News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड अभिनेता तथा निर्देशक रोबर्ट रेडफोर्डको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको छ।
- अमेरिकी अभिनेत्री जेन फोंडाले रेडफोर्डको निधनमा 'उहाँ हरेक हिसाबले एक अद्भुत मानिस हुनुहुन्थ्यो' भनेकी छिन्।
- रेडफोर्डले सनडान्स फिल्म फेस्टिभल स्थापना गरेका थिए र ४० वर्षको उमेरपछि निर्देशनतिर लागेका थिए।
लस एन्जलस । हलिउड अभिनेता तथा निर्देशक रोबर्ट रेडफोर्डको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
रोबर्टको पब्लिसिटी फर्म, रोजर्स एण्ड कोवान पीएमकेकी प्रमुख कार्यकारी सिन्डी बर्गरले उनको मृत्युको पुष्टि गरिन् । यद्यपि, मृत्युको कारण अझै सार्वजनिक गरिएको छैन ।
उनको निधनमा हलिउड र बउनका प्रशंसकले दुःख व्यक्त गरेका छन् ।
अमेरिकी अभिनेत्री जेन फोंडाले एसोसिएटेड प्रेसलाई भनिन्, ‘आज बिहान जब मैले बब (रोबर्ट रेडफोर्ड) अब रहेनन् भन्ने पढेँ, म गहिरो स्तब्ध भएँ । आँसु थाम्न सक्दिन । उहाँले मेरो लागि धेरै अर्थ राख्नुहुन्थ्यो’ उनले भनिन् ।
उनले भनिन्, ‘उहाँ हरेक हिसाबले एक अद्भुत मानिस हुनुहुन्थ्यो । उहाँ सँधै अमेरिकाको पक्षमा उभिनुभयो ।’
एसोसिएटेड प्रेससँगको कुराकानीमा अभिनेता लियोनार्दो डिक्याप्रियोले भने, ‘हाम्रो समुदायको लागि यो ठूलो क्षति हो । उहाँ एक प्रतिभाशाली अभिनेता मात्र होइन, महान निर्देशक पनि हुनुहुन्थ्यो ।’
उनले अघि भने, ‘क्विज शो’जस्ता उनका फिल्म यसको उदाहरण हुन् । उनी राजनीतिक थ्रिलर बनाउने पहिलो व्यक्तिमध्ये एक थिए । ‘थ्री डेज अफ द कन्डोर’ र ‘अल द प्रेसिडेन्ट्स मेन’जस्ता उनका फिल्म यसका प्रमाण हुन् ।’
अभिनेता डिक्याप्रियोले रेडफोर्ड आदिवासी जनजातिको अधिकार र पर्यावरण संरक्षणमा पनि सक्रिय रहेको बताए ।
उनको मृत्युमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘रोबर्ट रेडफोर्ड एक महान अभिनेता थिए । उनीसँग त्यस्ता वर्षहरू थिए जतिबेला उनीभन्दा राम्रो कोही थिएन ।’
रेडफोर्डलाई हलिउडका सबैभन्दा सफल अभिनेता मध्ये एक मानिन्थ्यो । उनका प्रसिद्ध चलचित्रमा ‘बुच क्यासिडी एण्ड द सनडान्स किड’ (१९६९), ‘अल द प्रेसिडेन्ट्स मेन’ (१९७६), र ‘थ्री डेज अफ द कन्डोर’ (१९७५) समावेश छन् ।
‘बुच क्यासिडी एन्ड द सनडान्स किड’ मा उनले एक पुरानो पश्चिमी पात्रको भूमिका निर्वाह गरे । ‘अल द प्रेसिडेन्ट्स मेन’ मा उनले वाटरगेट काण्डको बारेमा लेखिएको पुस्तकमा आधारित पत्रकार बब वुडवर्डको भूमिका निर्वाह गरे ।
’द स्टिङ’ (१९७३) मा उनको अभिनयको लागि उनी अस्कर अवार्डको लागि मनोनित भएका थिए ।
रेडफोर्ड ४० वर्षको उमेरपछि निर्देशनतिर लागे । उनको पहिलो फिल्म ‘अर्डिनरी पिपल’ (१९८०) थियो । यो फिल्म छोराको मृत्युपछि टुक्रिन थाल्ने परिवारको कथा थियो । यो कथा उनको आफ्नै जीवनसँग पनि प्रतिध्वनित भयो, किनकि उनले किशोरावस्थामा आफ्नी आमा गुमाइसकेका थिए ।
‘अर्डिनरी पिपल’ले सर्वश्रेष्ठ चलचित्र र सर्वश्रेष्ठ निर्देशक सहित चार अस्कर अवार्ड जित्यो । रेडफोर्ड अभिनेता र निर्देशक मात्र थिएनन्, उनी सनडान्स फिल्म फेस्टिभलका संस्थापक पनि थिए, जसले विश्वभरका स्वतन्त्र फिल्म निर्मातालाई प्लेटफर्म प्रदान गर्यो ।
रेडफोर्डले सन् १९५८ मा लोला भान वागेननसँग विवाह गरे । उनीहरूका चार सन्तान थिए, जसमध्ये एकको बाल्यकालमै मृत्यु भयो । पछि उनले सन् २००९ मा सिबिल साग्गार्ससँग विवाह गरे ।
प्रतिक्रिया 4