
२ असोज, गुल्मी । गुल्मी जिल्लाको तम्घास–बाख्रेछेडा–भाडगाउँ–रातडाँडा सडकखण्ड स्तरोन्नतिको काम जारी छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ को भाडगाउँ हुँदै छिमेकी जिल्ला बाग्लुङ बुर्तिबाङसम्म पुग्ने छोटो मार्ग हो यो ।
यस सडकले गुल्मीका विभिन्न गाउँ र बस्तीहरूलाई जिल्ला सदरमुकाम तम्घाससँग मात्र नभई छिमेकी जिल्लासँग समेत सहज यातायात सुविधा प्रदान गर्नेछ ।
सडक पूर्वाधार विकास कार्यालयले कामले तीव्रता पाएको भनेकाले दशकौंदेखि धुलो–हिलो अवस्थाको सडकबाट हैरान हुँदै आएका स्थानीय बासिन्दालाई सहजरुपमा यात्रा गर्न सक्ने आशा पलाएको छ ।
२०८२ साल वैशाख १० गते सम्झौता भएको सडकमा हाल तीव्र गतिमा काम अगाडि बढिरहेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचिधानन्द चौधरीले बताए । २०८४ साल वैशाख ९ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । सडकको निर्माणको जिम्मा भिमढुंगा–रामजाने–जयबाबा जेभी कम्पनीले पाएको छ ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीको समन्वयमा सञ्चालन भइरहेको यस योजना अन्तर्गत झण्डै ६ किलोमिटर सडकमा कालोपत्रे हुनेछ । कुल लागत १७ करोड ६८ लाख ७३ हजार ५७८ रुपैयाँ रहेको सडक निर्माणको हालसम्मको तीन महिनाको अवधिमा करिब २० प्रतिशत भौतिक प्रगति भइसकेको चौधरीले बताए ।
हाल सडक चौडा पार्ने, ग्याभिङ्ग वाल निर्माण, नाला बनाउने लगायतका कामहरू भइरहेको छ । सडक कालोपत्रे गर्ने गरी भइरहेको कामले खुसी लागेको स्थानीय जमुना खत्रीले बताइन् । उनले स्थानीय उत्पादन सुन्तला लगायतका तरकारी खेतीलाई पनि सहज रुपमा बजारसम्म पुर्याउन यस सडकले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिन् । भाडगाउँ सुन्तलाको लागि पनि प्रख्यात ठाउँ हो ।
सवारी चालक मानबहादुर कुँवर पनि सडक निर्माणले तीव्रता पाएको खबरले खुसी देखिए । ‘वषौंदेखि स्तरोन्नती नभएको सडकमा गाडी चलाउनुपर्दा खर्च बढी आउँथ्यो,’ उनले भने, ‘अब केही सहज हुन्छ भनेर खुसी लागेको छ ।’
रेसुङ्गा नगरपालिका वडानम्बर–३ का वडाअध्यक्ष बाबुराम खत्रीले स्थानीयको लामो प्रतीक्षा र मागलाई सम्बोधन गर्दै सुरु भएको यो सडक कालोपत्रे कार्य सम्पन्न भएपछि यस क्षेत्रको सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
यो सडक निर्माण सम्पन्न भए ८ किलोमिटरको यात्रामै तम्घास पुग्न सकिने स्थानीय बताउँछन् । हाल गुल्मी र छिमेकी जिल्लाबाट रातडाँडा हुँदै १४ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया 4