+
+
Shares

दशैं चहलपहल सुरु, व्यापार सुस्त

विशेषगरी कपडा बजारमा यस वर्ष ‘नयाँ’ को अभाव खट्किएको छ, जसले गर्दा व्यापारी चिन्तित छन् भने उपभोक्ता निराश ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ भदौ ३१ गते २१:१५

३० भदौ, काठमाडौं । दुई महिनाअघिको बाढीपहिरोले पारेको पीडा बिस्तारै भुल्ने कोसिस गरिरहेका साना व्यापारी तथा व्यवसायीमाथि अर्को बज्रपात परेको छ । एक साताअघिको जेनजी प्रदर्शनले साना व्यवसायीमाथि अर्को ठूलो पीडा थपेको हो ।

यसपालिको दशैं ६ असोजदेखि सुरु हुन्छ । दशैं नजिकिँदै गर्दा बजारमा चहलपहल सुरु भइसके पनि व्यापार भने सुस्त देखिन्छ ।

जेनजीले गरेको प्रदर्शनले उद्योगी, होलसेल (थोक) तथा खुद्रा व्यवसायी प्रत्यक्ष मारमा परे । यो व्यापार हुने सिजन भए पनि देशभरि लागेको कर्फ्युका कारण ५ दिन पसल ठप्प भए । शनिबारदेखि अवस्था सामान्य भएर पसलहरू खुले पनि व्यापार भने हुन नसकेको व्यवसायीहरू बताउँछन् ।

उनीहरूका अनुसार दशैंलाई नै भनेर ल्याइएका सामान बिक्री नभएर गोदाममै थन्किएका छन् । दशैंमा विशेषगरी लत्ताकपडा, जुत्ताचप्पल शृङ्गारका सामान बढी बिक्री हुने गर्छ ।

न्युरोडस्थित आरबी कम्प्लेक्स व्यवसायी संघ अध्यक्ष पर्शुराम दाहालका अनुसार यस वर्ष दशैंका लागि अपेक्षित लत्ताकपडा तथा अन्य सामान आउन सकेको छैन । अहिले बजारमा पुरानो स्टकका सामान मात्रै अलिअलि बेचबिखन भइरहेको छ ।

दाहालले बाढीपहिरोका कारण बाटो बिग्रिएको र त्यसले गर्दा सामान आयातमा समस्या भएको बताए ।

भारतबाट थोरै मात्रामा सामान ल्याएर बिक्री भइरहे पनि समग्रमा व्यापार सन्तोषजनक नरहेको उनको भनाइ छ । ‘दशैं नजिकिँदै गर्दा पनि बाहिरबाट मानिसहरू किनमेल गर्न आएका छैनन्, चहलपहल देखिएको स्थानीय ग्राहकले हो,’ उनी भन्छन्, ‘एक त नयाँ समान पनि आएन, अर्को भएको सामान बेच्न आन्दोलनले माहोल बिगार्‍यो ।’

न्युरोड क्षेत्रमा मानिसको भिडभाड देखिए पनि नयाँ डिजाइनका लुगाफाटा नआएकाले सामान खोज्न मात्रै आएर फर्किने गरेको दाहाल सुनाउँछन् ।

‘बाढीपहिरो, आन्दोलन र सामान अभावले गर्दा यसपालिको दशैंमा व्यापार चौतर्फी रूपमा प्रभावित हुने निश्चित छ,’ अध्यक्ष दाहाल भन्छन्, ‘यस वर्ष देशमा नसोचेको क्षति र संकट आइपर्‍यो ।’

नयाँ वर्षमा ‘नयाँ’ अभाव

विशेषगरी कपडा बजारमा यस वर्ष ‘नयाँ’ को अभाव खट्किएको छ, जसले गर्दा व्यापारी चिन्तित छन् भने उपभोक्ता निराश । नयाँ बानेश्वरकी कपडा व्यवसायी मिथिला खड्काका अनुसार यस वर्ष दशैंको व्यापारमा भारी गिरावट आएको छ । र, बजारमा चहलपहल पनि उल्लेख्य रूपमा कम भएको छ ।

‘पहिलेको जस्तो व्यापार छैन, चहलपहल पनि धेरै कम छ,’ खड्काले भनिन्, ‘दशैंका लागि भनेर चीनबाट नयाँ लुगा आयात भएका छैनन्, बजारमा नयाँ डिजाइनका कपडा उपलब्ध छैनन् ।’

सामान्यतया दशैंको मुखमा नयाँ फेसन र डिजाइनका कपडाको बाढी आउने गर्थ्यो ।

अहिले अधिकांश पसल पुरानै स्टकका कपडा बेच्न बाध्य छन् । खड्काका अनुसार हाल भारतबाट सीमित मात्रामा कुर्था सुरुवाल र सारीहरू मात्रै आएका छन् । ‘नयाँ लुगा नआएकाले ग्राहकले आवश्यकता पर्ने सामान मात्रै किनेर लैजाने गरेका छन्,’ उनले भनिन्, ‘दशैंको विशेष लुगा किन्न आउने ग्राहकहरू कोही पनि छैनन् ।’

बाढी, आन्दोलन र आर्थिक मन्दीको दोहोरो मार

व्यापार सुस्ताउनुमा गत वर्षदेखि नै सुरु भएका विभिन्न प्रतिकूलताले निरन्तरता पाएको व्यवसायी बताउँछन् । मिथिला खड्काले गत वर्ष दशैंमा पनि बाढीका कारण व्यापार खस्किएको र धेरै मानिस घर जान नपाएको स्मरण गरिन् । यस वर्ष पनि परिस्थिति उस्तै रहेको उनको भनाइ छ ।

अवरुद्ध आयात र दशैंमा सामानको अनिश्चितता

राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष मनोजबाबु श्रेष्ठ नेपालको समग्र आर्थिक अवस्था अत्यन्त नाजुक रहेको र निजी क्षेत्र पूर्णत: धराशायी बनेको बताउँछन् ।

चाडबाडको मुखमा अत्यावश्यक वस्तु आयात ठप्प हुँदा बजारमा सामान अभाव भएको र यसले व्यवसायीलाई गम्भीर संकटमा धकेलेको उनको भनाइ छ ।

नेपालको व्यापारिक नाका केरुङ दुई महिनादेखि पूर्णरूपमा बन्द छ, जसका कारण त्यहाँबाट कुनै पनि सामान आयात हुन सकेको छैन । त्यस्तै तातोपानी नाकाबाट पनि करिब एक महिनादेखि सामान नआएको उनले उल्लेख गरे । यसको प्रत्यक्ष असर बजारमा देखिएको छ ।

केही दिनअघि कोरला नाकाबाट सामान छुट्यो भन्ने हल्ला चले पनि श्रेष्ठले उक्त नाकाबाट हालसम्म कुनै सामान नआएको स्पष्ट पारे ।

‘कोरला नाकामा सामान चाहिँ पठाइएको छ, तर त्यहाँबाट भन्सार पास भएर सामान निस्किएको भने छैन,’ उनले भने, ‘भन्सार प्रक्रियामा रहेका ती सामान दशैंअघि बजारमा आइपुग्ने सम्भावना अत्यन्त न्यून छ ।’

दशैंपछि मात्र स्थिति केही सहज हुन सक्ने अनुमान व्ययवसायीको छ । श्रेष्ठले यो दशैंमा सबै उपभोक्ताले नयाँ लुगा किन्नै पाउने अवस्था नरहेको बताए ।

‘पहिला आएर स्टक भएका सामान व्यापारीले बेचिराखेका छन्, त्यसमा पनि कतिले अलिअलि बाँकी भएको पुरानो पनि मिसाएर बेचिरहेका छन्,’ उनले भने ।

भारतबाट आयात भएका केही सामान बिक्री भइरहे पनि ती सामान  जेनजी प्रदर्शनका कारण सडक अवरुद्ध हुँदा प्रभावित भएको उनले उल्लेख गरे ।

जेनजी प्रदर्शनले निजी क्षेत्रमा पारेको असर

बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले समस्या पारिरहेकै बेला हालैको आन्दोलनले निजी क्षेत्रमाथि थप प्रहार गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘जेनजीले गरेको आन्दोलनमा निजी क्षेत्रको पूर्ण समर्थन थियो किनभने उनीहरूले भ्रष्टाचारको अन्त्य र सर्वसाधारणले गरी खाने वातावरण बनाइ रोजगारी सिर्जना गर्न माग गरेका थिए,’ उनी भन्छन्, ‘तर, आन्दोलन अनियन्त्रित भई नचाहिने मान्छेले घुसपैठ गर्दा यसको परिणाम स्वरूप निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्‍यो ।’

अस्थिर भविष्य र व्यवसायीको चिन्ता

श्रेष्ठका अनुसार घटस्थापनाको तीन–चार दिन अघिसम्म मात्रै होलसेल र खुद्रा क्षेत्रमा व्यापार हुने गरेकोमा अहिले अझै पनि अन्योल नै छ ।

बाटोको अवस्था अझै टुंगो नलागेको र त्यसलाई खुलाउन कुनै पनि निकायले पहल गर्ने अवस्था नरहेको भन्दै उनले यसले थप असर गर्ने चिन्ता व्यक्त गरे ।

यसले गर्दा दशैंअघि रोकिएका सामान बजार आएर बेचबिखन हुने र अर्थतन्त्र चलायमान बनाउने सम्भावना नरहेको उनको निष्कर्ष छ । उनले व्यवसायीहरूको ऋण, बैंकको ब्याज, सहकारीको ऋण र व्यक्तिगत लगानी सबै जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरे ।

‘व्यवसायी त धेरै विस्थापित हुने सम्भावना देखियो, बैंकको ब्याज, सहकारीको ब्याज कसरी तिर्ने ?’, उनी प्रश्न गछनर््, ‘व्यवसायलाई कसरी व्यवसाय पुनर्जीवित राख्ने भन्ने चिन्ता छ ।’

महिनौंदेखि नाकाका कारण सामान रोकिएर धेरै व्यवसाय विस्थापित हुने सम्भावना बढेको उनको भनाइ छ ।

मुस्ताङ भन्सारमा दशैंका सामान रोकिए

मुस्ताङको कोरला नाकाबाट आयात हुने तयारी पोशाक तथा विद्युतीय सवारीसाधन (ईभी) सहितका सयौं कन्टेनर सामान भन्सार कार्यालयमै रोकिएका छन् । मुस्ताङ भन्सार कार्यालयका भन्सार प्रमुख रमेश खड्का नाकाबाट गाडीको भन्सार पास प्रक्रिया बल्ल सुरु भएको बताए ।

मुस्ताङ भन्सार कार्यालयमा रोकिएका मालबाहक सवारी साधन। तस्वीर: भन्सार कार्यालय

उनका अनुसार चिनियाँ नाकाबाट आएका १ सय ५१ वटा विद्युतीय सवारीसाधन र ६७ वटामध्ये तयारी पोशाक बोकेका ६५ गाडीहरू भन्सार परिसरमै रोकिएका छन् ।

भन्सारमा रोकिएका ६७ वटा कन्टेनरमध्ये दुईवटाको जाँचपास भइसकेको छ । ‘आइतबारदेखि काम गर्ने कुरो हो, तर यहाँ इन्टरनेट नै छैन,’ भन्सार प्रमुख खड्काले भने, ‘वाईफाई र नेपाल टेलिकमको डाटाले काम नगरेपछि अनलाइन प्रक्रिया अघि बढ्न सकेको छैन ।

हिजो अलिअलि नेट चल्न थालेपछि केही काम भएको थियो ।’ नेपाल राष्ट्र बैंकले आजै मात्रै मुस्ताङ भन्सार कार्यालयलाई लक्षित गरी बैंकहरूलाई प्रतिपत्र खोल्न अनुमति दिएको छ । उनले सोही परिपत्रअनुसार बैंकहरूले आजदेखि नै विदेशी विनिमय नियन्त्रण फारम बनाउन थालेको र अहिले भर्खरै इन्ट्री गर्न थालेको जानकारी दिए ।

मुस्ताङ भन्सार कार्यालयमा रोकिएका सवारी साधन। तस्वीर: भन्सार कार्यालय

विशेषगरी चाडपर्वमा अत्यधिक माग हुने खाद्यान्न, तरकारी तथा फलफूलजस्ता सामग्रीको आयात मुस्ताङ नाकाबाट असम्भव देखिएको छ । उनका अनुसार यस नाकामा क्वारेन्टाइनका लागि आवश्यक पूर्वाधार नहुँदा खाद्य, पशु तथा प्लान्टजन्य वस्तुको अनलाइन स्वीकृति र जाँचपास गर्न सकिँदैन ।

रसुवागढी नाका असार २४ गतेको बाढीले पुल बगाएपछि पूर्ण रूपमा ठप्प छ । यस्तै तातोपानी नाकाको माथि पहिरो गएका कारण आवागमन प्रभावित भए पनि स्याउजस्ता सामानहरू बोकाएर ल्याउने गरिएको छ । तर, यसरी बोकेर ल्याउँदा लागत महँगो पर्न जान्छ ।

अकल्पनीय घटनाले व्यवसायीको मनोबल र मानसिकतामा असर

नेपाल समुद्रपार निकासी पैठारी संघ महासचिव जयन्तकुमार अग्रवाल हालैका अकल्पनीय घटनाले व्यवसायीका मनोबल र मानसिकतामा ठूलो असर पारेको बताउँछन् ।

उनी अधिकांश भन्सार कार्यालयमा पूर्वाधारको कमीकमजोरी रहेका कारण भन्सार जाँचपासमा कठिनाइ भइरहेकाले सामान आउन नसकेको बताउँछन् ।

यद्यपि, केही भन्सारबाट पेरिसेबल गुड्स (नाशवान् वस्तु) र अन्य आवश्यक सामान जाँचपास भई छुट्न थालेको उनको भनाइ छ । तर, बैंकहरूबाट धेरै डकुमेन्टहरू रिलिज हुन बाँकी रहेको अवस्था छ ।

यसबाहेक डेमोरेज र डिटेन्सन (ढिलोका कारण लाग्ने शुल्क) को समस्याले पनि व्यवसायीलाई थप मार परिरहेको उनी बताउँछन् ।

अवरुद्ध नाका र न्यून आयात

नाकाहरूमा अवरोध, कमजोर पूर्वाधार र पछिल्ला आन्दोलनले निजी क्षेत्रमा गम्भीर असर पुगेको नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली बताउँछन् ।

उनका अनुसार मितेरी पुलको पुनर्निर्माण चीन पक्षबाट भइरहेको र नेपालतर्फको बाटो मर्मत भइरहेकाले केही दिनमा खुल्ने अपेक्षा गरिए पनि दशैंअघि ठूलो मात्रामा सामान आउने सम्भावना कम छ ।

तातोपानी नाकामा पहिरो गएका कारण ठूलो मात्रामा गाडी चल्न नसके पनि दिनको चार–पाँच गाडीसम्म सामान व्यवसायीले बोकाएर नेपाल भित्र्याइरहेका छन् ।

यसरी बोकाएर ल्याइने सामानमा स्याऊ, अंगुर र हलुवाबेद जस्ता फलफूल मुख्य छन् । तर, विभिन्न किसिमका र छिट्टै बिग्रिने (पेरिसेबल) फलफूल तथा खाद्यान्न भने आयात हुन सकेको छैन ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?