छ । चौधरी ग्रुप व्यवस्थापनले पक्कै पनि तपाईंहरूको सेवा, त्याग र बलिदानलाई सम्मानपूर्वक सम्झिने छ ।
हो, हामी दुखी छौं । हो, हामी हल्लिएका छौं । तर, हामी टुटेका भने छैनौं । शत्रुले भवन जलाउन सक्छन्, तर उनीहरूले हाम्रा सपनालाई कहिल्यै जलाउन सक्दैनन् । उनीहरूले शोरुम लुट्न सक्छन्, तर हाम्रो मूल्य–मान्यता लुट्न सक्दैनन् । उनीहरूले हामीलाई कमजोर बनाउन खोज्न सक्छन्, तर हाम्रो एकतामा बाँधिएको परिवारलाई भाँच्न सक्दैनन् ।
हामीले आफू को हो भन्ने पनि सम्झनुपर्छ । चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो करदातामध्ये एक हो, सबैभन्दा ठूलो रोजगारदातामध्ये एक हो, राष्ट्र निर्माणमा समर्पित संस्था हो ।
चौधरी ग्रुपले हरेक वर्ष १८ अर्ब रुपैयाँभन्दा बढी कर राज्यलाई बुझाउँदै आएको छ । यो नेपालको कुल राजस्वको करिब २ प्रतिशत बराबर हो भन्ने पनि ख्याल राख्नुपर्छ । सीजी १५ हजारभन्दा बढी सदस्य आबद्ध रहेको विशाल परिवार हो । यो सफलता चौधरी ग्रुपले सानो दु:खले प्राप्त गरेको होइन ।
भूकम्प होस्, कोभिड होस्, बाढी होस् वा महामारी, हामी सधैं जनताको सेवामा अग्रमोर्चामा उभिँदै आएका छौं । यो अभियान कहिल्यै सकिने छैन । त्यो जिम्मेवारीबाट हामी कहिल्यै विचलित हुने छैनौं । हाम्रो त्यो उद्देश्य सधै अटल रहिरहने छ ।
हामी फेरि उठ्ने छौं । हामी सीजीलाई पुनर्निर्माण गर्ने छौं । र, हामी अझ मजबुत भएर अघि बढ्ने छौं । यस विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली नागरिकप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मिने छ ।
इतिहासले हामीलाई जलाउने आगो सम्झने छैन । इतिहासले हामीलाई त्यसबाट कसरी बाहिर निस्कियौं भन्ने सम्झने छ– अझ बलियो, अझ गौरवपूर्ण र अझ एकताबद्ध रूपमा ।
चौधरी ग्रुप परिवारका प्रत्येक सदस्यलाई म हृदयदेखि नै धन्यवाद दिन्छु । तपाईंहरू नै यो संस्थाको मुटु हुनुहुन्छ । हामी मिलेर अझ उज्ज्वल भविष्य निर्माण गर्ने छौं ।
(निर्वाण चौधरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक हुन् ।)
प्रतिक्रिया 4