+

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमिति भित्रै असहमति

२०८२ असोज  २ गते २०:३९ २०८२ असोज २ गते २०:३९
‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमिति भित्रै असहमति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी एसियन कप २०२७ छनोटका होम म्याच विदेशमा खेलाउने निर्णयप्रति अखिल नेपाल फुटबल संघको कार्यसमितिमै असहमति देखिएको छ ।
  • वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कासहित पाँच जनाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पत्र लेख्दै निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
  • घरेलु खेलहरू विपक्षी वा विदेशी मैदानमा सारिएको विषयमा कार्यसमितिमा कुनै छलफल वा आधिकारिक जानकारी नभएको पत्रमा उल्लेख छ ।

२ असोज, काठमाडौं । एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत नेपालको होम म्याचहरु विदेशमा खेलाउने निर्णयप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति भित्रै असहमति देखिएको छ ।

एसियन कप छनोट अन्तर्गत भियतनामा विरुद्ध आउने अक्टोबर १४ मा हुने होम म्याच भियतनाममै खेल्ने तय भएको छ । यो निर्णय सार्वजनिक भएपछि एन्फा वरिष्ठ उपाध्यक्षसहित वीर बहादुर खड्कासहित कार्यसमितिका ५ जनाले असहमति व्यक्त गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र उपाध्यक्ष दीर्घबहादुर केसी तथा सदस्यद्वय रवीन्द्र चन्द र रुपेश अधिकारीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पत्र लेख्दै असन्तुष्टी जनाएका हुन् । वरिष्ठ उपाध्यक्षको इमेलमार्फत पत्र पठाइएको एक सदस्यले जानकारी दिए ।

‘एएफसी एसियन कप छनोट २०२७ अन्तर्गतको खेल स्थलसम्बन्धी हालै भएको निर्णयप्रति गम्भीर असहमति व्यक्त गर्न चाहन्छौं । एन्फाले नेपाल र भियतनामबीचको ‘होम एन्ड अवे’ खेल दुवै भियतनाममै खेलाइने जानकारी सार्वजनिक गरेको छ । उक्त खेलहरू क्रमशः अक्टोबर ९ र अक्टोवर १४ मा तय गरिएको छ। यति मात्र नभई, नोभेम्बर १८ मा नेपालले मलेसियाविरुद्ध खेल्नुपर्ने घरेलु खेल समेत मलेसियामै हुने जानकारी सञ्चारमाध्यममार्फत प्राप्त हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ असहमति पत्रमा भनिएको छ ।

होम म्याच विदेशमा खेलाउने विषमा एन्फा कार्यमसितिमा कुनै छलफल नभएको र आधिकारिक रुपमा जानकारी समेत नगराएको उक्त पत्रमा दावी गरिएको छ । ‘नेपालका घरेलु खेलहरू विपक्षी वा विदेशी मैदानमा सारिएको विषयमा न त कार्यसमिति सदस्यहरूसँग छलफल गरिएको छ, न त कुनै आधिकारिक जानकारी साझा गरिएको छ, पत्रमा लेखिएको छ, ‘अझ गम्भीर कुरा त यस्तो संवेदनशील विषयमा वैकल्पिक भेन्यु खोजिएको छ वा छैन भन्नेबारे पनि कुनै स्पष्टता दिन आवश्यक ठानिएको छैन ।’

एन्फा नेतृत्वमा एकतर्फी निर्णयले संस्थागत पारदर्शिता र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको समेत असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।

यस्तै घरेलु मैदानमा खेल्दा पार्न दर्शकको साथ र राष्ट्रिय गौरवको भावना खोसिनु अन्यायपूर्ण भएको उनीहरुको भनाई छ । ‘नेपालका खेलाडीहरूले घरेलु मैदानमा पाउने आत्मबल, दर्शकको साथ र राष्ट्रिय गौरवका भावना खोसिनु अन्यायपूर्ण मात्र नभई दीर्घकालीन रूपमा खेलाडीहरूको मनोबल र प्रदर्शनमा नकारात्मक असर पार्ने निश्चित छ ।’ पत्रमा भनिएको छ ।

लाखौं समर्थकलाई आफ्नै भूमिमा राष्ट्रिय टोलीलाई समर्थन गर्ने अवसरबाट बञ्चित तुल्याउनु फुटबलप्रतिको उत्साह र जनआस्था माथि प्रहार भएको कुरा पत्र पत्रमा उल्लेख छ ।

पत्रमा असन्तोष देखाउने काम मात्र नभई नेपालको राष्ट्रिय फुटबल हितप्रति आफूहरुको प्रतिवद्धतालाई पनि कायम रहेको उल्लेख छ ।

एन्फाले यस असहमतिलाई गम्भीरतापूर्वक लिँदै तत्काल पहल गर्ने विश्वास पनि उनीहरुले व्यक्त गरेका छन् ।

एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय