+

साफ यू-१७ च्याम्पियनसिपका लागि तयार नेपाल, पहिलो लक्ष्य सेमिफाइनल

२०८२ भदौ  २९ गते २१:०७ २०८२ भदौ २९ गते २१:०७
साफ यू-१७ च्याम्पियनसिपका लागि तयार नेपाल, पहिलो लक्ष्य सेमिफाइनल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यू-१७ राष्ट्रिय फुटबल टिमले २९ भदौदेखि श्रीलंकामा सुरु हुने साफ यू-१७ च्याम्पियनसिपका लागि तयारी पूरा गरेको छ।
  • मुख्य प्रशिक्षक सन्जित सिंहले पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको र त्यसपछि फाइनलका लागि केन्द्रित हुने बताए।
  • नेपाल समूह ए मा रहेको छ र पहिलो खेल सोमबार श्रीलंका विरुद्ध खेल्नेछ, दोस्रो खेल बिहीबार बंगलादेशसँग हुनेछ।

२९ भदौ, काठमाडौं । श्रीलंकामा सोमबारदेखि सुरु हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली तयार रहेको नेपाल यू-१७ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक सन्जित सिंह र कप्तान प्रशान्त मोक्तानले बताएका छन् ।

मुख्य प्रशिक्षक सन्जित सिंहले तयारीका लागि थोरै समय भएपनि टिम तयार रहेको बताए । ‘तयारीका लागि हामीलाई समय कम थियो । खेलाडीले कडा मिहिनेत गरेका छन् । हामी मानसिक र शारीरिक रुपमा च्याम्पियनसिपका लागि फिट छौँ ।’ आइतबार कोलोम्बोमा भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा सिंहले भने ।

यस्तै कप्तान प्रशान्त मोक्तानले पनि नेपाली टिमको तयारी राम्रो रहेको र टिममा अनुभवी खेलाडी रहेको बताएका छन् । ‘हाम्रो तयारी राम्रो छ । प्रशिक्षकले सिकाउनुभएको रणनीतिका हामी केन्द्रित हुनेछौँ । टिममा अनुभवी खेलाडीहरु पनि छन् । हामी कडा चुनौती प्रस्तुत गर्नेछौँ ।’

मुख्य प्रशिक्षक सिंहले च्याम्पियनसिपमा सबै टिमहरु राम्रो रहेको बताउँदै नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको बताए । ‘प्रतियोगितामा सबै टिम राम्रो छ । हाम्रो पहिलो लक्ष्य सेमिफाइनल हो । त्यसपछि फाइनलका लागि केन्द्रित हुनेछौँ ।’

समूह ए मा रहेको नेपालले सोमबार घरेलु टोली श्रीलंका विरुद्ध खेल्दै यात्रा सुरु गर्नेछ । नेपाल रहेको समूहमा बंगलादेश पनि छ । उनले कुनै पनि टिमलाई हल्का रुपमा नलिने र पहिलो खेलको लागि तयार रहेको बताए । ‘हाम्रो समूमा दुई टिम छन् । हामी कुनै टिमलाई सहज लिँदैनौ,’ उनले भने, ‘हामी श्रीलंका विरुद्ध पहिलो खेलका लागि तयार छौँ । आशा छ राम्रो नतिजा आउनेछ ।’

नेपालले समूहको दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्नेछ । यस समूहमा तीन टिम मात्र रहेकोले नेपालले एक खेल जितेमा पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।

यस्तै साविक विजेता भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

साफ यू-१७ च्याम्पियनसिपको ९ संस्करण भइसक्दा अहिलेसम्म भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ भने बंगलादेशले दुई तथा पाकिस्तानले एक पटक उपाधि जितेको छ । नेपाल चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन । नेपाल चार पटक नै भारतसँग पराजित भएको थियो ।

पछिल्लो पटक सन् २०२२ मा श्रीलंकामै भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपाल फाइनल पुगेको थियो । तर फाइनलमा भारतसँग ४-० ले पराजित भयो ।

त्यसपछिका भुटानमा आयोजना भएको पछिल्ला दुई संस्करणमा नेपाल फाइनल समेत पुग्न सकेन ।

साफ यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय