News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तान क्रिकेट टोलीले यूएईलाई ४१ रनले हराउँदै एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ।
- यूएईले १७.४ ओभरमा १०५ रनमा अलआउट भएको थियो र पाकिस्तानले १४६ रन बनाएको थियो।
- शाहीन अफ्रिदीले २९ रनमा अविजित रहँदै २ विकेट लिएर पाकिस्तानलाई जित दिलाएका थिए।
१ असोज, काठमाडौं । पाकिस्तान क्रिकेट टोली यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ । बुधबार भएको समूह बी को खेलमा आयोजक यूएईलाई ४१ रनले हराउँदै पाकिस्तान अगाडि बढेको हो ।
पाकिस्तानले दिएको १४७ रनको लक्ष्य पछ्याएको यूएई १७.४ ओभरमा १०५ रनमा अलआउट भयो । राहुल चोपराले सर्वाधिक ३५ रन बनाए भने ध्रुव पराशारले २० र कप्तान मुहम्मद वासीमले १४ रन बनाए ।
एक समय १४औं ओभरमा ८५-३ को अवस्थामा रहेको यूएईले त्यसपछि २० रन जोड्दा ७ विकेट गुमायो ।
पाकिस्तानका शाहीन अफ्रिदी, हारिस राउफ र अब्रार अहमदले २-२ विकेट लिँदा सायम अयुब र कप्तान सलमान आघाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो । फखार जमानले सर्वाधिक ५० रन बनाए । शाहीन अफ्रिदी २९ रनमा अविजित रहे ।
सुरुवाती ३ ओभरभित्रै २ विकेट गुमाएको पाकिस्तानलाई बीचमा फखार र कप्तान सलमान आघा मिलेर केही सम्हाले । सलमान २० रनमा आउट हुँदा पाकिस्तान ११ ओभरमा ७०-३ को अवस्थामा थियो ।
त्यहाँबाट ९३-६ को अवस्थामा पुगेको पाकिस्तानका लागि अन्त्यतिर शाहीनले केही ठुला शट खेल्दै सम्मानजनक अवस्थामा पुर्याएका थिए ।
यूएईका जुनेद सिद्धिकीले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । त्यस्तै सिम्रनजित सिंहले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए ।
योसँगै समूह बी बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरेका छन् । समूह ए बाट सुपर फोर खेल्ने टोलीको आज टुंगो लाग्नेछ ।
प्रतिक्रिया 4