+
+
Shares
जेन-जी प्रदर्शन :

रेडियो नेपालका कर्मचारी : आफू जोगिए, प्रहरी जोगाए

‘यहाँ प्रहरी आउने कुरै हुँदैन । रेडियो नेपाल हो, पछाडि सेनाको ब्यारेक छ । यो सैनिक एरिया पनि हो,’ रेडियो नेपालका कर्मचारीहरूले प्रदर्शनकारीलाई सम्झाए । महिला प्रदर्शनकारीहरू पनि थिए । केही प्रदर्शनकारीले पत्याए अनि फर्किन अरूलाई पनि भने ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ असोज १ गते २१:५३

१ असोज, काठमाडौं । २४ भदौमा सिंहदरबार जल्न सुरु गर्दा रेडियो नेपालका कर्मचारीहरू काममै थिए । त्यति नै बेला प्रहरीको एउटा समूह आत्तिंदै रेडियो नेपाल परिसर छिर्‍यो ।

१०-१२ जनाको समूहमा आएका कतिपय प्रहरीले कपडा फुकालेका थिए । एकजना त सेन्डो र पेन्टीमै थिए ।

रेडियो नेपालमा कार्यरत राजेन्द्रविक्रम शाही भन्छन्, ‘उनीहरू प्रदर्शनकारीभन्दा पहिले रेडियो नेपाल प्रवेश गरेका थिए । कतिपयले कपडा फुकालेर आएका थिए । एकजना हवलदारले त सेन्डो र पेन्टी मात्र लगाएका थिए । उनलाई रेडियो नेपालका कर्मचारीले पछ्यौरा दिए । पछ्यौरालाई कछाडझैं बेरेर उनी कार्यालयको एक छेउमा लुके ।’

शाहीका अनुसार प्रहरीहरू हतियारसहित थिए । हतियार रेडियो नेपाल कार्यालयको टेबुलमुनि लुकाए । आफू पनि लुके । केहीबेरमै प्रदर्शनकारी रेडियो नेपाल परिसर पुगिहाले ।

‘गेट बन्द थियो । छोड्-छोड् भन्दै प्रदर्शनकारी आए’, शाही भन्छन्, ‘उनीहरूलाई सम्झाउन को जाने भन्ने जस्तो भयो । म अगाडि सरेँ । उनीहरूलाई हात जोडेर भनें- यो रेडियो नेपाल हो, तपाईंहरूका कुरा पनि राख्ने ठाउँ हो । तोडफोड नगरौं प्लिज ।’

एकातिर प्रहरी लुकेका छन्, अर्कातिर उनीहरूलाई खोज्नै प्रदर्शनकारी आएका छन् । यस्तो अवस्थामा के गर्ने ? रेडियो नेपालका कर्मचारीहरू त्रसित भए ।

रेडियो नेपालका कर्मचारीहरू प्रदर्शनकारीलाई रोक्न लागि परे । गेटभित्र रेडियो नेपालका कर्मचारी थिए भने गेट बाहिर प्रदर्शनकारी । उनी भन्छन्, ‘एक हुल आयो, सम्झायो, फेरि अर्को आउँछ सम्झायो । एउटा हुल फर्किएपछि अब आउँदैनन् होला भनेको त झन् उग्र भएर अर्को हुल आयो ।’

उनका अनुसार प्रदर्शनकारीमध्ये एउटाले भन्यो- यहाँ प्रहरी लुकेको छ । हामी खोज्छौं, प्रहरी नभए केही गर्दैनौं ।’

एकातिर प्रहरी लुकेका छन्, अर्कातिर उनीहरूलाई खोज्नै प्रदर्शनकारी आएका छन् । यस्तो अवस्थामा के गर्ने ? रेडियो नेपालका कर्मचारीहरू त्रसित भए ।

‘यहाँ प्रहरी आउने कुरै हुँदैन । रेडियो नेपाल हो, पछाडि सेनाको ब्यारेक छ । यो सैनिक एरिया पनि हो’, रेडियो नेपालका कर्मचारीहरूले प्रदर्शनकारीलाई सम्झाए । महिला प्रदर्शनकारीहरू पनि थिए । केही प्रदर्शनकारीले पत्याए अनि फर्किन अरूलाई पनि भने ।

रेडियो नेपालको गेटतर्फ आएर फर्किएका महिला प्रदर्शनकारीलाई उद्योग मन्त्रालयको भवन पनि रेडियो नेपाल र सेनाकै एरिया भएको बताएपछि त्यहाँ तोडफोडमा रहेकालाई सम्झाएर लगे ।

रेडियो नेपालकै अर्का कर्मचारी तुलसी सापकोटा त्यस दिन अफिस जाँदा नै मन त्रसित भएको बताउँछिन् । भक्तपुर बस्ने उनी बिहान अफिस जाँदा भक्तपुरदेखि जडीबुटी, कोटेश्वर, बानेश्वर संसद् भवन पछाडि हुँदै सिंहदरबार पुग्दासम्म अवस्था सामान्य नै थियो । तर कार्यालय पुगेर काममा बसेपछि दिउँसो हुँदै गयो उति अवस्था असामान्य बन्दै गयो ।

‘खबर आयो, जेन-जीले संसद् भवन जलाए,’ सापकोटा भन्छिन्, ‘रेडियो नेपालको छतमा गएर नियाल्दा संसद् भवनबाट धुवाँको मुस्लो निस्किरहेको थियो ।’

दिउँसो साढे दुई बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आयो । त्यति बेलासम्म सिंहदरबारको चारैतिर प्रदर्शनकारीले घेरिसकेका थिए, तर भित्र प्रवेश गरेका थिएनन् ।

सिंहदरबारको बाहिरपट्टि कोलाहल, केही पड्केको ठूलाठूला आवाज सुनिन्थे । आकाशमा सेनाको हेलिकप्टर घुम्न थाल्यो । सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयमा आगजनी भयो । त्यसपछि रेडियो नेपालका कर्मचारीहरू पनि कार्यालयको प्राङ्गणमा जम्मा भए ।

हेर्दाहेर्दै एमाले र कांग्रेसको दलको कार्यालयमा आगो लगाए । रेडियो नेपालको पूर्वपट्टि रहेका ती कार्यालयमा आगो दन्किरहँदा सापकोटा र अर्की कर्मचारी सरिता खनाल रेडियो नेपालको मूल गेटतर्फ गए ।

अहिले सम्झिँदा शाही लगायतका कर्मचारी जो प्रदर्शनकारीलाई गेटमा रोक्न लागि परेका थिए, उनीहरूलाई सपना जस्तो लाग्छ । सोमबार रेडियो नेपाल परिसरमा गफिँदै गर्दा शाही भावुक बने, ‘निद्रा पर्न गाह्रो हुन्छ । निदाइहाले पनि प्रदर्शनकारीले लखेटेको देख्छु । सिंहदरबार जलिरहेको देख्छु । मानसिक बिरामी भइयोझैँ लाग्छ ।’

‘मूल गेट पुग्दा साथी राजेन्द्रविक्रम शाही त्यहाँ हुनुहुन्थ्यो,’ सापकोटा भन्छिन्, ‘हामी गेटमा आउने जेन-जी युवाहरूलाई सम्झाउन लाग्यौँ । साना-साना समूहमा आउनेलाई त सम्झाउन सजिलै हुन्थ्यो तर ठूलो भिडलाई सम्झाउन हम्मे पर्थ्यो । कतै ठूलो भिडले आफूलाई नै त केही गर्दैन भन्ने जस्तो पनि लाग्थ्यो ।’

‘धुवाँले आँखा हेर्नै नसक्ने अवस्था थियो । आगो लागेपछि पड्किएका गाडीका आवाज, चिच्याएको र तोडफोडको आवाज, कतै केही नदेखिने कहालीलाग्दो अवस्था थियो,’ सापकोटा सम्झिन्छन्, ‘त्यतिबेला आफ्नोभन्दा रेडियोको माया लाग्यो । हामी सम्झाउन लाग्यौं । त्यस्तो भिडमा पनि बुझ्ने केही युवा भेटिन्थे । रेडियो नेपाल हो भनेपछि बुझ्थे र आफैँ भिड फर्काउन मद्दत पनि गर्थे ।’

उनका अनुसार पटकपटक भिड आइरहन्थ्यो । उनी भन्छिन्, ‘म सरिता, राजेन्द्र र मुकुन्द भण्डारीले सम्झाउने र फर्काउने काम गरिरह्यौं । यस्तो क्रम झन्डै तीन घण्टा चल्यो ।’

‘हाकिम छ छैन, पुलिस छ भने छोड्दैनौं’ प्रदर्शनकारी भन्थे । सापकोटाका अनुसार ‘हाकिम र पुलिस भित्र छन् भने बाहिर ल्याऊ, होइन भने तपाईंहरूलाई पनि खतरा छ भन्दै धम्क्याउँथे’ ।

समाचार प्रमुख को हो भनेर भिडले सोधीखोजी गर्न थालेपछि राजेन्द्रले यो खबर समाचार प्रमुख पवन प्याकुरेल, उपनिर्देशक प्रमोद दाहाल र निमित्त नायव कार्यकारी निर्देशक पुष्करराज गौतमकहाँ पुर्‍याए ।

बाँकीले प्रदर्शनकारीलाई ‘रेडियो नेपाल तपाईँको पनि हो । सधैँ चाहिन्छ, बरु तपाईँको प्रतिनिधि बोल्न चाहनुहुन्छ भने बोल्न सक्नुहुन्छ भन्दै सम्झाउन लागिरहे ।’

रेडियो नेपाल परिसरमा रहेका प्रदर्शनकारी अर्कोतर्फ मोडिए । अब त आउँदैनन् होला भन्ने रेडियो नेपालका कर्मचारीहरूलाई लाग्यो । हाकिमबारे सोधीखोजी भएकाले केहीमा त्रास पनि भयो । कतिपयको ड्युटी समय सकिएको थियो । अधिकांश कर्मचारीहरू घर हिँडे ।

करिब सवा ६ बजेसम्म रेडियो नेपालको कार्यालयमा कुनै क्षति भएको थिएन ।

राजेन्द्रविक्रम शाहीका अनुसार धेरै कर्मचाीहरू निस्किसकेको अवस्थामा फेरि अर्को हुल आयो, बाइकले सिधै गेटमा हान्यो, गेट खुल्यो । त्यसपछि रेडियो नेपालको ओभी भ्यानमा ढुंगा हाने । प्रशासनिक भवनको झ्यालको सिसा फुटाए । केही कम्प्युटरमा क्षति पुर्‍याए ।

दुई-तीन जना नयाँ भवनमा छिरे । ‘नयाँ भवनमा छिरेर आगो लगाउन खोजेका रहेछन् । मैले प्लिज सर भनेर हात जोडेँ,’ शाही भन्छन्, ‘पश्चिमका व्यक्ति रहेछन् । पश्चिमेली टोनमै यो हाम्रो सबैको संस्था हो । यसले सबैको कुरा गर्छ, नजिकै सेना छ । यहाँ असर गर्दा सेनालाई असर गर्छ र ठूलो विस्फोट हुनसक्छ भनेँ । त्यसपछि उनीहरू सरक्क निस्किए ।’

रेडियो नेपालसँगै जोडिएको सडक पारी नेकपा एमाले र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय छ । दुवै कार्यालय ध्वस्त भएका छन् । यस्तो अवस्थामा समेत कर्मचारीहरूले अनेक गरेर रेडियो नेपाल जोगाए ।

 

शाहीले बाहिर पनि यस्तै भाषा प्रयोग गरे । यो रेडियो नेपाल र सेनाको एरिया हो । आगो लाग्यो भने कोही बाँच्दैनौं । त्यसैले यसलाई जोगाऔं भन्ने उनको आग्रह थियो ।

त्यसपछि प्रदर्शनकारी फर्किए ।

रेडियो नेपालमा प्रदर्शनकारी छिर्न खोज्दा र कर्मचारीले रोकिरहँदा रेडियो नेपाल प्रसारण भइरहेको थियो । साँझतिर पूर्वकर्मचारी हरिशरण लामिछाने स्टुडियोमा गएर लाइभ गरे ।

उनी अन्य कर्मचारीलाई माथिबाट अनुमति लिएको भनेर प्रत्यक्ष प्रसारणमा पुगेका थिए । लामिछानेले स्टुडियोमा रहेर २० मिनेटसम्म लाइभ गरे । त्यसपछि लामिछाने सहितका व्यक्तिहरू पनि कार्यालयबाट निस्किए ।

राजेन्द्र शाही पनि निस्कन खोजे । रेडियो नेपालका कार्यालय सहयोगी नारायण श्रेष्ठले शाहीलाई रोकिन भने । शाही भन्छन्, ‘तपाईं बस्नुपर्छ भन्नुभयो, अनि म रोकिएँ ।’

प्रहरी कुन बेला निस्किए र सेनाको ब्यारेकतिर गए भन्ने पत्तो भएन । उनी भन्छन्, ‘दुई-तीन दिनपछि आएर यहाँ छाडेका कपडा लिएर गए । उनीहरूले भावुक हुँदै धन्यवाद भन्दा म भावविह्वल हुन्छु ।’

रेडियो नेपाल जोगाउनुपर्छ, यहाँ आएर लुकेका प्रहरीको सुरक्षा गर्नुपर्छ भन्ने मनमा कसरी आयो ?

शाही भन्छन्, ‘आफैँलाई पनि अब बाँचिन्न भन्ने परेको थियो । पहल गरौं भन्ने मनमा आयो ।’

रेडियो नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दक्षिणपट्टि छ । प्रधानमन्त्री कार्यालय पुनर्निर्माण समेत हुन नसक्ने गरी ध्वस्त भएको छ ।

रेडियो नेपालसँगै जोडिएको सडक पारी नेकपा एमाले र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय छ । दुवै कार्यालय ध्वस्त भएका छन् ।

यस्तो अवस्थामा समेत कर्मचारीहरूले अनेक गरेर रेडियो नेपाल जोगाए । रेडियो नेपाल जोगिँदा भौतिक संरचना मात्रै जोगिएन, त्यहाँ लुकेर बसेका प्रहरीको पनि सुरक्षा भयो ।

अहिले सम्झिँदा शाही लगायतका कर्मचारी जो प्रदर्शनकारीलाई गेटमा रोक्न लागि परेका थिए, उनीहरूलाई सपना जस्तो लाग्छ । सोमबार रेडियो नेपाल परिसरमा गफिँदै गर्दा शाही भावुक बने, ‘निद्रा पर्न गाह्रो हुन्छ । निदाइहाले पनि प्रदर्शनकारीले लखेटेको देख्छु । सिंहदरबार जलिरहेको देख्छु । मानसिक बिरामी भइयोझैँ लाग्छ ।’

रेडियो नेपालको कार्यालयका अनुसार रेडियो नेपालबाट एउटा बाइक चोरी भएको छ । चोरी भएको बाइक कर्मचारीको निजी हो ।

रेडियो नेपालकै एउटा कम्युटर चोरी भएको छ । दुईवटा कम्प्युटरमा क्षति पुगेको छ । एउटा ओभी भ्यानमा क्षति पुगेको छ । तीनवटा सरकारी बाइकमा तोडफोड भएको छ । दुईवटा झ्यालका सिसा फुटेका छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?