 
																			३१ भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलका प्रतिनिधिसहितको संयुक्त सरकार बनाउन गरेको प्रस्ताव आफूले अस्वीकार गरेको बताएकी छन् ।
मंगलबार बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलको हरेक राजनीतिक दलहरूका एक एक जना सदस्य पनि राखेर मन्त्रिमण्डल बनाउन सुझाव दिएको बताएकी हुन् ।
‘राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने हरेक राजनीतिक दलका एकएक जना सदस्य लिएर निर्वाचनको बृहत् मन्त्रिमण्डल बनाउनुस् भन्नुभएको थियो। मैले उहाँलाई त्यस्तो राम्रो हुँदैन भनेँ,’ उनले भनिन्, ‘मैले राजनीतिमा नलागेको स्वतन्त्र व्यक्ति हुनुपर्ने धारणा राखें ।’
प्रधानमन्त्री कार्कीले थपिन्, ‘राजनीतिमा गएको (व्यक्ति) रहेछ भने त्यस्तोलाई हटाएर गैरराजनीतिक बरू कुनै संस्थामा काम गरेको अथवा सचिवहरू त्यस्तो व्यक्तिहरू जनजाति, दलित, महिला र पिछडिएको वर्ग ल्याउने पक्षमा छौँ ।’
कार्कीले अन्तरिम सरकारका लागि फेरि चुनावमा नजाने मानिसलाई खोजेको स्पष्ट पारिन् । ‘निर्वाचनमा जाँदा जुन मन्त्रिमण्डलको पावर हुन्छ हेलिकोप्टरको सुविधा के को सुविधा त्यो हुन्छ’ उनले भनिन्, ‘फेरि मैले निर्वाचनमा नजाने मानिसलाई खोजेको हो। निर्वाचनमा जाने हो भने त निर्वाचनमा गइहाल्छन् अनि काम के हुनु ?’
निर्वाचन र मन्त्रिमण्डल बिस्तारबारे के भनिन् प्रधानमन्त्रीलेः
तपाईंको योजना के छ मन्त्रिपरिषद विस्तारलाई लिएर ?
मन्त्रिपरिषदमा हामी करिब १० देखि ११ भन्दा राख्दैनौं। छोटो मिठो राख्छौं र २५ वटा जति होलान् मन्त्रालय । डबल-डबल कसको के क्षमता छ त्यही क्षमता हेरेर गर्ने हाम्रो विचार छ ।
विगतमा हेर्ने हो भने प्रधानमन्त्री कुनै दलबाट आउनुभएको हुन्थ्यो । त्यहाँ को हुने भन्ने विकल्पहरू धेरै हुन्थे । अहिले तपाईं एकाएक आउनुभयो एउटा जेन-जी आन्दोलनपछि । तपाईं कसरी चयन गर्नुहुन्छ ? मन्त्रिपरिषदमा को राख्ने भनेर ?
प्रश्न के उठ्यो भने उहाँहरू पोलिटिकल हो। म त निर्वाचन गराउनेसम्मको, मेरो म्यान्डेट त त्यो मात्रै हो। त्यसपछि सुशासनको कुरा र अलिकति भ्रष्टाचारको हेर्ने । यो अहिले आन्दोलनरत ग्रुप जो छ, उसले भ्रष्टाचार बारे पनि आवाज उठाएको हुनाले त्यहाँसम्म हो म्यान्डेट मेरो। मेरो उहाँहरूको जस्तो लामो प्रक्रिया छैन र समय पनि छोटो छ।
त्यसैले मलाई त्यति अप्ठ्यारो पर्छ जस्तो लाग्दैन किनभने मेरो कन्सन्ट्रेसन् इलेक्सन हो।
अहिले मन्त्रिपरिषद चार सदस्य बन्यो । यसको विस्तार बारे तपाईंको योजना के छ? कति सदस्य बन्छ? कस्ता मान्छेहरू आउँछन्? तपाईंले त्यो त्यसको गृहकार्य थालिसक्नु भएको छ अथवा के छ?
राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने तपाईं पोलिटिकल पार्टीका हरेक पार्टीका एक-एक जना सदस्य लिएर मन्त्रिमण्डल बनाउनुस्। र, त्यो बृहत् मन्त्रिमण्डल निर्वाचनको मन्त्रिमण्डल बनाउनुस् भन्या थियो।
मैले उहाँलाई भनेँ- त्यस्तो राम्रो हुँदैन। इन्डिपेन्डेन्ट मान्छे हुनु पर्दछ। जो नन एलाइन हुन्छन् । जो कुनै पोलिटिक्समा नलागेको मान्छे चाहिन्छ। अब गर्नेमा हामीले समावेशीलाई हेर्नुपर्ने छ। त्यसमा चाहिँ जनजाति, दलित, महिला, पिछडिएको पनि भरसक भयो भने त्यस्तो व्यक्तिहरुको चाहिँ हामी खोजीमा छौं। नाम त थुप्रै आएको छ।
तर त्यसमध्येमा हामी के हेर्दै छौं भने पोलिटिक्स गर्नुभएको छ कि छैन? पोलिटिक्समा गएको रहेछ भने त्यो हटाएर, त्यस्तोलाई हटाएर नन-पोलिटिकल बरू कुनै संस्थाहरूमा काम गरेको अथवा सचिवहरू, त्यस्तो व्यक्तिहरू जाति, जनजाति, दलित, महिला र पिछडिएको वर्ग, त्यो आधारमा हामी ल्याउने पक्षमा छौं।
राष्ट्रपतिको सुझावअनुसार दलहरूबाट अनुभवसहित आएका मानिसहरूप्रति तपाईंलाई विश्वास भएन कि, किन तपाईंले त्यो अस्वीकार गर्नुभयो ?
त्यस्तो होइन। मलाई के लाग्यो भने मेरो अनुभव हो। यदि म दलीय सदस्यहरूलाई म लिउँ भने उहाँले निर्वाचनमा त्यसलाई भजाउने कोसिस गर्नुहुन्छ।
त्यो निर्वाचनमा जाँदा खेरि त्यो जुन मन्त्रिमण्डलको पावर हुन्छ नि हेलिकप्टरको सुविधा के को सुविधा उहाँहरूले त्यो हुन्छ । अनि फेरि अर्को कुरा के हुन्छ भने मैले निर्वाचनमा नजाने मानिसहरूलाई खोजेको हो। निर्वाचनमा जाने भने त निर्वाचनमा गइहाल्छन्। अनि काम के हुनु? अनि काम त हुँदैन।
त्यसैले बरू निर्वाचनमा नजाने खालको इन्डिपेन्डेन्ट क्यारेक्टरको अनि हामीले अहिले त हाम्रो संविधान अनुसार त जाति जनजाति सबै हामीले लिनै पर्छ। त्यो खोज्दा र एकदम स्वतन्त्र व्यक्तिहरू खोज्दा मलाई अलिकति समय लागेको ।
तपाईंसँग अरू दलहरू जस्तो सल्लाह गर्ने सुविधा छैन । त्यसरी चयन गर्ने प्रक्रिया के हो ?
हाम्रो केही साथीभाइहरू हुनुहुन्छ। हामीलाई कोअपरेट गर्नेहरूलाई सोधिरहेका छौं। त्यसैबाट होमवर्क गरिरहेका छौं। यो उहाँ कस्तो हो? उहाँ कस्तो हो? के खालको हो? अनि फेरि सोधौं उहाँलाई। इच्छा छ कि छैन, त्यो पनि सोध्नु पर्यो ।
त्यही सोधेर हामीले तीनजनाको त अहिले फत्ते गर्यौं। अब हाम्रो नेम लिस्टमा अलिकति अरू पनि काम बढी भएको हुनाले त्यतातिर लाग्नाले यतातिर लागेको छैनौं। जसलाई इच्छा छ जो खुशीसाथ यतिखेर मद्दत गर्छ। यो त अभियान हो नि यो त ! यो खाली निर्वाचनको अभियान हो।
निर्वाचनमा यस्तो प्रयास होस् कि यो निर्वाचनको काम हुँदा पनि भारतमा टिएन सेसनले गरेको जस्तो गरेर होस् । सबै कुरो एउटा कानुन र नियम अनुसार होस् । कहिँ पनि त्यस्तो मिस्टेक नहोस् र ती सबै साथीहरूले सहयोग गरेर एउटा राम्रो सरकार बनोस् । संसद पनि राम्रो होस् भनेर हामीले त्यो सोच राखेर धेरै होमवर्क गरेको हो । धेरै मानिसहरूसँग हामी कुरा गरिरहेका छौं ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4