News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारीका लागि यूएई प्रस्थान गर्न लागेको छ।
- नेपालले यूएईमा हुने युनिटी कप टी-२०आई शृंखलामा वेस्ट इन्डिजसँग ३ खेल खेल्नेछ र विश्वकप छनोटका लागि अन्तिम तयारी गर्नेछ।
- नेपालले विश्वकप छनोटमा कुवेत र जापानको समूहमा परेको छ र कम्तीमा एक खेल जितेर सुपर सिक्समा पुग्ने लक्ष्य राखेको छ।
३१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको अन्तिम तयारीका लागि यूएई जाँदैछ ।
यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै लगातार दोस्रो अनि समग्रमा तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य हुनेछ ।
दुई साताअघि अस्ट्रेलिया टुरबाट फर्किएको नेपाली टोली केही समयको विश्रामपछि वेस्टइन्डिजसँगको युनिटी कप टी-२०आई शृंखलाको तयारीमा जुटेको थियो ।
शृंखलामा सहभागी हुने नेपाली टोलीको पनि घोषणा भइसकेको छ । नेपाली टोली १९ वा २० सेप्टेम्बर (३ वा ४ असोज)मा यूएई प्रस्थान गर्नेछ ।
यसबीचमा नेपालमा जेनजी आन्दोलन चर्किएपछि केही दिन काठमाडौंको माहोल अस्तव्यस्त बनेको थियो जसका कारण तयारी पनि केही प्रभावित हुन पुग्यो ।
कस्तो छ तयारी ?
नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजकै लागि भनेर त्यस्तो छुट्टै तयारी गरेको छैन । अस्ट्रेलियाबाट दुई साताअघि मात्र फर्किएको नेपाली टोलीले केही दिन मात्र ब्रेक लिएर फेरि नियमित प्रशिक्षण सुरु गरेका थिए ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीहरूले सेल्फ ट्रेनिङ पनि गरिरहेका छन् । छुट्टै क्याम्प भनेर राखिएको छैन । ‘अब हाम्रो मुख्य तयारी भनेको अस्ट्रेलिया टुर नै थियो, अहिले त्यस्तो ठुलो तयारी भनेर केही छैन, खेलाडीहरूले गरिरहेका छन् त्यही नै हो’ लामाले अनलाइनखबरसँग भने ।
नेपाली टोलीले पहिलोपटक अस्ट्रेलिया गएर टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाएको थियो भने केही अभ्यास खेलहरू पनि खेलेको थियो ।
यस सिरिजमा सहभागी हुनुको मुख्य उद्देश्य भनेको एक्सपोजर नै थियो । नेपाली खेलाडीहरूलाई विदेशी कन्डिशनमा अभ्यस्त गराउने मुख्य उद्देश्यले यस सिरिजमा सहभागी गराइएको थियो ।
यसका अलावा यो सिरिज नेपालको आगामी टी-२० विश्वकप छनोटको तयारीका रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको थियो ।
यस्तो छ टिम
युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भइसकेको छ । पछिल्लोपटक अस्ट्रेलियामा खेल्न गएको टोलीबाट ३ परिवर्तन गरिएको छ ।
अस्ट्रेलिया टुरमा गएको टोलीबाट भीम सार्की, रिजन ढकाल र रुपेश सिंह बाहिरिँदा सन्दीप जोरा, ललित राजवंशी र मोहम्मद आदिल आलम टोलीमा भित्रिएका छन् । एकजना ब्याटर, बलर र अलराउण्डर नै रिप्लेस भएका हुन् ।
ललित पारिवारिक कारणले गर्दा अस्ट्रेलिया गएका थिएनन् । उनी टोलीमा फर्किएका हुन् । आदिल र जोराले भने राष्ट्रिय टोलीमा पुनरागमन नै गरेका हुन् ।
आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् । दुवैले भारतको आसाममा भएको ५ खेलको टी२० शृंखलामा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।
आदिल र सन्दीपले उत्कृष्ट लय कायमै राख्न सकेमा विश्वकप छनोटका लागि पनि स्थान पाउने पक्का हुनेछ ।
आन्दोलनको असर
नेपालमा गत साता जेनजी उमेर समूहका युवाहरूको प्रदर्शनपछि उत्पन्न राजनीतिक परिवर्तन र देशको संकटपूर्ण अवस्थाको असर खेलकुदमा पनि पर्यो ।
खेलकुदमन्त्रीको पद रिक्त हुनुका साथै हाल नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीकै जिम्मेवारीमा खेलकुद मन्त्रालय छ । यसबाहेक खेलकुदकै गतिविधिमा पनि असर पर्दा क्रिकेटमा सामान्य असर देखियो ।
नेपाली खेलाडीहरूले आन्दोलनको दोस्रो दिन उत्पन्न परिस्थितिका बीच प्रशिक्षण गर्न केही समस्या भएको थियो । प्रवक्ता लामाले प्रशिक्षणमा त्यस्तो असर नपरेको र खेलाडीहरूले सुरक्षित रहेर आफ्नो हिसाबले ट्रेनिङ गरेको बताए ।
‘अब प्रशिक्षणमै असर गरेको भन्नु त गलत हुन्छ, यसबीचमा सुरक्षाको मध्यनजर गर्दै ट्रेनिङहरू भएका छन्, बीचको एक दिन चाहिँ परिस्थिति नै त्यस्तो थियो नत्र प्रशिक्षण भइरहेको छ’ उनले भने ।
सिरिजको उद्देश्य
यूएईमा हुने युनिटी कप टी-२०आई शृंखलामा नेपालले ३ खेल खेल्नेछ । खेलहरू २७, २९ र ३० सेप्टेम्बरमा शारजाह क्रिकेट स्टेडियममा हुनेछन् ।
सिरिजलगत्तै विश्वकप छनोट भएकाले मूल उद्देश्य भनेको त्यसकै तयारी हुने क्यान प्रवक्ता लामाको भनाइ छ । ‘अब हामीले विश्वकप छनोटकै लागि भनेर लामो समयदेखि तयारी गरिरहेका छौं, अब यो सिरिज छनोटकै अघि परेकाले यो विश्वकप छनोटका लागि अन्तिम तयारी हुनेछ’ उनले भने ।
उनका अनुसार नेपालले सिरिजलगत्तै केही अभ्यास पनि गर्नेछ । विश्वकप छनोट यूएईकै छिमेकी राष्ट्र ओमानमा ८ देखि १७ अक्टोबरमा हुँदैछ ।
अस्ट्रेलियामा खेलेको अनुभव बोकेर वेस्ट इन्डिजसँग खेल्दै बलियो प्रदर्शन गर्ने र त्यही लयलाई विश्वकप छनोटसम्म कायम राख्ने नेपालको लक्ष्य हुनेछ ।
***
विश्वकप छनोटमा नेपाल समूह चरणमा कुवेत र जापानको समूहमा परेको छ । यहाँबाट २ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सबाट शीर्ष ३ टोलीले विश्वकप खेल्नेछन् ।
नेपालले कम्तीमा एक खेल मात्र जितेपनि सुपर सिक्समा पुग्ने लगभग पक्का हुनेछ । यद्यपी नेपाल आफ्नो समूहमा सबैभन्दा बलियो टोली हो ।
वेस्ट इन्डिजसँगको खेलले विश्वकप छनोटमा पनि राम्रो प्रदर्शन हुने खेलाडीहरूले यसअघि नै बताउँदै आएका छन् ।
प्रतिक्रिया 4