
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले कमजोरी स्वीकार्दै पनि तत्काल नेतृत्व नछाड्ने संकेत गरेका छन्।
- प्रचण्डले संविधान दिवसको अवसरमा 'हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा चुक्यौं' भनेका छन्।
- उनले देश संकटमा परेको र त्यसबाट बाहिर निस्कन शीर्ष नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै दलहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले कमजोरी गरेको स्वीकार गरे पनि तत्काल नेतृत्व नछाड्ने संकेत गरेका छन् ।
संविधान दिवसको अवसरमा विहीबार सार्वजनिक एक भिडियो सन्देशमा प्रचण्डले भनेका छन्, ‘आज संविधान दिवसको अवसरमा म स्वीकार गर्दछु कि हामीबाट पनि कमजोरी भएका छन्।’
सम्बोधनमा उनले गलत विचार र नीति नलिए पनि व्यवहारमा चुकेको स्वीकार गरेका छन् । ‘हामीले गलत विचार र नीति लिएका होइनौं तर, व्यवहारमा हामी कतै न कतै चुक्यौं’ उनले भनेका छन्, ‘वर्ग र समुदायसँगको हिजोको हाम्रो जीवन्त सम्बन्ध कतै न कतै फितलो हुन गयो। सहिद परिवार, बेपत्ता परिवार, घाइते-अपाङ्ग र यातनापीडित साथीहरूका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अल्मलियौं।’
गल्ती किन भयो त ? माओवादी र यसको नेतृत्व किन चुक्यो ? जवाफमा उनी आफ्नो कमजोरी स्वीकार्न तयार देखिन्नन् । यसका लागि उनले संख्यामा कमजोर हुनुलाई उल्लेख गरेका छन् ।
‘एक्लै सरकारको नेतृत्व गर्न हाम्रो कहिल्यै संख्या पुगेन। गठबन्धनको बाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो,’ उनले भनेका छन् ।
माओवादीले पहिलो संविधानसभामा झन्डै दुई तिहाई बहुमत नजिक मत ल्याएको थियो । संविधानसभाबाट नयाँ संविधान बनाउने भन्दै भोट मागेको तत्कालीन माओवादीबाट गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड बनेका थिए । तर, उनले नै नेतृत्व गरेको पार्टीको पालुङटार बैठकले विद्रोहको नीति लिएको थियो । माओवादी नेतृत्वमा भएको सात दिने काठमाडौं केन्द्रित विद्रोह असफल भएको थियो ।
दोस्रो संविधानसभामा माओवादी पहिलो र विशाल पार्टीबाट तेस्रो पार्टीमा खुम्चिएको थियो । प्रचण्डले सम्बोधनको क्रममा सानो आकार हुनुलाई कारण देखाए पनि आफ्नो नेतृत्वमा भएका कमजोरीबारे जिम्मा लिएका छैनन् । पहिलो संविधानसभादेखि यता माओवादी सबैभन्दा बढी समय सरकारमा सहभागी रहँदै आएको छ ।
‘तर, हामीले देशविरुद्ध कुनै राष्ट्रघाती सम्झौता गरेनौं। कुनै काण्डमा मुछिएनौं । कुनै कलंकको टीका लगाएनौं । भ्रष्टाचार विरुद्ध जुधिरह्यौं तर, जनताको हामीप्रतिको अपेक्षाको सापेक्षतामा भने हामी कमजोर देखियौं,’ उनले भनेका छन्, ‘तपाईंहरूले देखिरहनुभएको छ- हामीले आफूलाई सच्याइरहेका छौं र अझै सच्याउने छौं।’
सम्बोधनको क्रममा प्रचण्डले निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्ने भने पनि कहिले र कसरी भन्ने बारे स्पष्ट पारेका छैनन् । ‘हामीले निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरणबारे छलफल अगाडि बढाइरहेका छौं,’ उनले भनेका छन् ।
षड्यन्त्र देखाएर त्रासको खेती
जेन-जी आन्दोलनपछि प्रमुख दलहरूको शीर्ष नेतृत्वलाई बिदा गर्नुपर्ने माग र दबाब बढिरहेको छ । तर, सबै दलका शीर्ष नेताहरूले ‘प्रतिक्रियावादी र विदेशी शक्ति’ हरूले षड्यन्त्र गरेको र यतिबेला संविधान र राष्ट्र जोगाउन आफूहरूकै नेतृत्व आवश्यक रहेको बताइरहेका छन् ।
प्रचण्डले पनि आफ्नो सम्बोधनमा त्यस्तै संकेत गरेका छन् । ‘२४ गते राष्ट्रकै गौरव र धरोहरका रूपमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन लगायतका संरचना र देशव्यापी रूपमा भएका तोडफोड, लुटपाट र आगजनीबाट जसरी विध्वंश गरियो, ती जेनन्जीका काम थिएनन्,’ उनले भनेका छन् ।
उनले थपेका छन्, ‘ती प्रतिगमनकारी र अपराधी तत्वहरूको नेपाल र नेपाली जनता विरुद्ध गरिएका प्रहार थिए। यसबाट आज देश इतिहासकै गम्भीर संकटमा परेको छ।’
देश संकटमा परेको र त्यसबाट बाहिर निस्कन शीर्ष नेतृत्वकै आवश्यकता बाँकी रहेको संकेत सम्बोधनमा प्रचण्डले गरेका छन् ।
‘आफ्नो विवेक, सौर्य र बलिदानका कीर्तिमानबाट हाम्रा पुर्खाहरूले बचाएको नेपालको राष्ट्रिय स्वाधीनता स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भीर प्रश्न खडा हुँदै छ’ उनले भनेका छन्, ‘आफ्नो देशको बारेमा आफैं निर्णय लिने नेपाली जनताको आत्मनिर्णयको अधिकार तथा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्त नेपालीहरू एकजुट भएर राष्ट्रिय आन्दोलन सृष्टि गर्नु आजको ऐतिहासिक आवश्यकता बन्न गएको छ।’
देशलाई अस्थिरतातिर लैजान अहिले पनि देश र जनताविरुद्ध षड्यन्त्र नसकिएको प्रचण्डको जिकिर छ । ‘देश र जनता विरुद्धका षड्यन्त्र सकिएका छैनन्। अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ’ उनले भनेका छन्, ‘चुनाव हुन नदिने र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुन सक्दछन्।’
‘देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि अबका दिनहरू निरन्तर चुनौतीपूर्ण हुने’ भन्दै दलहरू एकजुट हुनुपर्ने सन्देश दिन चाहेका छन् ।
‘संविधान र लोकतान्त्रिक गणतन्त्र एवं यसका आधारभूत मान्यता भन्दा पछाडि फर्केर हामी समाधान होइन थप संकटमा पुग्नेछौं’ उनले भनेका छन्, ‘इतिहासको चिहानमा मिल्काइएकाहरूले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन्।’
उनले थपेका छन्, ‘त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तन प्रेमी शक्तिबीच दह्रो एकता खोजेको छ।’ राष्ट्रको रक्षा गर्दै दलहरू मिल्नुपर्ने भन्दै उनले ‘संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्न’ आह्वान पनि गरेका छन् ।
प्रतिक्रिया 4